OnlinePana

अनलाइन संवाददातापौष ५, २०७३

आज एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्ताक्षरण गर्नुभएको छ । मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको हो ।

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको मंसिर १४ गतेको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान दिनुभएका पत्रकार न्यौपानेको गत कार्तिक २० गते र बोहराको मंसिर १० गते निधन भएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नो ब्यावसायिक निष्ठा, प्रतिवद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकप्रति धन्यवाद प्रकट गर्दै शोकसन्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापनाका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको र त्यसमा पनि कठोर जीवन विताउँदै पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुमाउनुपर्दा दुःख प्रकट गर्दै दिवंगत पत्रकारको योगदानको उच्च मूल्याँकन गरेकोमा काउन्सिलप्रति आभार प्रकट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसैबर्ष दुई होनाहार पत्रकार गुमाउनुपर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपुरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल मर्माहत भएको बताउदै उहाँहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै असल पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको धारणा राख्नुहुँदै अध्यक्ष कार्कीले आर्थिक सहयोग र पहलका लागि सानिमा बैंकलाई धन्यबाद दिनुभयो । राम्रा काम गर्नेहरु मरणपछि पनि अमर र स्मरणीय रहने उहाँको धारणा थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगत्ले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । यसप्रकारको पुरस्कारले नेपाली मिडियालाई प्रोत्साहन हुने धारणा व्यक्त गर्नुभयो । रिपोर्ट : महेन्द्रराज सिंह ।

पुरस्कृत व्यक्तित्वहरुको संक्षिप्त विवरण यसैसाथ संग्लग्न छ

(क) स्व. सञ्जय न्यौपाने
सन् २०११ ९बि.स.२०५१० सालमा त्रि।बि बाट बी।कम उत्तीर्ण गरेपछि पत्रकारितामा आकर्षित हुनुभएका सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ्ग, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखको रुपमा कार्यरत रहनुभयो । त्यसपछि उँहाको आर्थिक क्षेत्रको पहिलो ब्रोडसिट कारोबार दैनिकमा सम्पादकको रुपमा रहनुभयो ।

राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसीप र पुरस्कार प्राप्त गर्नुभएका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन) को उपाध्यक्ष रहनुभएको थियो भने नेपाल पत्रकार महासघंको केन्द्रिय पार्षद रहनुभएको थियो । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्क सम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उँहाको २०७३ कार्तिक २० गते निधन भएको थियो ।

ब्यवसायिक पत्रकारिता क्षेत्रमा लगनशील र सिद्घान्तनिष्ठ पत्रकारका रुपमा स्थापित सञ्जय न्यौपानेले नेपाली पत्रकारिता खासगरी आर्थिक पत्रकारिताको बिकास र सम्वद्र्धनमा पु-याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सिफारिश समेतलाई आधार मानी पत्रकार सञ्जय न्यौपानेलाई (मरणोपरान्त) प्रेस काउन्सिल–सानिमा बंैक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
ख. कर्ण बोहरा
२०५२ सालमा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेलधुरा सवांददाताको रुपमा पत्रकारिता शुरु गर्नुभएका कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोष्ट र राष्ट्रियतहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिक लगायतका सञ्चार माध्यममा आवद्घ हुनुभयो ।

पछिल्लो समयमा उँहा महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक/प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौंबाट प्रशारित न्यूज–२४ टि.भीको सुदुर–पश्चिम ब्यूरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । २०५५ देखि २०७० सम्म नेपाल पत्रकार महासघं कञ्चनपुरको अध्यक्ष समेत रहनुभएका बोहरा बिभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिय हुनुहुन्थ्यो ।

पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुबै मृगौला खराब भई उपचार गराइ रहेको श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मसिंर १० गते काठमाडौंमा निधन भएको थियो ।

नेपाली पत्रकारिता क्षेत्रमा स्थानीय बिषयबस्तु र राष्ट्रिय मुद्दालाई प्रखर रुपमा उठाउने गरेका पत्रकार कर्ण बोहराले ब्यवसायिक पत्रकारिताको बिकास र पत्रकारिता मार्पmत सामाजिक रुपान्तरणमा खेलेको सशक्त भूमिकाको कदर गर्दै प्रेस काउन्सिल–सानिमा बंैक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कार वितरण समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्षको मन्तव्य
सम्माननीय राष्ट्रपतिज्यू,
माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू,
नेपाल सरकारका सचिवज्यू तथा वरिष्ठ अधिकृतज्यूहरु,
नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरज्यूहरु,
राष्ट्रपति कार्यालयका सल्लाहकार एवं सचिवज्यूहरु
नेपाल पत्रकार महासंघका अध्यक्षज्यू,
राष्ट्रिय समाचार समितिका महाप्रवन्धकज्यू,
प्रेस काउन्सिलका सदस्यज्यूहरु,
सानिमा बैंकका अध्यक्ष तथा कार्यकारी प्रमुखज्यू,
दिवंगत पत्रकारद्वयका धर्मपत्नीलगायत परिवारजनहरु
विभिन्न संघसंस्थाका प्रमुख एवं पदाधिकारीज्यूहरु
आमन्त्रित वरिष्ठ व्यक्तित्वहरु
प्रेस काउन्सिलका कर्मचारी साथीहरु
पत्रकार मित्रहरु !
गत कात्र्तिक र मंसिर २ महिनाको अन्तरालमा नेपाली पत्रकारिता क्षेत्रका उदाउँदा ताराका रुपमा रहेका पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई हामीहरुले गुमाएका छौं । उहाँहरुको असामयिक निधनबाट नेपाली पत्रकारिता क्षेत्रमा हुन गएको अपूरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल निकै मर्माहत भएको छ । उहाँहरुको योगदानको कदर गर्दै उच्च सम्मान गर्न मरणोप्रान्त प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

