OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३लेखनाथ
२९६ पटक

ठुल्ढुंगा गण्डकीवेसीस्थित शिशुकल्याण आधारभूत विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यले महायज्ञ आयोजना हुने भएको छ । आगामी माघ २५ देखि फागुन २ गतेसम्म भागवत् भाष्कर पण्डित कमलनयन गौतमले अमृतमय र संगीतमय शैलीमा स्कुल प्राङ्गणमा हुने श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सवमा कथा वाचन गर्नेछन् ।

 

aa

गाउँमै आफ्ना छोराछोरीलाई प्राविधिक शिक्षा दिने पवित्र उद्देश्यले आयोजित महायज्ञको तयारीका लागि यतिखेर स्थानीयबासी लागिपरेका छन् ।  शनिबार महायज्ञस्थल स्कुलमा आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समिति महासचिव डिल्लीराम बरालले समय सुहाउँदो प्राविधिक शिक्षा, अक्षयकोष स्थापना, सुविधा सम्पन्न भौतिक संरचना, बालउद्यान, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेल मैदान, आइसिटीयुक्त सभा हल, नमूना शैक्षिक संग्रहालय निर्माण गर्ने मुल उद्देश्य रहेको जानकारी दिए ।

 

महायज्ञबाट करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको जनाइएको छ । अतिथि सत्कार समिति संयोजक केशवप्रसाद आचार्यले विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीभद्र बरालको मूलसंयोजकत्वमा महायज्ञ सफल बनाउन १ हजार १ सय ११ सदस्यीय मूलआयोजक समिति, ३ सय ५ सदस्यीय सल्लाहकार समिति र ५१ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।
प्रचार संयोजक मोती गिरीले गरिब, विपन्न, दलित वर्गले पढ्ने विद्यालयमा शिक्षाको उज्यालो घाम देखाउन आयोजित महायज्ञमा संचारजगतको महत्वपूर्ण भूमिका हुने भन्दै सहयोगको अपेक्षा गरे ।

 

उक्त अवसरमा विभिन्न राजनीतिक दलका जिल्ला, क्षेत्रीय तथा वडास्तरका प्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।  देशमै नमूना विद्यालय समेत घोषित भैसकेको शिशुकल्याण निमाविमा हाल १ सय ८० जना विद्यार्थी पढ्छन् ।

प्रतिकृया दिनुहोस्