OnlinePana

अनलाइन संवाददातापौष ११, २०७३

निकै समयदेखि सामाजिक क्षेत्रमा सक्रिय र विगतमा कांग्रेसको राजनीति गर्नुभएका स्याङजाकी कमला गुरुङ हाल नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् सदस्य हुनुहुन्छ भने महिला शक्ति नेपालको प्रदेश नं. ४ को संयोजकसमेत हुनुहुन्छ ।

यतिखेर उहाँ नयाँ शक्ति निर्माणमा आफू एक्लै संलग्न हुनुहुन्न विभिन्न पेशा, व्यावसाय र फरक दलबाट राजनीति गर्नु हुनेहरूलाई नयाँ शक्ति पार्टीमा ल्याउनको निम्ति व्यापक रूपमा खट्नु भएको छ । नयाँ शक्ति पार्टी नेपालको समकालीन महिलाहरूकै हाराहारीमा सक्रियता देखाइरहनु भएकी नेतृ कमला गुरुङसँग पत्रकार विक्रम रत्नले गर्नुभएको कुराकानीको सम्पादित अंश :–

हाल नयाँ शक्तिको गतिविधि कस्तो प्रकारले अघि बढिरहेको छ ?

समय–समयमा म जिल्लातिर गइरहन्छु । काठमाडौंमै बसेर पनि पार्टीका कामहरू गरिरहेको छु । हाल मनाङ जिल्लाको उत्प्रेरक पनि हुँ त्यहाँ गएर पनि कामहरू गरिरहेको छु ।

विशेषतः आजभोलि भने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई नयाँ शक्ति पार्टीमा ल्याउनका लागि व्यापक रूपमा लागिरहेका छौं । केही टीमलाई मैले नयाँ शक्तिमा भित्राई पनि सकेको छु । पार्टी ठूलो बनाउन आफ्नो योगदान पनि दिने र यो पार्टीको नीति कार्यक्रमको सन्दर्भमा आफूले आफ्नो ठाउँबाट जनतालाई बुझाउने काम पनि गरिरहेको छु ।

यो पार्टीले जनतालाई कुन कुराले बढी आकर्षण गरेको पाउनु भएको छ ?

मेरो व्यक्ति विचारमा कुनै पनि संगठन होस् वा घर नै किन नहोस् नेतृत्व गर्ने मान्छे राम्रो हुनुपर्छ । घरको नेतृत्वकर्ता राम्रो भयो भने सबै कुरा राम्रै हुन्छ । यहाँको नेतृत्व डा. बाबुराम भट्टराईले गर्नुभएको छ । उहाँ असल र नेपालकै सबैभन्दा बढी भिजन भएका व्यक्ति हुन् । उहाँसँग यो देशले धेरै अपेक्षा राखेको छ र त्यो पूरा पनि हुन्छ ।

अर्को कुरा नेपालमा धेरै प्रकारका राजनीतिक दलहरू जन्मिए धेरै कार्यक्रम देखियो पनि । देश–विदेश पनि घुमेर हेरियो । जो–जो आए पनि देशको आर्थिक अवस्थाको सुधार भएन । जे नीति बोकेर जो–जो आए तिनले कार्यान्वयन गर्न सकेनन् । विशेषतः नेपालको मुख्य समस्या आर्थिक समस्या थियो, त्यही विषयमा चाहीँ कोहीँ बोलेन कसैले नीति कार्यक्रम ल्याएनन् । तर अहिले जसरी डा. भट्टराई आउनुभएको छ यो आजको युगको आवश्यकता हो ।

उहाँको यो भिजनमा हामीले साथ दिनैपर्छ । योगदान गर्नैपर्छ भनेर लागियो । आज गर्लान् भोलि गर्लान् भनेर पुराना दलहरूलाई कुरिरहे नेपालीले । तर, हातमा लाग्यो शून्य भने जस्तै भयो । अब नयाँ शक्तिले आजको नेपालको समस्या औँल्याएर राजनीतिक रूपमा अगाडि बढेकाले यसको आकर्षण त जनतालाई कति छ, छ । दुई चार शब्दमा भन्न सकिन्न । त्यसका लागि हाम्रो पार्टीको दस्तावेज, नीति र कार्यक्रमहरू पढ्न पनि म आग्रह गर्छु ।

आर्थिक समृद्धि र विकास निर्माणकै लागि लाग्नुपर्ने हो त अब ?

