OnlinePana

अनुराधा पौडेल, फ्रान्सपौष १४, २०७३काठमाडौं
१६५१ पटक

मेरो माइत र घर दुवै तिर महिनावारी बार्ने चलन थियो । माइतमा मैले अक्सर आमालाई पेल्थेँ । बारे पनि न बारे बराबर बनाउँथे । तर घर गएपछि समस्या पर्यो र म दोधारमा परेँ ।

काठमान्डू डेरामा हुँदा नबार्ने भएकोले घर पुगेपछि पनि सकेसम्म लुकाउने गर्थेँ । तर मेरी सासु आमालाई यो कुरा चित्त बुझेको थिएन । सिधै मुखले भन्नु हुन्थेन तर मलाइ हरेक पटक घर गयो कि कान्छी नानी देखाएर “लु है कोइ पन्छेका आइमाइ छौ भने कसैलाई नछोओ । भान्सा चोखो राखो । यतातिर माथितिर (चुलो) नआओ तिमेरका त कत्ती भर छैन । छोइछारो भयो भने बा लगलग लगलग काम्नुहुन्छ । बाका शरिराँ देउता चढ्छन् ।” आमाले यसो भनेपछि कान्छी नानी र म मरीमरी हास्थ्यौँ । शायद मेरी कान्छि नन्दले पनि बेला–बेलामा नछुने हुँदा आमालाई पेल्नुहुँदो हो ।

जसले जे भनेपनि महिनावारीको बिषय अति नै ब्यक्तिगत कुरो हो अरुलाई भन्न जरुरी नै हुन्न । यो महिलाको आत्म सम्मानको बिषय पनि हो । नेपाली समाजमा महिलाको आफ्नो आत्म सम्मान गुमाउन बाध्य पारिन्छ । अर्को अर्थमा बुझौँ न मेरो गुप्ताँगबाट रक्तश्राब भइरहेको छ यतिबेला भनेर परिवारका सदस्यलाई सुनाउनु, गाउँघरलाई सुनाउनु कम्ती लाजको बिषय हो त ? नछुने भएँ या पर सरेँ या पन्छिएँ या महिनावारी भएँ या रजश्वला भएँ भन्नु त महिला हुनुको रहस्य नै गुम्नु हो ।

म जस्ता कति महिला छन यहाँ, जसलाई यो कुरा अरुलाई सुनाउन बिलकुल मन पर्दैन । उनीहरुलाई यो कुरा गर्नु भनेको उनीहरुको आत्म सम्मानमा ठेस पुग्नु जस्तो हुन्छ । यो कुरा बुझ्दैनन् घरका मानिसहरु ।

उनीहरुलाई त जान्नै प-र्यो पर्यो महिला सदस्यको शारिरीक बिकासको चरण । कुन दिन कति स्तन बढे, कुन दिन काखी मुनी रौँ पलाए, कुन दिन देखि नछुने भइ भनि किन जान्नु पर्ने यो समाजलाई ?झन महिला भएर महिलालांई नै ।

नीजी मामिला मानेरै मैले अक्सर घर पुगेर महिनावारी भो भने ढाँट्थेँ । तर कहिले काँही चाँही अलि ढाँट्न मिल्थेन । एक महिना बढी घर बसियो भने । माइतमा म बारेजस्तो गरेपनि भित्र पसेर स्वाट्टै दुध, दहि खाइदिन्थेँ ।

आमाले कहिल्यै रोक्नुपनि भएन । मैले छोइदिएँ भनेर हाम्रो घरका भैसीहरु रुख पनि चढ्दैनथे र पागल पनि हूँदैनथे । तर घरमा भने सासु आमाले घरको भैँसी या गाइको दुध खान दिनुहुन्थेन किनभने तिनिहरु कि त रुख चढ्छन कि त पागल हुन्छन भन्नुहुन्थ्यो । कुल देउता रिसाउँछन भन्नुहुन्थ्यो । यस्ता कुराले मलाइ कम्ता रिस त उठ्दैनथ्यो ।

चित्त नबुझेपछि एकदिन मैले यो कुरा जेठो जेठाजुलाई पनि भनेँ । उहाँले घरको चलनै यस्तै छ त मैले के गरा त ? तिम्रा दिदीहरुले पनि खान पाउँदैनन । जे छ त्यहि सँग खाना खाउ भन्नुभयो । घरमा जेठो दाजुको सम्मान बुबा सरहकै भएकोले मेरा श्रीमानलाई गनगन गरेर केहि फाइदा हुँदैनथ्यो । त्यसैले आमाले दुध दिन छाडेपछि घरमा कहिरुयै पनि महिनावारीको खबर नदिने निधोँ गरेँ ।

