Logo

राजनीति

ओलीविरुद्ध फेरि मोर्चाबन्दी



शनिबार अपरान्हका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो प्रधानमन्त्री केपी शर्मा ओलीले दुरगामी असर पर्ने केही निर्णयहरु गरिदिए । त्यो पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरुसँग कुनै छलफल नै नगरी कदम चालिदिए ।

यस हप्ता मुख्य सचिव र राजदूतको नियुक्ति भयो । त्यसमा ओलीले एकलौटी ढंगले निर्णय गरेको भन्दै नेताहरु असन्तुष्ट छन् । विश्वस्त स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल सबैभन्दा असन्तुष्ट छन् । प्रचण्ड पनि यो विषयलाई गम्भीरताका साथ लिइरहेका छन् ।

प्रचण्डले चाहिरहँदा पनि कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पदमा पुनः नियुक्त हुन सकेनन् । ओली कुनै हालतमा घिसिङलाई नियुक्त गर्ने पक्षमा छैनन् । बरु घिसिङको नाम प्रस्ताव गरेकोमा ओली ऊर्जामन्त्री वर्षमान पुनप्रति असन्तुष्ट छन् ।

मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा ओलीले नियुक्त गर्न खोजेका केही नामप्रति प्रचण्डको असन्तुष्टि देखिइसकेको छ । विश्वस्त स्रोतका अनुसार ओलीले विगतमा प्रचण्डका अति निकट टोपबहादुर रायमाझी र हरिबोल गजुरेललाई मन्त्री बनाउन खोजेका छन् । प्रचण्डको गुट परित्याग गरेका लेखराज भट्ट पनि निरन्तरता पाउने भएका छन् । यसप्रति प्रचण्ड सन्तुष्ट छैनन् । उनी सबै मन्त्री हटाएर पुर्नगठनको पक्षमा उभिएका छन् ।

आफ्ना मान्छे धमाधम ओलीले तानेपछि प्रचण्ड नयाँ रणनीतिका साथ प्रस्तुत हुने बुझिएको छ । उनले भोलिको बैठकमा केही महत्वपूर्ण एजेन्डा अगाडि सार्ने तयारी गरेको बुझिएको छ ।

उता बामदेव गौतम पनि ओलीसँग चिढिएका छन् । आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि उनी मन्त्री बन्नबाट रोकिने सम्भावना बलियो भएको छ । त्यसले पनि उनलाई चिढ्याएको छ ।

यसरी भोलि बस्ने नेकपा बैठकमा कतिपय विषयमा चर्काचर्की हुने सम्भावना बढेको छ । नेताहरु आ आफ्नो तयारीमा छन् । प्रधानमन्त्री ओलीविरुद्ध नेकपाभित्र फेरि मोर्चाबन्दी बनेको छ ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक ठाउँमा उभिएका छन् । उनीहरुले फेरि नयाँ ढंगले मोर्चाबन्दी गरेको बुझिएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  १ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।