यो पुरस्कार प्रदान गरी स्वर्गीय पत्रकारद्वयको योगदान स्मरणीय र पुरस्कारलाई गरिमामय बनाई दिनुभएकोमा सम्माननीय राष्ट्रपतिज्यूमा प्रेस काउन्सिल नेपाल हार्दिक आभार व्यक्त गर्दछ । त्यसैगरी विशेष महत्व दिएर हाम्रो आमन्त्रण स्वीकार गरी यो कार्यक्रमलाई गरिमामय बनाइदिनुभएकोमा माननीय सूचना तथा सञ्चार मन्त्रीज्यूप्रति पनि प्रेस काउन्सिल आभार प्रकट गर्दछ ।

स्वर्गीय पत्रकारद्वय न्यौपाने र बोहराप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको चीर शान्तिको कामना गर्दछु । उहाँहरुको निधनबाट नेपाली पत्रकारिता क्षेत्र शोकमा डुबेको छ ।

उज्ज्वल भविष्य बोकेका पत्रकारद्वयको निधनबाट उहाँहरुका धर्मपत्नी तथा परिवारजनमा पुग्न गएको असहनीय चोटप्रति प्रेस काउन्सिल समवेदना प्रकट गर्दछ । शोकाकुल पत्रकारद्वयका सहकर्मी साथीहरु र शुभचिन्तकहरुप्रति पनि प्रेस काउन्सिल समवेदना प्रकट गर्दछ ।

नेपालको पत्रकारिता क्षेत्र राष्ट्रकै आशालाग्दो क्षेत्र बनेको छ । मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि संकट आउँदा र जनहितमा आघात पुग्दा नेपाली पत्रकारिता क्षेत्रले अग्रपंक्तिमा रहेर राष्ट्र र जनताप्रतिको आफ्नो दायित्व निभाउँदै आएको छ ।

नेपाली पत्रकारितालाई यसरी राष्ट्र र जनताप्रति उत्तरदायी बनाउन स्वर्गीय न्यौपाने र बोहराजस्ता युवा र साहसी पत्रकारको भूमिका उल्लेखनीय छ । वर्तमान स्थितिमा असल पत्रकारिताद्वारा राष्ट्र र समाजको सेवा गर्ने पत्रकारहरुको संरक्षण र सम्वद्र्धन गर्नेतर्फ सबैको ध्यान जान आवश्यक छ । प्रेस काउन्सिलले असल पत्रकारितालाई प्रोत्साहित गर्न मिडिया र पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको छ ।

प्रेस काउन्सिलले पुरस्कृत गर्ने क्रममा मरणोप्रान्त पत्रकारहरुलाई पुरस्कृत गरेको यो पहिलोपल्ट हो । असल काम गर्दा जीवनकालमा मात्र होइन मरणपछि पनि राष्ट्र र समाजले सम्मान गर्दछ, स्मरण गर्दछ भन्ने सन्देश यो पुरस्कारले दिनेछ भन्ने विश्वास प्रेस काउन्सिलले लिएको छ । त्यस्तैगरी मरणोप्रान्त प्रदान गरिएको यस पुरस्कारले पत्रकारद्वयका धर्मपत्नी र परिवारजनमा पुग्न गएको गम्भीर चोटमा केही मलमको काम गर्नुका साथै हाम्रो साथमा पत्रकारिताजगत् छ भन्ने विश्वास परिवारजनलाई दिलाउनेछ भन्ने विश्वास प्रेस काउन्सिलको छ ।

नेपाली पत्रकारिता क्षेत्रले खेलिरहेको सकारात्मक र महत्वपूर्ण भूमिकालाई सम्मान र प्रोत्साहित गर्ने उद्देश्यका साथ सानिमा बैंकले यो पुरस्कारको लागि गरेको आर्थिक सहयोग र पहलको प्रेस काउन्सिल उच्च कदर गर्दै सम्पूर्ण बैंक परिवारमा आभार प्रकट गर्दछ । सानिमा बैंक परिवारका तर्फबाट पनि स्वर्गीय पत्रकारद्वयका धर्मपत्नीहरु, परिवारजन र शुभचिन्तकहरुमा प्रेस काउन्सिल समवेदना प्रकट गर्दछ ।

राष्ट्र र जनताका लागि काम गर्नेहरु मरणपछि पनि अमर र स्मरणीय रहनेछन् भन्ने सन्देश सकर्म गर्नेहरुका लागि मात्र दिनेछैन असल काम गर्ने आफन्त गुमाउँदा साथ र सहयोग गर्ने समाज हुन्छ भन्ने सन्देश पनि शोकाकुल परिवारमा जानेछ भन्ने विश्वास प्रेस काउन्सिलले लिएको छ ।

अन्तमा, स्वर्गीय पत्रकारद्वयका धर्मपत्नी, परिवारजन र शुभचिन्तकमा प्रेस काउन्सिल नेपाल पुनः समवेदना प्रकट गर्दछ । साथै, संवेदनशील यस कार्यक्रममा समुपस्थित भई गरिमामय बनाइदिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू, माननीय मन्त्रीज्यू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दै यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु ।

२०७३।९।५
बोर्णबहादुर कार्की
अध्यक्ष
प्रेस काउन्सिल नेपाल

३१८ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...