एकपटक चाँही केहि दिनलाई घर गएको थिएँ महिनावारी भएकै बेला । मैले कसैलाई केहि नभनिकनै खुसीले खाना बनाएँ । सगोलको घर सगोलको खाना भान्सामा पस्दा रमाइलो हुन्थ्यो । सबैले खाना खाइयो । बुबा काम्नुहुन्छ कि हुन्न भनेर खुब बिचार गरेँ त्यो दिन । तर बुबा त सदाबहार । बुबालाई त केहि हुँदै भएन ।

कति मिठो मानेर खाना खानुभयो । आमालाई पनि केहि भएन । नयाँ बुहारीको नयाँ स्वाद । अरुहरु काम्ने नकाम्ने केहि हेरिन खाली आमाले बुबालाई भनेकोले बुबा माथि ध्यान गयो । त्यो दिन मेरी सासु आमाको कुरा सोहै आना गलत भएको आफ्नै आँखाले देखेँ ।

म भित्रभित्रै कसैलाई भन्न नहुने गरी उल्कै खुसी भएँ त्यो दिन । बुढीमाउ तपाँइको ढोँगी चलन आजबाट सकियो । तँपाइको घरको दुध अब मजाले बुहारीले खाने भएँ भन्थेँ मन मन । तैपनि मुखले भनेर बिद्रोह गर्ने हिम्मत आएन किनभने जेठो दाजुले घरको चलन भनिसक्नु भएको थियो ।

कान्छी नानीको बिहे नहुन्जेल आमाले घर पुगेपिच्छे नानीलाई देखाएर मलाई पन्छेका आइमाइले नछोओ भन्न छोड्नुभएन मैले पनि खाना बनाएर खुवाउन कहिल्यै छोडिन । सबै कुरा गुपचुप भइराख्यो किनभने मलाइ घरमा बस्नुपर्थेन । काठमान्डू डेराको बास थियो मेरो । आक्कल झुक्कल घर पुग्दा त्यहाँ गएर बिद्रोहको रडाको मच्चाउन उचित ठानिन् ।

पछि ससुरा बुबा र सासु आमा दुवैले हाम्रो काठमान्डूको साँघुरो डेराको बसोबास देख्नुभयो । राती राती पानी थाप्न धारामा लाइन बस्न पर्ने देख्नुभयो । त्यो देखेपछि किन मैले महिनावारीलाई वास्ता गर्दिन रहेछु भन्ने कुरा बुझ्नुभयो कि के हो आमाले त्यसपछिका दिनमा कहिल्यै पन्छेका आइमाइ भन्नुभएन ।

अब त जमाना परिवर्तन भएको पनि उहाँहरुलाई थाह छ र अब पालो बुहारीहरुकै आएको छ भन्ने पनि उहाँहरुलाई थाह छ । बरु एउटा टड्कारो परिवर्तन देखेकी छु घर पुगेका बखत मैले मनग्य दुध खान पाउँछु र बुबा र आमा दुवैलाई मैले धेरे दुध खाइदिएकोमा असाध्यै खुसी लाग्छ । उहाँहरु मलाइ दुधको किरा भन्नुहुन्छ ।

युरोप तिर महिनावारी हुदा छोइछिटो गर्ने चलन देख्दिन । तर बेलाबखत नेपालमा छाउपडी हुन्छ रे लौ न यो भनेको के हो भनेर मलाइ सोध्छन खैरेहरुले । मलाइ एकदम शर्म लाग्छ यो भन्नलाई । खैरेहरुले छाउपडी घरका तस्विर ल्याउँछन । स्तन नछोपिकन फोहरी हातले कँकाल जस्ता बच्चालाई चुसाइरहेका लोत्रेका लाम्टाका तस्विर ल्याउँछन ।

छाउ घरमा फोहरी कम्वल ओढेका र भैसी गोठको मुखमा पराल माथि सुतेका महिलाहरुका तस्विर ल्याउँछन् । कम्ती शर्म त लाग्दैन मलाइ यस्तो देख्दा । हामीले स्तन छोपेर मात्र स्तनपान गराउँ भनेर सिकाउन पाए कति राम्रो हुन्थ्यो होला । काला हातले स्तन नछेउ बच्चांँलाई दुध चुसांउँदा भन्न पाए ।

