OnlinePana

अनलाइन संवाददातापौष १०, २०७३

oli-morcha

व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच पानी बाराबारसम्मको सम्बन्ध बन्न पुगेको बेला एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच विकास क्षेत्रलाई नै संघीयतामा रूपान्तरण गरे कुनै पाप कर्म नहुने बताएका छन् ।

सञ्चारमाध्यमसँग गरिएको वार्तालापमा उनले पाँच विकास क्षेत्र हिमाल पहाड र तराई मिलेर बनेको भन्दै त्यसलाई पनि संघीयताको एउटा आधार मान्न सकिने बताउँदै उनले भने, ‘पाँच विकास क्षेत्रलाई प्रदेश बनाउँदा कुनै पाप कर्म हुँदैन, बरु जनताको सम्मान हुन्छ भन्ने एउटा तर्क उठेको छ ।’

वार्तालापकै क्रममा उनले महेन्द्रपथको अर्थ खुलाउन चुनौतीसमेत दिएका छन् । ‘के हो महेन्द्रपथ ? मलाई राजा बनाउँछन् की क्या हो ?’ अध्यक्ष ओलीले मधेशी मोर्चा र माओवादी केन्द्रलाई झटारो हान्दै भने ‘बिखण्डनकारीका सोचसँग हाम्रो सोच मिल्दैन, लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, राष्ट्रिय अखण्डतामा कुनै सम्झौता हुँदैन ।’

उनले लोकतन्त्रमा जनताको आवाज सबैभन्दा बुलन्द भएका कारण जनताको आवाज सुन्नु पर्नेमा जोडसमेत दिए । ‘आम नेपाली जनता के चाहन्छन् त्यसको मतलब छैन, आफ्नो स्वार्थका लागि लड्नेसँग सम्झौता हुँदैन’, उनले भने । वर्तमान सरकार जनताको चाहानाभन्दा स्वार्थी समूहको लहलहैमा लागेको आरोपसमेत लगाए ।

एमालेलाई मधेश क्षेत्रमा कार्यक्रम नै गर्न नदिने मधेशी मोर्चाको हुँकारलाई उनले चुनौती दिँदै भने, ‘अरूलाई नश्लवादको आरोप लगाउने तर क्रियाकलाप नश्लवादको गर्ने मधेशी मोर्चालाई एमालेको कुनै पनि कार्यक्रम रोकेर देखाउन’ कडा चुनौतीसमेत दिए । एमालेसँग जनताको मत लिन निर्वाचनमा आउन अध्यक्ष ओलीले खुला चुनौतीसमेत दिएका छन् ।

दलहरूको यस्ता मतभिन्नता र चुनौतीले संविधान संशोधनमा अझ बढी असर पार्ने र कार्यान्वयनमा आउन पनि अझ बढी समय लाग्ने निश्चित भएको छ भने अर्कोतर्फ सामान्य मनमुटाबलाई पनि ठूलो विषय बनाएर दलहरू आ–आफ्नै अडानमा बसे दलहरूबाट नेपाली जनताले अब के आशा गर्ने ?

३४३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...