OnlinePana

अनलाइन संवाददातापौष २१, २०७३काठमाडौं
१४३ पटक

gita

विविधता नै नेपालको पहिचान हो । भिन्न जाति,भिन्न भाषा,भिन्न संस्कृति,भिन्न भौगोलिक अवस्था, भिन्न धर्म बीचको एकता नै सिंगो नेपाल हो । हामी आँफू नेपाली भन्नमा गर्व गर्दछौ । विश्व सामु वीर गोर्खालीको परिचय मात्रा नेपाली होइन । अग्लो हिमाल सगरमाथाको देशले चिनिएको मात्रा पनि नेपाली होइन । विविधतामा एकता र एकतामा विविधताको महान परिचय दिदै रङ्गिचङ्गि फूलको मालामा उनिएको एक थुगां फूल हो नेपाली । त्यसैले त आफैमा ठूलो छाती बनाएर गर्व गर्छ नेपालीले । यद्यपी आज नेपालीको यो महान परिचय ओझेलमा परेको छ, खुम्चिन खोजेको छ ।

विविधतालाई एकताको सूत्रमा बाँधेको उदाहरण बनेको नेपालीपन अहिले आफ्नो पहिचान हराएको महशुश गर्दैछ । बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति संगको बृह्त नेपाली पहिचानमा सजिएको नेपाली किन आज आफ्नो शुष्म परिचयको खोजीमा लागेको छ रु जबसम्म यो प्रश्नको उतर खोजिदैन तबसम्म पहिचान र अस्तित्व प्राप्तिको भावनालाई सम्बोधन गर्न सकिंदैन । नेपाली समाजको इतिहासलाई पछाडि फर्केर हेर्दा हामी धेरै टाढा छैनौं ।

उत्पादन प्रणालीको सामान्तवादसंग हामी प्रत्यक्ष ठोकिन पुग्छौं । जसका अवशेषहरु अझै बाँकी छन् । हिन्दूधर्मको प्रभुत्व रहेको नेपाली समाजमा धर्मलाई आँफू अनुकुलको ब्याख्या गरियो । समाजका टाठाबाठाबाट आँफूलाई उच्च जातिका बुज्रुक र अरुलाई दास, अछुत भनी जात र कामको विभाजन गरियो ।

अनेक कथा र नाटकको रचना गर्दै भ्रम फैलाइयो । नहुनु र दुःख पाउनु भाग्यमा लेखेको ठान्ने भाग्यवादको मान्यताको बिकास गराइयो । स्रोत र साधनलाई आफ्नो कब्जामा राखी सिधासाधालाई दास दासीको रुपमा प्रयोग गरियो । अझ यसमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा स्थापित गराइयो । महिला माथिको दमन कुनै जाति विशेषमा मात्र नभएर हरेक जाति विशेषमा रह्यो । जुन मान्यताको जरा अझ पनि विकासको वाधक बनी रहेको छ ।

शिक्षाले चेतना ल्याउँछ । अन्याय, अत्याचारको पर्दाफास हुन्छ । जसले आफूलाई पाखा लगाइदिन्छ भन्ने डरले अछुत जात, महिला, मादकपदार्थ सेवन गर्नेले ज्ञानका शास्त्रहरु छुन र पढ्न हुँदैन भनी भ्रम फैलाइयो । जुन कार्य समाजलाई धोका हो । एक प्रकारको ठगी हो ।

यो कार्य समाजका टाठाबाठा उच्च जाति हुँ भन्नेहरुबाट नै भएको हो । जसले विभेदयुक्त समाज निर्माण हुनमा सहयोग पुर्यायो । एउटा मानवले अर्को मानवसंग छुनुहुँदैन । छोएको खानु हुँदैन भन्दै समाजमा अमानवीय संस्कार स्थापित गराइयो । विशेष गरी इतिहाँसलाई पल्टाएर हेर्दा राणाकालदेखि यस विभेदयुक्त समाज निर्माण प्रक्रियाको संस्थागत विकास भएको पाइन्छ । यसरी बनेको सामाजिक संरचनालाई भत्काउन धेरै मेहनत र लगानी गर्नुपर्यो । यद्यपी अझै विभिन्न प्रथा, संस्कार र संस्कृतिका नाममा यस्ता अमानवीय व्यवहारहरु विद्यमान रही आएका छन् ।

टाठाबाठा सामन्तहरुले आफ्ना सन्तानलाई शिक्षा दिने काम गरे भने अन्य गैर हिन्दू तथा अछुत जाति मानिएकाहरुको श्रम शोषण गरी बधुवा श्रमिकको रुपमा प्रयोग गरे । आँफूहरु यश आरमले बस्ने, बढी अन्नलाई धर्मका नाममा सप्ताह, यज्ञ लगाई होम लगाउने भन्दै श्वाह पार्ने तर काम गर्ने श्रमिकलाई मुस्किलले सास धान्न सक्ने गरी मात्र दिने गरे । अझ उनीहरुलाई मादक पदार्थको प्रबन्ध मिलाई दिने, जातले पाएको चिज खानुपर्छ भन्दै उक्साउने व्यवहार गरे । जसको कारण उनीहरुको दिनचर्या काम र मादक पदार्थको नशामा मात्र बित्ने गर्यो ।

