Logo

राजनीति

नेकपा फुट्यो, सुर्य चिन्हका लागि रस्साकस्सी



नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेकपा फुटेको हो । ओली र प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएपछि नेकपा फुटेको हो ।

सोमबार नै अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए । आज ओलीमाथि प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बसेर पार्टी सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्दैछ ।

प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बस्नुपूर्व ओली पक्षीय बैठक बालुवाटारमा बसेर अर्को निर्णय गरेका छ । जसमा पार्टी केन्द्रीय कमिटी विस्तार गरी ४४७ बाट ११ सय ९९ पुर्याइएको छ । आजै ५ सय ५६ जना थप गरिएको र बाँकी एक सय ९७ जना पछि थप्ने भनिएको छ । यो निर्णयको पत्र निर्वाचन आयोगमा अध्यक्ष ओलीको हस्ताक्षरसहित पुगेको छ । महासचिव विष्णु पौडेलले यसको माइन्युट गरेका छन् ।

कमजोर भए बामदेव र बादल

प्रचण्ड पक्षले ओलीलाई अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा पुगेको भोलिपल्ट ओलीले आफ्नो बहुमत सिद्ध गर्न केन्द्रीय कमिटी विस्तारको निर्णयको पत्र दर्ता गराएका हुन् । यसले नेकपा फुटिसकेको अवस्था छ । तर, नेकपाको वैधानिक अध्यक्ष र कमिटी कुन हुने भन्ने प्रश्न तेर्सिएको छ ।

यसको टुंगो निर्वाचन आयोगले लगाउनेछ । नेकपाको वैधानिक कमिटी ओली या प्रचण्डमध्ये जस्को हुन्छ उसैको झण्डा र चुनाव चिन्ह हुनेछ । विशेषगरी नेकपाको चुनाव चिन्ह सुर्य लिने प्रतिष्पर्धा चलेको छ ।

सुर्य चिन्हका लागि रस्साकस्सी

नेकपा एमाले ब्युँताउने गरी ओलीले विगतमै तयारी पूरा गरिसकेका छन् । तर, सुर्य चिन्हमा दुवै पक्षको स्वार्थ छ । यसअघि तत्कालिन नेकपा एमाले २०५४ सालमा फ्ट्दा तत्कालिन महासचिव माधवकुमार नेपाल पक्षले वैधानिकता पाउँदा सुर्य चिन्ह पाएको थियो । वामदेव गोतम पक्षधरले तारा चिन्ह बनाउनुपरेको थियो ।

नेकपाभित्रको आज विहान देखिको नाटकीय घटनामा ओली पक्षले प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाएको निर्णय गरेको छ । यसबाहेक अन्य कसैलाई पनि कारबाही नगरिएको उल्लेख छ । अध्यक्ष ओलीले पनि कसैलाई कारबाही नगर्ने बताएका छन् । २०७८ साल मंसिरमा महाधिवेनको मिति समेत तोकेका छन् ।

प्रकाशित मिति : पुष ७, २०७७ मंगलबार  ७ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।