OnlinePana

संगीता पंगेनीपौष २, २०७३काठमाडौं
२११६ पटक

खोई कहाँबाट सुरु गरौं ? अतितका ती तिता–मिठा जिन्दगीका पल–पलका रंगीन क्षणहरू ! सायद तिम्रो लागि यो मेरो सहृदयदेखि मुटुमा ढुङ्गा राखी उकुस–मुकुस बनाई गहभरी आँशुका धारा बगाउँदै आज चाहँदा नचाहँदै पहिलो र अन्तिम पत्र लेख्न यो कलमको मसी सक्याउँदै जिन्दगीबाट नै सधैँका लागि टाढा हुने कठोर प्रतिबद्धतासँगै यो पत्र कोर्दैछु ।

जिन्दगीको त्यो एक पलको यात्रा, जुन यात्राको दौरानमा अनायाशै जानी नजानी कैयौं मानव प्राणीसँग यो मनले परिचित गर्दै जिन्दगीको यात्रालाई अघि बढाएर मित्रताको कसिलो सम्बन्धसम्म पनि अन्धोपनसरी बाँधिन पुग्यो । आज तिमीलाई कुन शब्दले सम्बोधन गरुँ !
sangita-pangeni
शब्दकोशभित्र खोतल्नसम्म खोतले तर तिम्रो मुटुभित्रको मनलाई छुन सक्ने खालको कुनै शब्द मैले भेट्टाउन सकिन ।

जस्तो तिम्रो कठोर मन र मुटु छ, त्यसलाई सुहाउँदो खाले कुनै शब्द मैले आजसम्म पनि भेट्टाउन सकिन, भन्छन् धैर्य गर्यो भने पत्थर पनि पग्लिन्छ रे ! तर तिमी संसारको कुन पत्थरबाट बनेका छौ मैले आजसम्म पनि भेट्टाउन सकिन ।

लाग्थ्यो यो जिन्दगीको कथा कापी र कलम नभई वास्तवमै तिमी र म प्रत्यक्ष रूपमा स्वयम् वार्तालापको क्रममा आमने सामने आज भईदिएको भए तिम्रो लागि यो पत्र लेख्न कुनै आवश्यकता नै रहने थिएन । तर विडम्बना न तिमी मेरो सामु नै आउन सक्छौ न त म नै, समयले म माथि नै आज किन कस्तो खेल खेल्यो ।

अब त यस्तो लाग्न थालिसक्यो कि भगवान पनि समयको गतिसँगै परिवर्तन भइसक्यो । त्यसैले भगवानसामु आँखाबाट बरर आँशु झार्दा पनि उल्टो भगवान नै मेरो खिल्ली उडाई रहेको छ । त्यसैले भगवानप्रति पनि विश्वास लाग्न छोडियो त्यसैले आज यो अन्तिम सहाराको रूपमा कापी र कलम नै मेरो जिन्दगीमा अन्तिम सहारा भएर आएको छ ।

कति नमिठो हुँदो रहेछ बिछोडको पीडा… नचाहेर पनि भोगिरहेको छुं । प्रकृतिको नियम नै हो, यस धर्तीमा जन्मेपछि मर्नुपर्छ । त्यस्तै मिलनपछिको बिछोड । मैले तिमीलाई भन्नु त केही छैन । तर पनि अतितको यादले छिन–छिनमा मुटुभित्र धक्धक्याई रहँदा यो हस्तलिखित लेख्न बाध्य भएँ ।

हो, जिन्दगीमा कहिले मिलन त कहिले बिछोड त कहिले हाँसो अनि रोदनका पलहरू आउँदो रहेछ । जीवन कहिले बसन्तको हरियालीसँग खेल्दो रहेछ त कहिले शिशिरको तुषारोसँग कठ्याङग्रिएर झर्दो रहेछ । एकान्तमा बसी म जब अतितलाई सम्झन्छु, त्यतिबेला संसार नै अँध्यारो देख्छु । हराई रहन्छु म तिमीसँग बिताएका ती रंगीन सपनाको संसारमा तिमी मेरो जुनीको एक मुख्य पात्र हौ ।

तिमी बिनाको मेरो सपना अधुरो छ र रही रहनेछ । जीवनमा लागेका हरेक चोटहरू पछि मेटिँदै जान्छन् तर बिछोडको चोट कहिले पनि मेटिने रहेनछ । जिन्दगीमा अनेकौं समस्याहरूसँग लडिबुडी गर्दै अगाडि बढिरहेको थिएँ । अनगिन्ती सपनाहरू देखेको थिएँ । यो सुन्दर जीवनमा आखिर नयनबाट वर्षाको झरी अविरल बग्न बाध्य तुल्यायौं तिमीले ।

अनि मेरो अतितको क्षण विक्षत मुटु चट्याङ्ग सरी चरक्क चर्कि नै रहन्छ । हो, जसरी काँचको ऐनासरी चकनाचुर भएको यी सबै कल्पनाहरू अब कहिल्यै पनि जोडिँदैन होला । तिम्रो यादमा रोएको त्यो क्षण, तिम्रो अगाडि गिरगिराएको त्यो पल, तिमीसँग हाँसी हाँसी झगडा गरेको त्यो मिठो क्षण आजसम्म यो मनमा ताजै छ जसको कारण तिमी बिना म मरेतुल्य भएको छुं । तर तिमीले किन पागल सरी घटनाको पर्दाफास गर्दियौ आज पनि भगवानसँग यही प्रश्न हर दिन हर रात यसको जवाफ तिमीसँग माग्ने हिम्मत भएन र भगवानसँग माग्दै छौं ।

