OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३काठमाडौं
२१० पटक

अग्रगमनको अर्थ राष्ट्र र जनतालाई समर्थ, समृद्ध र कुशल बनाउनु हुनुपर्ने थियो । राष्ट्र सवल भएन भने जनता अराजक हुन्छन् ।

जनता सवल नभएमा राष्ट्र विघटनको बाटोमा हिँड्न लाग्छ । अग्रगमनले इतिहास मेट्दैन । इतिहास मेट्नुको अर्थ आफ्नो परिचयको अन्त्य हो ।

नेपालका राजा पृथ्वीनारायण शाहप्रति द्रोह गर्नेहरुले नेपालको परिचयलाई अस्वीकार गरिरहेका छन् । साना ठूला पर्वहरु मनाउने नेपाली परम्परा छ ।

ती पर्वहरुको आयतन, गहिराइ बुझेर वा लोकलज्जाका लागि हुने गरी राष्ट्रले उत्सव मनाउँछ । राष्ट्रसँग जनता हुन्छन् र उनीहरुसँग राष्ट्रिय संस्कृति हुन्छ । कुनै राष्ट्रको अन्तर्यमाथि प्रहार गर्नु छ भने संस्कृति ध्वस्त पार्नुपर्छ र परिचयलाई तहसनहस बनाउनुपर्छ ।

सौन्दर्यका प्रशाभनहरुले अनुहार चिल्लो बनाए पनि मुटु, मिर्गौला, कलेजो, आदि भित्री अवयवहरु क्षयीकृत भए भने बाहिरी आवरणको कुनै औचित्य हुँदैन ।

परिचय र संस्कृतिबिनाको देश पनि त्यस्तै हुन्छ । परिचयको खोजी गर्नु अग्रगमनविरुद्ध कुनै पनि सन्दर्भमा हुँदैन । परिचय पश्चगमन कहिल्यै पनि मानिँदैन ।

तर नेपाली राजनीतिक नेताहरुको बुद्धि सुल्टो दिशामा हिँडिरहेको छैन । उल्टो गतिले जतिसुकै विकास गरे पनि परिणामसमेत उल्टो नै हुनेछ ।

राजनीतिक गति उल्टो भएका कारण हाम्रा परिवर्तन अझै संस्थागत हुन सकिरहेका छैनन् । पुरानो सबै भताभुंग पार्ने तर नयाँ जग बसाल्न नसक्ने सोचले परेको रिक्तताको खाल्डो झन् विस्तृत हुँदैछ ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने भनी २०६८ सालमा भत्काइएका काठमाडौंका सडकको दुर्दशा जस्तै राजनीतिले दुर्दशा भोगिरहेको छ ।

मानिसका घर भत्किए, करेसो काटियो, सडक विस्तारको नाउँमा अनेक रडाको देखियो तर सडक भत्काउनेबाहेक केही भएन । वर्षमा हिलो र हिउँदमा धुलो नियति हुन पुगेको छ । आमनागरिकले कपडा धोएपछि बाहिर सुकाउन पाउँदैनन् । धुलाम्य हुन पुग्छ ।

भत्काएपछि तत्काल बनाउने सामथ्र्य राज्यसँग हुनुपर्ने थियो । अथवा भत्काउनुअघि त्यसको विकल्प योजना हुनुपर्ने थियो । जनतालाई लामो समयसम्म सास्ती दिने विकासप्रति मोह नहुन सक्छ । सास्तीकै कारण विकासप्रति जनताको मोह भंग भएमा अराजकता त्यहीँबाट प्रारम्भ हुन्छ ।

मोहभंग हुन लागेको विकास जस्तै हुन लागेको छ आजको अग्रगामी परिवर्तनको खेल । जुन खेलले नेपालको परिचयलाई, आफ्नो आधारलाई धराशायी बनाउँदैछ ।

जर्मनको इतिहासमा हिट्लर जस्तै तानाशाह थिए विस्मार्क । तर जर्मनीका जनताले उनलाई फादर अफ जर्मनी मानेका छन् । केही दिन पहिले ओखलढुंगाको सीमान्तकृत गाउँ जन्तरखानीमा पुग्दा त्यहाँ भेटिएका एक जना जर्मन नागरिकले मसँग सोधे– जर्मनीमा फादर अफ जर्मनी भनेजस्तै नेपालमा को छ रु उनको यो प्रश्नको उत्तर म कसरी दिनु र कसलाई भन्नु फादर अफ नेपाल रु जर्मनीका विस्मार्क जस्तै हुन् नेपालका राजा पृथ्वीनारायण शाह ।

उनी छरिएर बसेका साना राज्यहरुका लागि तानाशाह भए होलान्, साम्राज्यवादी वा विस्तारवादी मानिए होलान् तर आजको नेपालका निर्माता हुन् । आजको नेपालीले उनलाई नेपाल निर्माता नै भनेर हेर्छ । नेपाल निर्माणका क्रममा अनेक सपुतले साथ दिए पनि नेतृत्व उनकै थियो र उनकै नाउँ रहेको छ ।

जसरी माओवादी हिंसामा अनेक सपुतले जीवन उत्सर्ग गरे तर नाम र प्रतिफलको नायकत्व पुष्पकमल दाहालसँग जोडिएको छ । इतिहास पुष्पकमलकै हुनेछ ।

२००७ को पृष्ट पल्टाउने हो भने बिपी कोइराला र मातृकाप्रसाद नै रहनेछन्, २०४६ लाई हेर्ने हो भने गणेशमान सिंह र कृष्णप्रसाद नै हुनेछन्, २०६२ र २०७२ लाई बुझ्न गिरिजाप्रसाद र सुशीललाई नै पढ्नुपर्ने हुन्छ । तर के तिनीहरु मात्र हुन् त इतिहास निर्माता रु पक्कै पनि होइनन् ।

अनेक सपुत, नायक, महानायकहरु इतिहाससँग जोडिएका छन्, तैपनि नाउँ मुखियाको मात्र हुन्छ । पृथ्वीनारायण शाह मुखिया थिए एकीकरणका त्यसैले उनको नाउँ पहिलो हुन्छ नेपाल निर्माणको इतिहास अध्ययन गर्दा । यसैकारण म पृथ्वीनारायण शाहलाई फादर अफ नेपाल मान्न तयार छु ।

राज्यले स्वीकार गरेको छैन । बाघका छालामा स्यालको रजाइँ भएर रहेको राजनीतिले पृथ्वीनारायण शाहको स्मृति सभा आयोजन गर्दैन, बिदा दिने परम्परा तोडेको छ र राष्ट्र निर्मातालाई चिनाउने सबै विषय र पक्ष धमिलो बनाइँदैछ । राजा÷महाराजा पद्धति सामन्ती प्रथा हो भन्ने विश्लेषण आफैँमा अराजकबाहेक केही होइन ।

राजा वा महाराजा राज्यको एक प्रतिनिधिबाहेक केही होइन । केही राजा क्रूर भए, निरंकुश भए र शासकीय पारिवारिक उत्तराधिकारित्व स्थापित गरे, त्यसैले तिनीहरु बदनाम भए ।

शासन आफँै सामन्ती चरित्रको पर्याय हो । राजतिलक वरण गरेको व्यक्तिमात्र खराब हुने अरु असल हुने भन्ने हुँदैन । हिट्लर, मुसोलिनी, पोलपोट, स्टालिन, अनेक गैरराज घरानाका तानाशाह पैदा भए र राज गरे । जिया उल हक चर्चित तानाशाह भए दक्षिण एसियामा ।

इरानमा धार्मिक तानाशाहको राज लामो समय चलिरह्यो भने बर्मामा सैनिक तानाशाह चर्चित थियो । अहिले साम्यवादले राजतन्त्र स्थापना गरेको छ । उत्तर कोरियालाई किम इल सुङले साम्यवादी सत्तामा रूपान्तरित गरेका थिए । उनीपछि उनकै छोरा किम जोङ र अहिले किमकै नाति राष्ट्रपति हुन पुगेका छन् । तीन पुस्ता भयो उत्तर कोरियामा निरंकुश पारिवारिक सत्ताले काम गरेको ।

खराव शासनको सूत्राधार यसैकारण राजा वा महाराजाहरु मात्र नभएर आमनागरिक शासनमा पुग्नासाथ खराव शासनको आधार हुनसक्छ भन्ने प्रतीकात्मक उदाहरणमात्र हुन् यी नामहरु । किम इल जोङका पक्षमा वकालत गर्नेहरु र राजा पृथ्वीनारायण शाहको योगदानविरुद्ध उभिनेहरुका लागि जवाफ पनि हुन् यी नाम ।

नेपाल निर्माणको कला उनमा पर्याप्त थियो । उनका पछि जंगबहादुर राणामा त्यस्तो कला देखिन्छ । शासन भावना, सौर्य र उद्वेगमात्र होइन कला पनि हो । कलाबिना शासन असम्भव हुन्छ । पृथ्वीनारायण शाहमा शासन कला प्रशस्त देखिन्छ । उनले कुनै कूटनीतिको आजका जस्ता दर्शन थाहा पाएका थिएनन्, विशेषज्ञहरु उनका सामान्य थिए । केही गुरु(पुरोहितको ज्ञानबाहेक रणनीतिक कुशलताको त्यस कालखण्डमा अरु आधार थिएन । तैपनि संसारको पहिलो साम्राज्यवादी शक्ति वेलायतलाई घुँडा टेकाए र ठूलो मैदानीसहित पहाडी भूखण्ड जोगाए ।

उनले नेपालका साना राज्यहरु कब्जा गरेका होइनन् बरु उनीहरुको अस्तित्वलाई विशाल राष्ट्रमा परिणत गरेका हुन् । विशाल राष्ट्र भएकै कारण यो देश र यो क्षेत्र सुरक्षित भएको थियो । आजका दिनमा साम्राज्यवाद र विस्तारवाद अनि हस्तक्षेपका कुरा गर्नेहरुलाई पृथ्वीनारायण शाह आफैँ विशेष आदर्श हुनुपर्ने थियो । राष्ट्रियता र राष्ट्रवादका कुरा गर्नेहरुका लागि उनी नायक मानिनुपर्ने थियो ।

तर उल्टो भइरहेको छ । पृथ्वीनारायण शाहको नाउँ नलिनेहरु साम्राज्यवाद, विस्तारवाद र हस्तक्षेपका नारा उरालिरहेका सुनिन्छ । साम्राज्यवाद, विस्तारवाद र हस्तक्षेपविरुद्ध प्रतिरोधात्मक युद्ध गर्ने पृथ्वीनारायण शाहका विषयमा मौन रहेर कसरी देशको स्वाभिमान रहन्छ रु

नेपालको भूगोल र समाजका आधारमा पृथ्वीनारायण शाहका विचार सर्वाधिक महत्वका छन् । शासकीय कुशलता र अनुभवले सिर्जना गरेका ती विचार कालजयी यसैकारण यथार्थपरक छन् । उनले पश्चिमा साम्राज्यवाद सांस्कृतिक अतिक्रमण र आर्थिक व्यावसायिक क्षेत्रबाट हुन सक्ने राम्ररी बुझेका थिए ।

परनिर्भर देश नै विस्तारवादको सिकार हुन्छ भन्ने उनको बुझाइ थियो । उत्तर दक्षिणसँगका सम्बन्धहरुमा उनी स्पष्ट थिए । उनको जोड आन्तरिक उत्पादनमुखी अर्थतन्त्रका पक्षमा थियो ।

राष्ट्रियताको आधारलाई उनले सम्पूर्ण जनताको सांस्कृतिक मूल्यलाई मानक बनाएका थिए र नै सबै जातजाति, धर्म, भाषा र संस्कृतिलाई समानरूपमा व्यवहारमा स्वीकार गरे ।

कोही पनि पराया होइन भन्ने मान्यताले काम गरे । उनको कुनै आधुनिक शिक्षा थिएन । उनका समयमा ठूला वैचारिक आविष्कार भएका थिएनन् र भए पनि नेपालको राजनीतक वृत्त यसमा पूर्ण निरपेक्ष थियो । प्राचीन पूर्वीय दर्शनबाट दीक्षित पृथ्वीनारायण शाहमा देश चलाउने चेतनाबोध आफैँमा आश्चर्यजनक लाग्छ ।

आजको नेपाली राजनीतिका लागि पृथ्वीनारायण शाहको त्यो युगीन चेतना पाठ हुनसक्छ । देश भनेको एउटा कालखण्डको प्रतिनिधि होइन सर्वकालीन प्रतिनिधित्व गरेको हुन्छ देशले । देश पृथ्वीनारायण शाहले बसाएको त्यही सार्वकालीन प्रतिनिधिका रूपमा आज पनि कार्यरत छ । राष्ट्रपति विद्यादेवी भण्डारी हुन् कि प्रधानमन्त्री पुष्पकमल दाहाल, त्यही सार्वकालीन लिगेसी हुन् । तर तुलना गर्न मिल्दैन ।

नेपालको राजनीतिक विचारको आन्दोलनमा पृथ्वीनारायण शाह पहिलो नै हुन् । रणनीतिक कुशलताका हिसावले जंगबहादुर राणा र आधुनिक विचारका दृष्टिले बिपी कोइराला, पुष्पलाल श्रेष्ठ र सामाजिक चेतका हिसावले महाकवि लक्ष्मीप्रसाद देवकोटा नै विचार प्रवाहका नायक हुन् ।

आजका सबै विचारको जगमा यिनै नेपालीको महत्वपूर्ण योगदान देखिन्छ । तर पृथ्वीनारायण शाहलाई किन अपमान गरिँदैछ रु के इतिहास नामेट पारेर देशको परिचय स्थापित हुन्छ रु के असल इतिहासको अपमान गर्दा परिवर्तनले पूर्णता पाएको मानिन्छ रु आजका दिनमा राजनीतिक नेतृत्वले यसमा विचार गर्ने कि नगर्ने ?

प्रतिकृया दिनुहोस्