OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३

sssssssssssssssssssssss

‘म पनि जान सक्छु, कमाउन सक्छु’ भन्ने आत्मबलका साथ जिउमा लगाएको एकसरो लुगासँगै कुवेत पुगिन् गोमती विक । चितवनको पहाडी गाविस दाहखानी–६ कोइलघारीकी गोमतीलाई श्रीमान्सँगको प्रतिशोधले कुवेत पुर्याएको हो । सामान्य साक्षर २६ वर्षीया गोमती १५ हजार तिरेर २०७१ पुसमा बिदेसिएकी हुन् ।

उनको १३ वर्षमा मनबहादुर (मनोज) विकसँग विवाह भएको थियो । ज्याला–मजदुरी गरेर नै उनको परिवारले दैनिकी गुजारेको थियो । विवाह गरेको दुई वर्षमा उनले छोरी जन्माइन् । त्यसपछि उनका श्रीमान् कमाउँछु भन्दै भारत पसे । तर, उनले त्यहाँ खासै कमाएनन् । केही वर्षपछि घर फर्किए । उनले छोरो जन्माइन् । श्रीमान्ले फेरि विदेश जाने निर्णय सुनाए ।

सुनको नाममा माइतीले दिएको एक जोडी कानमा लाउने गहना बेचिन् र श्रीमान्लाई माल्दिभ्स पठाइन् । तर, विदेशबाट उनले ४० हजार मात्रै पठाए । पैसा पठाइदिनु न भन्दा यहाँ बोट छ टिपेर पठाउँछु भनेर जवाफ लगाउँथे उनी । एक्लै यहाँ कमाउन सकिँदैन, तँ पनि आइज भने । श्रीमती गोमतीलाई पासपोर्ट बनाउन लगाए । बल्लबल्ल दुःख गरेर पासपोर्ट बनाइन्, तर भिसा पठाएनन् । खोइ त भिसा पठाएको ? म कसरी आउने र? भन्दा कहिले यहाँ कार्यालय बन्द छ भने, कहिले के भनेर टारे, तर उनले भिसा पठाएनन् । केही महिना यसरी नै बित्यो । पछि उनले श्रीमान् नेपाल फर्किएको अरूबाट थाहा पाइन् । उनी एक्लै नभएर साथमा अर्की श्रीमती पनि लिएर आएका रहेछन् । श्रीमान्ले सौता ल्याएको थाहा पाएपछि उनलाई दुःख त लाग्यो, तर रुँदै हिँडिनन् । बरु म पनि केही गर्छु भनेर अघि बढिन् ।

‘पासपोर्ट नबनाएको भए तँलाई विदेश लान्छु त भनेको नि जाबो पासपोर्ट बनाउन सकिनस् भन्थे उनले, बनाएपछि त बेखबर नै भए,’ उनले भनिन्, ‘सबै नाटक रहेछ, त्यसैले उनलाई देखाउन नै मैले विदेश जाने निर्णय गरेँँ ।’

तालिम छ भनेर मेनपावर कम्पनीबाट फोन आयो, एकसरो कपडामा उनी काठमाडौं पुगिन्, तर भिसा आएछ, केही किन्न पनि पाइनन् उनले । लगाएको लुगामै घरेलु कामदारका रूपमा कुवेत पुगिन् । साथमा भएको नेपाली रुपैयाँ उनले भाइलाई दिइन् । मुखमा पानी पनि नराखी उनी कुवेतको जारा भन्ने ठाउँमा एक परिवारकोमा पुगिन् । उनले काम गर्ने ठाउँमा ६ जना छोराछोरी थिए । घरका मालिक कहिलेकाहीँ मात्र घर आउँथे । मालिक्नी पनि काममा जान्थिन् । काममा साह्रै खट्नुपर्ने । तीन घन्टाभन्दा बढी सुत्न उनले पाउँदैनथिन् । तलब पनि कम नै थियो ।

त्यहाँ बालबच्चालाई खुवाउने, नुवाउने गर्दा आफ्नो बच्चाहरूको धेरै याद आउँथ्यो उनलाई । उनी धेरैपटक आफ्ना बच्चा सम्झेर रोइन् । ‘न आमा, न बाबा बच्चाहरू बूढाबूढी भएका सासू–ससुरासँँग छोडेर आएकाले मलाई जतिखेर पनि बच्चाको याद आउँथ्यो, कतिपटक त भागेर जाऊँ जस्तो पनि लाग्थ्यो, तर पासपोर्ट साहुनीसँग थियो, रोएर नै बिताएँ धेरै दिनरात,’ उनले भनिन् ।