बीचबाटोमै तिमीले मलाई धोका दिई धुरुधुरु नै रुवाउनु नै र बीच बाटोमा नै अलपत्र पार्नु थियो भने यति धेरै माया किन दियौं ? हुन त तिमी जस्तो निष्ठुरीलाई के थाहा मायाको अर्थ ? तिम्रो यो बानी अहिलेको समयमा फेशन सरी नै भइसकेको छ ।

हो पहिलो दिन मै म तिम्रो रूपमा लठ्ठ भइसकेको थिएँ तर, जब दिन बित्दै गयो तिम्रो रूपसँग मलाई कुनै लोभ छैन मनभित्र सच्चा मनले तिमीलाई सजाएर राखिसकेको थिएँ । तर तिमीले मेरो मायाको अर्थ त बुझेन बुझेन । तर मलाई थाहाँ छ तिमी पनि मेरो यादमा पल पल आँखा रसाएर मेरो यादमा कहिलेकाहीँ डुबेको देखेर म त्यसैमा पनि सन्तुष्ट भएर जिन्दगीलाई सम्हालेर तिमी आउने प्रतिक्षामा पनि बसेकै थिएँ । अब त्यो समयले नेटो काटिसकेको छ । अब प्रतिक्षामा रहने छैन ।

तर पनि तिमीले आफ्नो मनलाई कठोर बनाएर एकछिन मायाको नाटक गरेर मेरो जीवनमा खेलवाड किन गर्‍यौ भन्ने मनमा प्रश्न अझै पनि उब्जिरहेको छ । तर पनि तिमीलाई बधाई छ,

प्रेमको नाटक गरेर यस मायारूपी संसारमा पागलपनको नाटक गरेकोमा । मानिसको जीवनमा मानवता भङ्ग गराई निर्दयी र निष्ठुरीपन ल्याएकोमा । सायद तिमीलाई मायाको वास्तविक परिभाषा नै थाहा रहेन छ । त्यसैले तिम्रो माया देखावटी र दुई दिनको मात्र रहन गयो । तिमी र म बीचको दूरी आज आएर धेरै नै टाढा हुँदै गएको छ । समयलाई दोष दिउँ कि या आफैँलाई, किन मैले नै सहनुपर्छ असह्य ती घातहरू । भन्ने गथ्यौं सात जन्मसम्म साथ दिन्छु । हर सुख, दुःखमा साथ दिन्छु तर ती सबै विवशताको बहानामा आँधी हुरीले चकनाचुर पारिदियौ ।

तिम्रा लागि मेरो माया एकपलको मिलन लाग्ला तर मेरो लागि तिम्रो माया एउटा जीवन्त बन्नेछ । तिमीसँग बिताएका ती पलहरू बारम्बार मेरो मानसपटलमा एकपछि अर्को आइरहनेछन् । तिम्रो ती हँसिला तस्वीरहरू नै आज मेरो जिउने सहारा भएको छ । तर पनि तिमी बिनाको जीवन आज पनि पानी बिनाको माछा जस्तै झट्पट्टिरहेको छ । बधाई छ, सबैबाट टाढा बनाई आज मायाको बदलामा कोमल हृदयमा छुरा रोप्न सकेकोमा । सायद तिमीलाई थाहा छैन होला । आगोको एउटा फिलिङ्गोले संसार जलाउँछ । त्यस्तै बिछोडको पीडाले मानिसलाई मृत्युको शैय्यामा पुर्‍याउने गर्दछ । म जिउँदो लास सरी भएको छु ।

किन यहाँ चोखो माया गर्नेले नै धोका पाउनुपर्छ ? समय र परिस्थितिले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँदो रहेछ । हो, तिमी समयसँगै बदलियौं । मेरो माया लत्याएर आज यो संसारमा एक्लो पारी गएका छौं । के यी सबै पीडा मैले नै सहनुपर्छ ? मनमा जति पीर, व्यथा र बेदना बोकेर पनि अरूको अगाडि हाँस्नु पर्दो रहेछ । तड्पिनु बाहेक अरू के नै गर्न सक्छु जब तिमीले धोका दिएर गएपछि । तिमीले मेरो मायालाई एउटा खेलौना सम्झियौ । तिम्रो मुटु त पत्थरले भरिएको रहेछ ।

मेरो जीवनमा आँशु नै आँशुको उपहार दिएर गयौ । तिमीले दिएको आँशु नै मेरो जिउने शक्ति बन्ने छ । पूर्णिमाको रातहरूमा जुनको शितलतालाई ओढी सपना बुन्न खोज्छु, कतै तिमी मेरो अँध्यारो जीवनको रोशनी बोकेर आउँछ्यौ कि भनेर तर सब यी मेरा निरर्थक प्रयास मात्र भए ।

मेरो जीवनमा जस्तै अरूको जीवनमा खेलवाड नगर्नु । जस्तोसुकै बज्रपात सहेर पनि जीवनमा संघर्ष गरेर बाँच्नुपर्दो रहेछ । बिछोडको पीडाले जति तड्पाए पनि भावनारूपी दियोमा कल्पनारूपी आशाका दीप जलाउँदै छु ।

शुभकामना छ, धोकेबाजलाई । तिमीसँगको बिछोडले मलाई संघर्ष गर्न त सिकायाै । आज तिमी र म बीचको प्रेममा समाप्तिको एउटा धमिलो पर्दा खसेको छ । शुभकामना छ तिमीलाई, तिमी सधैँ सफलताको शिखर चुम्न सफल हुनु । सधैँ तिमी हाँसी रहनु म पीडामा बाँचेता पनि… । तिम्रो जीवनमा सधैँ हाँसो, खुशी मिलोस् ।

अन्तमा यो पत्रसहित तिम्रो जिन्दगीबाट चाहँदा नचाहँदै पनि भन्नु परेको छ “अलबिदा” !

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...