शर्म लाग्ने अर्को बिषय पनि छ धामी या झाँक्री बस्दाको । झाँक्री बस्दा झाँक्रीहरु मज्जाले रक्सी पिउने रैछन । रक्सीले लंठ परेपछि उनीहरु बोल्दा रहेछन् । धामीका कथा पनि त्यस्तै । बुद्दको देश, हिमालको देश भनेर खोक्यो उता जनजीवन यस्तो देख्दा बढो नैराश्यता आउँछ ।

यता तिर महिनावारी भएका दिन मेरो पेट दुखेको छ भन्यो भने त्यो दिन अरु दिन भन्दा कमै काम गरे पुग्ने रैछ किनभने यो लाज र शर्मको बिषयमा पर्दो रहनेछ र महिनावारी हूँदा पेट दुख्ने कुरा स्वास्थ्यको समस्यामा पर्दोरहेछ । यो कुरा मेरा अंफिसका अरु साथिहरुको देखेर मैले चाल पाएकी छु ।

मलाइ लागेको चाँही हाम्रो नेपाली समाजमा यो महिनावारीको बिषय पुरुषलाई बुझाउन सजिलो होला तर महिलालाई बुझाउने उल्कै गाह्रो छ । महिनावारी धुनधानले मान्ने महिलाहरु हेर्नुस त कुरा काट्ने अक्सर तिनै हुन । अर्काको निन्दो चर्चो गर्ने तिनै हुन्छन । पुजा पाठ तिनै बढी गर्छन । बर्त सर्त तिनै बढी बस्छन ।

पन्चमीका दिन नछुने भएको पाप पखाल्छन् र १०८ वटा तिलका दाना सहित के के हो के के दान गर्छन । १०८ पटक गुप्ताँगमा “चोखो” माटो दलेर पखाल्छन् । १०८ वटा दतिवन टोक्छन । हे भगवान चेतनाको ढ्ंयाग्रो ठोक्न तिनकै कानमा पर्छ जसले यो बदलिँदो परिस्थितिमा पनि थोत्रो थाँग्ने बोकेर कुना पस्छन र छुइ हूँदा पाप गरेको भनेर पुजा गर्छन । तर अरुका कुरा काट्न र परिआए घरै भाँड्न अनि मन्चमा उभिएर महिला स्वतन्त्रताका नारा लाउन पछि पर्दैनन ।

अन्तको कुरा के गर्नु शहरमा र शहर उन्मुख गाउँबाट मात्रै बार्ने चलन रोक्ने हो भने कति राम्रो हुन्थ्यो । त्यो चेतवानाको हावाले दुर दराजलाई पनि हल्लाउँथ्यो । किनभने अचेल धेरै गाउँको सम्पर्क शहरसँग छ ।

लाग्छ समाजको यो रुढीबादी चलन सजिलै बदलिन्न यदि सरकारले दवाब मुलक कार्यक्रम या नियम लादेन भने । जसले छोइछाइलाई मुद्दा बनाउँछ घर भित्र देउता रिसाउने नाउँमा छिर्न दिँदैन जसले तिनलाई छाउगोठमा बस्न बाध्य पार्छ त्यसै्याई जेल हाल्ने कानुन ल्याउँ त के हुन्छ ।

यति भयो र यसमा छाउको कुरो मान्दै नमान्ने बिद्रोही छोरी बुहारी परे भने यो बार्ने चलन पाँच देखि १० बर्षमा नामेट पार्न सकिन्थ्यो ।
कुरो कति सजिलो छ बुझ्न भने हाम्रा देवीहरु पनि महिला हुन ।

माहाकाली, सरस्वती , महालक्ष्मी,पार्वती, गौरी, महेश्वरा, रोहिंणी, अम्बिका सबै देवीहरु हुन । देवीहरुहरुले रजश्वला बारेको थाह छ तपाँहरुलाई रु उनी पन्छेको भएर पुजा नभएको पनि त हामीले सुनेका छैनौँ नि होइन र ? अनि हामी देवी जस्तै महिला किन यस्ता उल्टा ?
माल्भिका सुब्बाले महिनावारीको बिषयमा बोलेपछि मलाइ पनि शेयर गर्न मन लाग्यो । किनभने यो बिषयमा बहस हुन जरुरी छ ।पत्रकार अनुराधा पौडेलको फेसबुक पेजबाट लिइएको ।न्युुज सन्सारबाट

प्रतिकृया दिनुहोस्