यसै क्रममा नेपालमा ०७२ वैशाखमा भूकम्प गयो, भूकम्प नै गोमतीको नेपाल फर्कने बहाना बन्यो । भूकम्पमा घर भत्किएको कारण नै उनी नेपाल फर्किन सकिन् । नेपाल आएपछि उनले महिला विकासको सहयोगमा बाख्रापालन सुरु गरेकी छन् । सासूससुराको साथमा रहेकी उनले भनिन्, ‘विदेशमा जत्तिको दुःख गर्ने हो यहाँ पनि राम्रो कमाउन सकिन्छ ।’

यस्तै, दुई वर्ष कुवेत बसेर फर्किएकी रीता शेरचन पनि विदेशमा जति दुःख गर्ने हो भनै घरमा बालबच्चाको साथमा नै कमाउन सकिने अनुभव सुनाउँछिन् । ०६५ मा बिदेसिएकी उनी नेपाल फर्केपछि चितवन मेडिकल कलेज भरतपुरमा क्लिजिङको काम गरिरहेकी छन् । घरमा ससुरा बिरामी भएकाले उपचारमा धेरै ऋण लाग्यो, त्यो ऋण तिर्ने सपना देख्दै उनी बिदेसिएकी थिइन्।

तर, उनको सपना विदेशले पनि पूरा गर्न सकेन । उनलाई मासिक ३० हजारभन्दा बढी कमाउन सकिने भनिएको थियो । घरेलु कामदारका लागि बिदेसिएकी उनले १६ हजारभन्दा धेरै पाउन सकिनन् । त्यति तलब पाएपछि नेपाल फर्किन मन लागेको थियो, तर दुई वर्षको सम्झौताको बन्धनका कारण उनी नेपाल फर्किन सकिनन् ।

‘साना बच्चाहरू छोडेर विदेश गएको, भनेजति पैसा नपाएपछि बस्नै मन लागेन, त्यति दुःख गर्ने हो भने त त्यति त यहीँ नै कमाउन सकिँदो रहेछ,’ उनी भन्छिन् ।

चितवन–५ की २९ वर्षीया मीरा राउत पनि विदेशमा राम्रै कमाइ हुने आसमा कुवेत छिरिन् । हुन त विदेश जानुअघि नेपालमै धेरै ठाउँमा जागिरका लागि पहल गरिन् । तर, भनेजस्तो जागिर नपाएपछि उनी विदेश होमिएकी थिइन् । नेपालमा त यहाँ नभए त्यहाँ, त्यो नभए यो, धेरै विकल्प कामको भेटिने भन्दै कुवेतमा त्यस्तो नभएको उनी बताउँछिन् ।

उनी घरेलु श्रमिकको काम गर्थिन् । कक्षा ८ सम्म पढे पनि फरक भाषा, रहनसहन, धर्म–संस्कृतिले उनले कुवेतमा धेरै संघर्ष गर्नुप¥यो । अन्ततः उनी नेपाल फर्किन् । अहिले उनी बुबाले गरिरहेको कुखुरापालनमा व्यवसाय र घरमै रहेको पसल चलाउन सघाइरहेकी छन् ।

उनले पनि खाडी मुलुकमा कामदारको रूपमा महिलाका लागि मात्रै होइन, पुरुषका लागि पनि सहज नभएको भन्दै रोजगारका लागि नेपाल सरकारसँग आग्रह गरिन् । एक अध्ययनअनुसार वैदशिक रोजगारीका लागि बिदेसिने महिलामा ७३ प्रतिशत घरेलु कामदारका रूपमा जाने गर्दछन् ।

जिल्ला महिला समन्वय समिति चितवनकी उपाध्यक्ष सुशीला उप्रेतीले स्वदेशमा रोजगारको अवसर नहुँदा धेरै नेपाली महिला बिदेसिनुपरेको बताइन् । उप्रेतीका अनुसार नेपाल सरकारले घरेलु श्रमिकको रूपमा खाडीलगायतका देशमा महिलाका लागि श्रम स्वीकृृति दिएको छैन ।

जसले गर्दा अवैध बाटोबाट महिला खाडीलगायतका देशमा गएका छन् । यसरी जाँदा महिला झन् बढी हिंसामा पर्ने गरेका छन् । स्वदेशमै कमाउन सक्ने विभिन्न आय तथा सीपमूलक कार्यक्रम भए महिलाले यस्तो दुःख भोग्नुपर्ने थिएन । सहुलियतमा कच्चा पदार्थ, कृषि सामग्री, ऋणको व्यवस्था, बजारीकरणका लागि पहल गरिदिने हो भने नेपाली महिला ज्यान जोखिममा पारेर घरेलु श्रमिकका रूपमा विदेशमा विभिन्न समस्यामा पर्ने थिएनन् ।

सिर्जना चितवनकी पत्रकार हुन्

११२९ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad