Logo

राजनीति

‘निजामति कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद’



नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन सरकारले पटक–पटक सारेर संविधानप्रदत्त मौलिक हकको हनन् गरेको बताएको छ ।

संविधानको धारा १७ बमोजिम संघसंस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्र माथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको विभागको आरोप छ ।

विभागका प्रमुख शिवप्रसाद हुमागाईंले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सरकारले निर्वाचन कार्यक्रम स्थगित गरेकोप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको नेपाली कांग्रेसले भत्र्सना गर्ने भन्दै उनले आफू अनुकुल परिणाम नआउने भएकाले निर्वाचन स्थगित गरेको जिकिर गरेका छन् ।

‘निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भईसकेको अवस्थामा विभिन्न बहानावाजी गरी आफू अनुकूल परिणाम नआउने देखी विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकार माथि अंकुश लगाउने र एकदलीय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ९ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।