हो, म यहीँ सोचेर यसमा लागेकी हुँ । किनकी हाम्रो देशका युवाहरू हेर्नुस्, कति धेरै विदेश पलायन भएका छन् । कुनै पनि कुरा गर्छु भनेर दृढताका साथ लागेपछि नहुने कुरा केही छैन । नयाँ शक्तिले एउटा सिष्टम डेभलप गरेको छ । त्यो परिधीभित्र बसेर काम गर्यो भने आर्थिक समृद्धिको योजना सहज रूपमा सफल हुन्छ ।

भनेपछि अब देशको राजनीतिक आन्दोलन पूर्ण रूपमा समाप्त भयो ? यहाँ अरू दलहरू राजनीतिक अधिकार लिन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन् नि ? त्यसो हुँदा कसरी आर्थिक समृद्धि गर्ने ?

हो, राजनीतिक आन्दोलन पनि सँगै लिएर जानुपर्छ । र नयाँ शक्तिको विधानमा पनि सबै क्लष्टरको मान्छेको समान अधिकार, समान जिम्मेवारी दिँदै मिलेर राजनीतिक र सामाजिक आन्दोलनमा जोडिने भन्ने खालकै छ ।

पार्टी चलाउने सन्दर्भमा पनि निकै सिष्टमहरू बसालिएको छ । राजनीतिक आन्दोलनमा लाग्नुपर्छ भन्नुको मतलब पुरानै शैलीमा ढुङ्गा चलाएर आन्दोलन गरेर जाने भन्ने होइन । हामी आधुनिक प्रकारको विधि प्रणाली बनाएर राजनीतिक आन्दोलनमा होमिन्छौँ तथापि हाम्रो मुख्य उद्देश्य भन्नु त आर्थिक उन्नति, प्रगति, समृद्धि र जनताको जनजीवन सुदृढ गर्ने कुरासँग नै जोडिन्छ ।

नेपालमा विभिन्न पृष्ठभूमिका दलहरू छन् । यहाँहरूको मुख्य प्रतिस्पर्धा को सँग हो ?

मेरो विचारमा मान्छेको एउटा यस्तो खाले सोँच छ । जस्तो की कुनै मान्छे विचार, सिद्धान्त नबुझिकन एमाले, कांग्रेसहरूको एक किसिमको ब्राण्ड छ भन्ने सोच्छ । हिजो हाम्रो बाजे बुबाले जे गरेका थिए, आज हामीले पनि त्यहीँ गर्नुपर्छ भन्ने सोँच धेरैमा हाबी रहेको छ । जुन गलत छ । देशको आमूल परिवर्तन नबुझेको मान्छेले त्यो सोच्छ । तर समयको गतिशीलता र परिवर्तन बुझेको मान्छेले त्यस्तो सोच्दैन ।

आज हामी जसरी समयको माग अनुरूप नयाँ भिजनका साथ अगाडि बढिरहेका छौं एजेण्डाको हिसाबले त हामी कसैसँग प्रतिस्पर्धामा छैनौं हामी एक्लो छौं र हामी स्थापित पनि हुन्छौं । तर संगठनात्मक हिसाबमा हामीले अलिकति मेहनत गर्नैपर्ने हुन्छ किनकि नेपाली राजनीतिमा धेरै व्यक्ति एजेण्डा र सिद्धान्त बाहेक पनि आबद्ध हुन्छ । यसमा हामी जनता माझ चेतनाका कार्यक्रम लिएर गइरहेका छौं ।

हजुर महिला शक्ति नेपालको ४ नम्बर प्रदेश संयोजक पनि हुनुहुन्छ । यहाँ महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवस्था कस्तो देख्नुभएको छ ?

महिलाको कुरा गर्नुपर्दा जति पनि घर, समाज र देश बनाउँछु भनेर लाग्ने महिलाहरू हुनुहुन्छ त्यसलाई सर्वप्रथम म सम्मान गर्न चाहन्छु । किनकि महिलाहरू हरेक परिवेशमा विभिन्न कारणले पुरुष सरह स्वतन्त्र हुन सक्नुभएको छैन । त्यतातिर नजाउँ । तर पनि उहाँहरू हिम्मत गरेर देश बनाउनुपर्छ भनेर लाग्दै हुनुहुन्छ यो त गौरव गर्नुपर्ने विषय हो नि ।