पछिल्लो समयमा नेपाली समाज पनि केही मात्रामा परिवर्तन हुँदै गयो । जुन समयको माग थियो । जसका कारण पछि पारिएका जाति, धर्म, लिङ्ग, समुदायमा पनि केही चेतना जागृत हुँदै गयो । आँफू शोषित भएको, आफू माथि हुने खानेले अन्याय र अत्याचार गरेको, आँफूलाई राष्ट्रिय राज्य संचालनको प्रक्रिया तथा, आर्थिक स्रोत तथा साधनको पहुँचबाट बञ्चित बनाइएको बारेमा चेतना भयो । चेतनाले सामाजिक न्याय र मुक्तिका लागि संघर्ष चल्यो । जुन संघर्षले सामन्तिको नाइकेलाई घँुडा टेकायो । अझै पनि नेपाली समाजमा सामन्तवाद हावी रहेको छ । आँफू उच्च जात, वर्ग र खानदानी ठान्ने ठालुहरु समाजभित्र जुर्मुराई रहेका छन् । आँफूलाई हिङ् नभए पनि हिङ् बाँधेको टालो ठान्ने शोषणको रसले हुर्किएकाहरु गल्ली– गल्लीमा भुकिरहेका छन् ।

महिला, पिछडिएका जाति र वर्गलाई अगाडि बढेको देख्न नसक्ने समाजका ब्वाँसाहरु कार्यस्थल र भट्टिहरुमा कुपरम्परा र कुसंस्कारका पक्षमा वकालत गरिरहेका छन् । चाकडी प्रथालाई बढवा दिंदै श्रीमतीलाई पुतली ९खेलौना० सरी बनाउने र आँफू भट्टी धाउनका लागि भ्रष्टाचार र शोषण गर्दै गरीबको रगत पसिनामा होलि खेलिरहेका छन् । मुलुकलाई गरीबीको खाडलमा धकेलिरहेका छन् ।

अब जनतामा चेतनाको स्तर बढ्दै छ । मुलुकमा समानता र न्यायका रेखाहरु कोरिएका छन् । संविधानले समानता र स्वतन्त्रताको हक प्रदान गरेको छ । कानुनले दिएको अधिकार जीवनमा खोज्दै छन जनता । अझै पनि सामाजिक सम्बन्धहरु प्रश्न नै प्रश्नका घेरामा छन् । जनताहरु विभिन्न समूहमा विभाजित भएका छन् । फरक समूहका फरक तर्कहरुलाई तर्किक बहस गराएर मिलाएर लैजानु पर्नेछ । मुलुक हाक्ने जिम्मा पाएका नेताहरुले जनताको समान अधिकार स्थापित गराउन चुक्नु हुँदैन । बच्चालाई ललिपप दिएर फूल्याए झैं अबका जनता फुल्लिनेवाला छैनन् ।

हामी आफूलाई एक्कासौ शताब्दीको सभ्य र शिक्षित व्यक्ति ठान्छौ भने अब हामी एक्सनमा जानै पर्छ । समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, दमन, विभेद, असमानता, जस्ता विकृतिहरुको जरा उखेलिनुपर्छ । जसका विरुद्ध पछाडि पारिएका लिङ्ग, वर्ग, जाति, सम्प्रदायहरु एक भएर विद्रोह गर्न आवश्यक छ । परम्परागत मूल्य मान्यताका नाममा कुसंस्कारलाई निरन्तरता दिन खोज्नेहरुलाई पहिचान गरी सामाजिक बहिष्कार गर्नुपर्छ । वास्तविक समाजको चिन्तकले आफू जुनसुकै धर्म लिंग वा सम्प्रदायको भए पनि चेतनाको राँको बाल्दै परिवर्तन आफैबाट सुरु गर्नुपर्छ ।

अब बिकास तर्फ लाग्नु छ । जसका लागि नेपाली जनताबीच भावनात्मक एकता कायम हुन आवश्यक छ । जसरी रङ्गीचङ्गी फूलले सजिएको फूलवारीमा सबै फूलको उत्तिकै महत्व छ, त्यसरी नै प्रकृतिको सुुन्दर वगैंचा नेपालमा सबै जात, धर्म, लिङ्ग, संस्कृतिका जनताहरुले उत्तिकै सुवास छर्ने वातावरण बन्नुपर्छ । नेपाली भूमिभित्र जहाँ रहे पनि उत्तिकै रमाउन पाउनुपर्छ ।

म, मेरो, मलाई जस्ता अहम्बादी सोच हरेक समाजका अगुवाहरुबाट हटनुपर्छ । जसका लागि सबै पिछडिएको वर्ग, लिङ्ग, जाति, धर्म समुदाय एक हुन जरुरी छ । सबैको प्रिय शब्द समानता हामी सबैको व्यवहारमा लागू होस । नेपालमा विभेदको अन्त्य होस् । भावी पिढिंले अब समानताका नाममा पुनः लडाई लड्न नपरोस । नेपाल र नेपालीको पहिचान “विविधतामा एकता, एकतामा विविधता” कायम रहोस् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...