OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३काठमाडौं
११८ पटक

maisoa

पोर्चुगलका पूर्वराष्ट्रपति मारियो सोएरिसको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ । उनले पोर्चुगलमा प्रजातन्त्र स्थापनाका निम्ति महत्वपूर्ण भूमिका खेलेका थिए । उनलाई पोर्चुगलको प्रजातन्त्रका पिताका रूपमा पनि लिइने गरिन्छ ।

करिब आधा शताब्दीभन्दा लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनमा सक्रिय रूपमा नेतृत्व गरेका उनी सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलका प्रधानमन्त्रीसमेत रहेका थिए ।

सोएरिस सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपतिसमेत भएका थिए । उनलाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उनी कोमामा गएको र कोमामै रहेका बेला उनको निधन भएको अस्पतालले जनाएको छ ।

उनको निधन बारे अस्पतालले थप विवरण भने स्पष्ट पारेका छैनन् । उनले सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भूमिका खेलेका थिए । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।

प्रतिकृया दिनुहोस्