हामी देश विकास गर्छौं आफ्नो चेतनास्तरको विकास गर्छौं हामी पुरुष समान हौँ भन्ने भावले उहाँहरूले काम गरिरहनुभएको छ । मेरो पार्टीमा वा अरू नै पार्टीमा पनि किन नहोस् । यो त राजनीतिक तहमा भयो । म विभिन्न गाउँ, घर, जिल्लातिर पार्टी कामको शिलशिलामा वा अरू नै कामको शिलशिलामा जाँदा पनि उहाँहरू पनि देशको भविष्य प्रति चिन्तित हुनुहुन्छ ।

समाज सेवामा राजनीतिमा बराबरी सक्रिय हुनुहुन्छ । तर आर्थिक अवस्थाका कारण वा अरू विभिन्न कारणले गर्दा पनि पछाडि पर्नुभएका महिला पनि धेरै देखेको छु । उहाँहरूको जीवन परिवर्तन गर्न सक्ने गरी राजनीति गर्नु पर्छ भन्ने मेरो धारणा हो ।

नयाँ शक्ति पार्टीले महिलाको मुद्दा कसरी उठाउनु पर्छ ?

यहाँ कैयौं महिला अशिक्षित र गरिबको रेखामुनि रहेका छन् । महिला भएकै कारण अशिक्षित र गरिब हुनुपर्ने कारण वा राज्यले पनि विभेद् नगरेको पनि होइन त्यसकारण पनि अशिक्षामा रहेका महिलाहरूलाई चेतना बढाउनु पर्ने कुरा वा जीवनयापन सहज बनाउनका लागि आर्थिक रूपमा अगाडि बढाउने कुरा नै हामीले सोचिरहेका छौं र त्यही अनुरूप हामीले काम पनि गरिरहेका छौं ।

सुरुवातको चरणमा भएकाले एकै पटकमा हामी उकासिहाल्न त सक्दैनौँ तर हामी निरन्तर यस विषयमा काम गरिरहन्छौँ । कुन महिलाले कुन पार्टीमा कुन पद पाउँछ भन्ने कुरा भन्दा पनि गाउँ, घर, समाज, भुगोल अनुरूप त्यहाँको महिलालाई कसरी आर्थिक, शैक्षिक र सामाजिक रूपमा अगाडि बढाउने भन्ने हाम्रो मुख्य प्राथमिकता हो । मुख्यत आर्थिक रूपमा अगाडि बढाउन राजनीतिक रूपमा वा सामाजिक रूपबाटै के गर्ने भन्ने प्लान पनि हामी बनाइरहेका छौं ।

देशका प्रमुख पदहरूमा अहिले महिला नै छन् । देश नै महिलाले चलाईरहेकाले महिला समृद्ध भइसके योभन्दा अरू परिवर्तन कस्तो ? समृद्ध हुन के बाँकी रहेको छ ?

पुरुषप्रधान समाजमा राज्यको सर्वोच्च निकायमा महिला हुनु अत्यन्तै हर्ष एवं गौरवको कुरा हो । तर जति माथिल्लो निकायमा छ तल्लो निकायमा त्यस्तो अवस्था छैन ।

जसरी बलियो घर बनाउन दरिलो पिल्लर हाल्नुपर्छ त्यसरी नै तलबाट नै महिलाको नेतृत्व हुँदै आउनु पर्दछ । एउटा महिला राष्ट्रपति हेरेर समग्र महिलालाई राष्ट्रपतिको तहमा राखेर हेर्नु गलत हुन्छ । हामी नयाँ शक्तिका अभियन्ता भने महिलालाई सबै ठाउँमा बराबरी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने कुरामा हिचकिचाउदैनौं । हाम्रो पार्टीमा महिला र पुरुष अभियन्ता बराबरी सक्रिय हुनुहुन्छ ।

देशको विकास मन्द गतिमा रहँदा कसको दोष देख्नुहुन्छ ? राजनीतिक दल, राजनीतिक संरचना/संस्कार वा जनता ?

हुनत जनताले भोट नदिई, अगाडि नबढाई नेता बन्ने त होइन । जनताले नेता छान्दा उसले बोकेको नीति, कार्यक्रम, एजेण्डा छानेर चुन्नु अति उत्तम हो । अर्को भनेका राजनीतिक नेतृत्वको पनि कमजोरी नै छ । दुई चार महिना नहुँदै सरकार परिवर्तन हुने गरेको छ । विकासको निमित्त स्थायी र स्थीर सरकार चाहिन्छ ।

अहिलेको संरचनाबाट स्थायी सरकारको परिकल्पना पनि गर्न सकिन्न । अनि कसरी हुन्छ विकास ?

