OnlinePana

अनलाइन संवाददातापौष १८, २०७३

तपाईले ट्वीट गरे जस्तो हामीले टोपी दिवस मनाउँदा बहु–जातीय, बहु–सांस्कृतिक सोचलाई कहाँनिर ठेस पुग्यो ? टोपी दिवस मनाउँदा बहु–सांस्कृतिक भावमा चोट पुग्छ भने त झन् ल्होसार, छठ, दशैँ, तिहार, होली, शिवरात्री, सरस्वती पूजा, ईद, तीज, क्रिसमस, ऊधौली, म्हपूजा, महावीर जयन्ती (जैन), स्वस्थानी, गुरुनानक जयन्ती, फाल्गुनन्द जयन्ती, जनै पूर्णिमा, गठेमंगल त केही मनाउनै भएन…

कुनैबेला भूमिगत हुँदा बाबुरामजी तपाईंले गाई काट्न प्रेरित गर्नुभो, देउता नमान्न र धर्म र दशैँ, तिहारसमेत नमनाउन सोझा नेपालीलाई प्रभावमा पार्नुभो । तर भूमिगत जीवन त्याग्ने बित्तिकै पहिला आफ्नो बुबा आमालाई मनोकामना भगवती दर्शन गराउन लानु भो ! र दशैँमा आफ्नो बुबासँग टिका लगाएको फोटो सार्वजनिक गर्नुभो, तर पनि हामी बोलेनौँ ।

किनकी तपाईंमाथी त्यो बेला जनताको केही आश थियो ! बाबुरामजी, ‘टोपी दिवस’, यो स्वतः स्फूर्त मनबाट उठेको भावना हो…उहीले तपाईंको पार्टीले सोझा नेपालीलाई थर्काएर जबरजस्ती ‘नेपाल बन्द’ गराए जस्तो होइन… शास्त्र, संस्कार र संस्कृतिले पहिचा दिन्छ । टोपी मात्र होइन फेटा पनि हाम्रै हो ।

मुसलमान दाजुभाईको तागीया टोपी होस् वा पगरी छतरी वा गम्छा वा तामाङ्ग र शेर्पाको फरक ‘सरपोश’ हुन् सबै नेपालको हो र सबै नेपालीको पहिचान हो । सुरुवाल मात्र होइन, धोती र कछाड पनि हाम्रो हो ।

चौबन्दी, हाकुपटासी, बख्खु, पांगदेन, मेख्ली, गुन्यु, फरिया र पटुकी हाम्रै हुन् । यी सबै हाम्रै पहिचान हुन् । हामी सबैको पहिचानको सम्मान गर्छौ र संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्छौं । पहिचानको नाममा जाति र धर्मबीच, क्षेत्रबीच विवादको विष रोपेर राजनीति गरेर आज देशलाई मुठभेड र बिखण्डनको मुखमा पु-याउने नेताहरूमध्ये एक तपाईं पनि हुनुहुन्छ ।

जो पीएचडी डा. हुनुहुन्छ ! तपाईंले भारतीय अघोषित नाकाबन्दी पछि विभिन्न विषयमा दिँदै आउनु भएको अभिव्यक्तिले यस्तो देखाउँछ की जेएनयू को शिक्षामा कहीँ त केही कमजाेरी छ !

नोट : दोश्रो र तेश्रो तस्वीरमा भारतीय सम्माननीय प्रम नरेन्द्र मोदीज्यूले बेस्ट र नर्थ बंगाल भ्रमणमा नेपाली मूलका भारतीयहरूले उपहार स्वरूप दिएको नेपाली ढाका टोपी र खुकुरी क्रससहित भादगाउँले टोपी लगाएर के–के कहाँ–कहाँ र क–कसलाई चोट पु-याए…? जवाफ दिनु हुन्छ की ? वहाँबाट हामीले जे राम्रा कुरा सिक्नु पर्ने हो, त्यो खुल्लम खुल्ला सिकौँ… जे सिक्नु हुँदैन, त्यो खुसुक्क सिक्न छोडौँ…

३०७ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad