OnlinePana

भूपी चिरिच्याट्ट भएर हिँड्थे

फ्लास ब्याक रत्नशमशेर थापा

सजना बरालपौष २२, २०७३

ranta

कवि भूपी शेरचन मेरा समकालीन थिए । उनीसँग राम्रै संगत गरेँ मैले । एक समय नारायणगोपाल, भूपी र म निकै नजिक भयौं ।

भूपी साह्रै चतुर थिए । उनी हामी दुईलाई ललाईफकाई आफ्नो घर लैजान्थे । ‘मेरोमा पाउरोटी छ, अन्डा छ, तिमीहरूलाई ख्वाउँछु’ भन्थे ।

कुरैकुरामा भुलेर हामी उनको डेरामा पुगिहाल्थ्यौं । भूपी ताहाचलमा बस्दा नारायणको घर किलागलमा थियो । म कमलपोखरीस्थित अहिलेकै घरमा बस्थेँ । डेरा पुगेपछि भूपी र नारायणगोपाल रक्सी पिउन थाल्थे । मेरा लागि कालो चिया बन्थ्यो ।

उनीहरूसँग बस्दाबस्दै रातको ११–१२ त बजिहाल्ने । भूपी ओछयानतिर लागेपछि नारायण र म घर फर्किन्थ्यौं । नारायण किलागलमा छुट्टिएपछि म एक्लै लुखुरलुखुर कमलपोखरी आउनुपथ्र्यो । भूपी साह्रै मीठो बोल्थे । व्यंग्यचेत प्रचुर मात्रामा थियो । सबै उमेरका मान्छेलाई आफ्नो फयान बनाउन जान्ने तागत थियो ।

हाजिरीजवाफमा उस्तै खरो । जस्तातस्तालाई त थुचुक्कै पार्दिन्थे । लेखनशिल्पको त के कुरा गर्नु रु सरलतामा गहनता दिन जान्ने भएकाले नै पञ्चायत जस्तो कठोर समयमा पनि उनका प्रगतिशील लेखहरू छापिए । उनी शब्द खेलाउन जति माहिर थिए, बोलीचालीमा पनि उस्तै उस्ताद । हामी तीन जनाको टोलीको एउटा प्रसंग मैले धेरैलाई सुनाउने गरेको छु । त्यो के भने, एक दिन हामी हिँडदै टुँडिखेल जाँदै थियौं ।

भूपीले मतिर हेर्दै ‘तँलाई कत्तिको गर्मी भा’ छ रु मलाई जति त भा’को छैन होला’ भने । मैले आश्चर्य मान्दै सोधेँ, ‘किन र रु’ उनले भने, ‘तँ मभन्दा सूर्यको नजिक छस् । तँलाई ज्यादा गर्मी भएको हुनुपर्छ ।’ उनीभन्दा अग्लो भएकाले म सूर्यको नजिक भएको थिएँ । मेरो दुब्लोपातलो जीउलाई उनी यसरी बेलाबेला उडाइरहन्थे । एक दिन भूपी न्युरोडको पीपलबोटमुन्तिर मलाई पर्खेर बसिरहेका थिए ।

म पुगेपछि ‘हेलो मिस्टर सुकेनास’ भने । मैले पनि ‘हेलो मिस्टर ट्वाँटचन’ भनिदिएँ । उनी मरुन्जेल हाँसे । भूपी रक्सी धेरै पिउँथे । मैले रक्सी खाने मान्छे शेरचन होइन, टाँटचन हुन्छ भनेपछि उनी ‘यस पालि चाहिँ दह्रो दिइस्’ भन्दै खितखिताइरहे । उनको व्यंग्य तीतो होइन, रसिलो हुन्थ्यो । त्यसैले मान्छेहरू उनीदेखि रिसाउँदैनथे ।

