Logo

स्वास्थ्य

वैशाखमा राेकिएकाे कक्षा १२ को परीक्षा आजबाट, ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुने



काेराेना भाइरस (कोभिड–१९ं) महामारी र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षा समय बढीमा साढे १ घण्टाको हुने जनाइएकाे छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएकाे छ भने भाैतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चान हुने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।

यसअघि शिक्षामन्त्री गिरिराज पाेखरेलले विद्यार्थीहरूलाइ ढुक्क भएर परीक्षा दिन अनुराेध गर्नुभएकाे थियाे । काेराेना संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने र परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएकाे उहाँकाे भनाइ थियाे । साथै परीक्षार्थीहरूले  मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ ।

परीक्षाका क्रममा  एउटा कोठामा २ मिटरको दूरी कायम गरी बढीमा २० जनासम्म मात्र राख्न पाइने व्यवस्था बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । उहाँ अनुसार घर पायक पर्ने र अाफू अध्ययन गरेकै स्कुलमा परीक्षार्थीका लागि परीक्षा केन्द्र ताेकिएकाे छ । साथै त्यसरी घरपायक फरक जिल्लाबाट पनि परीक्षा दिन सकिनेछ । यसरी फरक जिल्लाबाट दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको छ ।  स्थानीय सरकारहरूको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको उहाँकाे भनाइ छ ।

केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा शुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्था समेत  गरिएको छ । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोडको व्यवस्था गरेको  बाेर्डले जनाएकाे छ ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ८ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।