त्यसैले हामी देश विकासको निमित्त प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जोडदार आवाज उठाईरहेका छौं । सबैले उठाउनुपर्छ पनि । त्यसैले एकले अर्कालाई दोष दिएर आफू पन्छिने काम गर्नुभन्दा पनि हामी सबै मिलेर राजनीतिमा एउटा दरो सिष्टम बसालेर हामीले नै देशको विकास गरौँ न हुन्न ?

लामो समय विदेश बस्नु भयो । विदेशको विकास, समृद्धि, राजनीतिबाट हामीले सिक्नुपर्ने कुरा के छ ?

विदेशमा एक किसिमको प्रणाली हुन्छ । कसैले पनि त्यसलाई मिचेर दायाँबायाँ बढ्न नै सक्दैन नेताहरूको मिलेमतो रहेको हुन्छ । हरेक कुरा चुनावी प्रक्रियाबाट हुन्छ एकले अर्कोको हार र अस्तित्व स्वीकार्ने कुरा हुन्छ । जसले जिते पनि राष्ट्रको विकासकै निम्ति हो भन्ने रहेको हुन्छ । नेतृत्व फ्रेस खोजिएको हुन्छ । हाम्रो देशमा भने एउटै व्यक्ति आर्यघाट नपुगुञ्जेलसम्म नेतृत्वमा रहिरहने ।

न बोल्न जानोस्, न काम केही गरोस्, कसैले विरोध पनि नगर्ने, म गर्न सक्छु भनेर अगाडि बढेर पनि कोही नआउने अनि कसरी राजनीतिको पुस्ता हस्तान्तरण हुन्छ ? कसरी हुन्छ विकास ? विदेशमा जुन प्रधानमन्त्री, राष्ट्रपति आए तापनि उनीहरूको विदेश नीति कसैले परिवर्तन नै गर्न सक्दैन । यहाँ जो आउँछ उसले आफू अनुकूल बनाउँछ । हरेक कुरा सिष्टममा बाँधिएपछि कसैले तँ तँ र म म भन्ने कुरा रहँदैन । नैतिकताको पनि ख्याल छ विदेशमा । आफ्नो कमजोरी भयो भने तुरुन्त राजीनामा दिन्छन् । यी सबै कुराबाट हामीले पनि पाठ सिक्नुपर्ने हुन्छ ।

यहाँहरूको पार्टीमा पनि त सबै उमेर गइसकेका व्यक्तिहरूले नै त नेतृत्व गर्नुभएको छ नि ? कसरी नयाँ भन्ने ?

डा. भट्टराईले सिष्टम डेभलप गर्ने हो । उहाँको आफ्नो क्षमता, विज्ञता र अनुभवको आधारमा सिष्टम डेभलप गर्न अगाडि बढ्नु हुन्छ त्यसलाई युवाले नेतृत्व गरेर पछ्याउने छन् । उहाँको नौ महिने सरकारको कामबाट नै हेर्नुस् न अर्थ नीति बनाउने देखि संकलन गर्ने कुरामा पनि कति धेरै परिवर्तन गरी दिनुभयो । उहाँले यो देशको लागि केही दिन सक्नुहुन्छ अझै पनि यो देशको लागि ।

आजको समयको माग पनि उहाँ पिल्लरको रूपमा ठडिने हो सिष्टमले उहाँलाई पनि नियन्त्रण गर्छ र हामी सबैलाई पनि । फेरी हाम्रो त विधानमै छ नि एक व्यक्ति दुई कार्यकाल । हाम्रो पार्टी बनाउने भनेको त युवाले नै हो नि । हाम्रो पार्टीका सबै अभियन्ताको सोच, विचार, जोश जाँगर उत्साह पनि कुनै युवाको भन्दा कम छैन ।

यहाँको पार्टीमा महिलाले चाहीँ अध्यक्ष बन्छु भनेर सोँच राख्नु पर्दैन र…पर्छ । महिला फिल्डमा उत्रिन्छन् भने अवश्य हुन्छ । महिलाले त झन् सानो सानो कण औँल्याएर राजनीति गर्छन् । जसरी घर महिलाले राम्ररी चलाउँछन् त्यसरी नै राजनीति पनि महिलाले ईमान्दारपूर्वक गर्छन् । अझ पुरुषको त सतही मात्र हुन्छ जस्तोे लाग्छ मलाई ।