भूपीले भारतको बनारसमा पढेका थिए, आईएसम्म । बढी रवाफिलो बानी भएकाले थप पढेनन्, पढ्नै चाहेनन् क्यारे । घरभरि साथीभाइ भेला पारेर खुवाउने–पिलाउने गर्थे । त्यस्तो पाराले कहाँ पढिन्छ ∕ उनको पढाइ ठट्टाबारेको सानो प्रसंग सम्झिन्छु । म नारायणगोपालको घरमा थिएँ । भूपी त्यहीँ आए र मसिनो स्वरले ‘सानो बाबु, ए सानो बाबु’ भन्दै तलबाट नारायणलाई बोलाउन थाले । उनी नारायणलाई सानो बाबु भनेर सम्बोधन गर्थे ।

नारायणले माथिबाट ‘आइए, उपर आइए’ भन्दै हिन्दीमा बोलाए । माथि आएर भूपीले ‘म आइए मात्रै हो भनेर कसरी थाहा भयो ?’ भने । कहाँको कुरा कहाँ लगेर जोडेका होलान् उनले रु यस्ता सम्झना थुप्रै छन् । भूपी गीत गाउन मन पराउँथे । तर, आवाज सुरिलो थिएन । हार्मोनियमचाहिँ ठीकै बजाउने ।

गीत गाउने बेला ‘आज मेरो स्वरको मौसम बिग्रेको छ’ भन्दै गाउन सुरु गर्थे । खेलकुद, संगीत आदि अनेक विषयबारे जानकारी थियो । कहिलेकाहीं सलाईको काँटी कोरेर जादु पनि पो देखाउँथे । हामीले एकताका पत्रिका निकालेका थियौं, ‘सिउँडी’ । मोहन निरौला, कृष्णभक्त श्रेष्ठ, ध्रुवचन्द्र गौतम, भूपी लगायत मिलेर सुरु गरेको पत्रिका पाँच अंक मात्रै प्रकाशित भयो । त्यसमा सम्पादक कोही थिएन ।

हामी सबै संकलकका रूपमा बराबर पद र हैसियतमा काम गथ्र्यौं । पञ्चायतको थिचोमिचोविरुद्ध हामीले सांकेतिक विद्रोह गरेका थियौँ । हाम्रो त्यो टोलीमा भूपीको छवि भने अलि छुट्टै थियो । उनको लेखन र व्यक्तित्व समकालीन साहित्यकारको भन्दा सधैँ फरक रहयो । उनी आफूलाई अलग नै देखाउन खोज्थे, वास्तवमा । अलि देखाउने स्वभाव थियो उनको । अरूलाई देखाउनकै लागि भए पनि रक्सी पिउँथे ।

जे पायो त्यही लुगा लगाउने गर्दैनथे । सधै चिरिच्याट्ट वा झिल्के भएर हिँड्ने गर्थे । पैतृक सम्पत्ति निकै मासे उनले । अघिपछि कहिल्यै नरिसाउने मान्छे, प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भएपछि अलि झर्किने, झगडा गर्न खोज्ने भएका थिए । मसँग पनि एकपल्ट बाझाबाझ परेको थियो ।

पछि उनैले माफी मागे र हामी फेरि मिल्यौँ । उनी भेलोरको सीएमसी हस्पिटलमा भर्ना भएर बस्दा म दुइटी बहिनीलाई लिएर त्यहाँ पुगेको थिएँ । उनको मुखभरि टयुब हालिएको थियो । त्यस्तो बेलामा पनि ठट्टा गर्दै थिए, ‘यार, गुन्द्रुक खाँदेजसरी पाइप खाँदे मभित्र ।’ भूपीले कहिल्यै कसैसँग, केहीबारे गुनासो गरेनन् । उनको दुर्गुण भन्नु नै रक्सीको आदतलाई मान्छु म । अप्रेसन गरिसकेपछि पनि उनले मद्यपान छोडेनन् । छोडेको भए उनी त्यति चाँडै बितिजाने थिएनन् ।

११५ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad