Logo

अर्जेन्टिना पाराग्वेसँग १-१ गोलको बराबरीमा रोकियाे



विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएकाे छ । नेपाली समय अनुसार शुक्रबार बिहान भएकाे खेलमा अर्जेन्टिना पाराग्वेसँग १-१ गोलको बराबरीमा राेकिएकाे हाे ।

यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो । खेलमा पाहुन टाेली पाराग्वेले सुरुवाती अग्रता लिएको थियो। पाराग्वेका एन्जेल रोमेरोले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो । अर्जेन्टिनाका निकोलास इभान गोन्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

५८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपनि पाराग्वेका खेलाडीले आपत्ती जनाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री-भारको सहायता लिएका थिए। मेस्सीले डि बक्समा आएको बललाई पहिलो बार च्यापेर गोल गरेका थिए । तर भारमा मैदानको मध्य भागबाट बल अगाडि बढाउने क्रममा पाराग्वेका खेलाडीमाथि फल भएको भन्दै निर्णय उल्टिएको थियो ।

७३ औं मिनेटमा मेस्सीकै प्रहारमा गोलरक्षक एन्टोनि सिल्भाले उत्कृष्ट डाइभ बचाउ गरेपछि खेल बराबरी नै रहयो । यस बराबरीका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा ७ अंक छ । दोस्रो स्थानको ब्राजिलको २ खेलमा ६ अंक छ भने तेस्रोमा रहेको इक्वेडरले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे पनि ३ खेलमा ५ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ८ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।