नयाँ शक्तिमा महिलाहरू नेतृत्वको लागि सक्षम हुनुहुन्छ नि हामी भोलिको दिनमा तयार छौँ नि नेतृत्व गर्न । फेरी यो डा. भट्टराईलाई चुनौती चाहीँ होइन । जो–जसले गरे पनि देशकै लागि गर्ने हो महिला होस् वा पुरुष । जुन जात, भाषा, धर्म, संस्कृतिको भए पनि हामी सबै मिलेर समृद्ध नेपाल बनाउने हो ।

तपाईं गुरुङ समुदायको व्यक्ति । यहाँको प्रतिनिधित्व कस्तो छ राज्यका निकायहरूमा । देश निर्माणमा तपाईको समुदाय कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?

हाम्रो समुदाय राजनीतिक रूपमा निकै अगाडि आएको समुदाय होइन । राजनीतिमा कम चासो राख्ने र राज्यको निकायमा कमै प्रतिनिधित्व छ । तर अब अगाडि बढिरहेका छन् । राजनीतिक चेतना बढ्दैछ । कहीँ न कतै देशको राजनीतिमा हामी पनि जोडिने रहेछौँ भनेर अब देश समृद्ध बनाउन हामी पनि लाग्नुपर्ने रहेछ भनेर हाम्रो समुदायमा पनि छलफल बहसहरू सुरु भइसकेका छन् । हाम्रो समुदाय पनि सक्रिय रूपमा नयाँ शक्ति बनाउन लाग्नुपर्छ ।

देश बनाउने यो महान् अभियानबाट हामी छुट्नु हुन्न भन्ने हाम्रो धारणा रहेको छ । अरू सबैको कुरा त म भन्न सक्दिन म चाहीँ आजीवन देश र जनताको सेवामा निरन्तर रूपमा लाग्नेछु । म आफू गुरुङ भएको नाताले सम्पूर्ण गुरुङ समुदायलाई सचेततापूर्वक पार्टी चिन्न र लाग्न सल्लाह पनि दिन्छु ।

अर्को कुरा भनेको, आफू मात्र आर्थिक रूपले समृद्ध भएर भएन । देशको लागि समृद्ध बनाउन एकजुट भएर लाग्नु पर्छ । त्यसैका लागि नै नयाँ शक्ति निर्माण भएको हो । तर म गुरुङ भए पनि सबै समुदायलाई समृद्ध बनाउन तर्फ प्रतिबद्ध भएर लागि पर्ने छौं ।

नेपालमा धेरै दल गठन भएका छन् । तपाईंहरूलाई पत्याउने विश्वासिलो आधार जनताको नजरमा के छ ?

आधार धेरै छन् । के मात्रै भन्ने ? हिजोको राजनीति सीमित वर्ग, समुदाय र पेशाका मान्छेको हातमा थियो । आज नयाँ शक्तिमा फरक क्षमता र विज्ञता भएका मान्छेहरूको बाहुल्यता भएर अगाडि बढिरहेको छ । त्यसैले हामी देशको सबैखाले समस्यासँग लड्न सक्छौं भन्ने लागेको छ । एउटा आधार त यो पनि हो । अरू आधारहरू त माथी पनि त मैले भनिसकेको छु । मुख्यत हामीप्रति नेपाली जनताको विश्वास छ र अपेक्षा पनि छ हामी जनतालाई निराशामा पार्ने छैनौं ।

अन्त्यमा नेपाली जनतालाई के सन्देश दिन चाहनु हुन्छ ?

आज समयले नयाँ शक्ति मागेको छ । त्यसैले हामी सबै यसैमा गोलबद्ध भएर लाग्नुपर्छ । एकातिर मादल बजाउने, अर्कोतिर गीत गाउने र अर्कोतिर नाच्ने गर्नुहुन्न । सुर–ताल मिलाएर गर्नुपर्छ । सबै एकैतिर हुनुपर्छ । आफ्नो पुरातनवादी सोँच–विचार र आस्था त्यागेर नयाँ शक्तिमा गोलबद्ध हौँ । सबैमा मेरो यही आग्रह गर्दछु ।

७५४ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad