Logo

प्रमुख समाचार

रेशम चाैधरीलाई छुटाउन जनमत र नागरिक उन्मुक्ति पार्टीकाे माेर्चाबन्दी



काठमाडौं । चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा भएको छ । १२ बुँदे सहमतिमा जनमत राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय राजनीतिलाई जनमुखी र परिणाममुखी बनाउन साझा मुद्दा र साझा धारणा भएका आफूहरुबीच कार्यगत एकता गर्ने सहमति भएको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । विषेशगरी जनतासँग सरोकार राख्ने मुद्दाहरुमा सरकारलाई दबाब दिन तथा आदिवासी–जनजाती, मधेशी, मुस्लिम, दलित, थारु, ओविसी, अल्पसंख्यक तथा महिलामैत्री राजनैतिक वातावरण तयार गराउन आफूहरुबीच मोर्चाबन्दी भएको उल्लेख गरेका छन् ।

दुई पार्टीबीच टिकापुर घटनामा दोषी ठहर भइ सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबाट सम्झौता भएकै दिनबाट सुरु गर्ने, यसअघि नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाव दिने सहमति भएको छ ।

सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरुलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानूनी प्रक्रिया मार्फत सरकारलाई दवाव दिने, नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको छ ।

प्रकाशित मिति : पुष २४, २०७९ आईतबार  ३ : २५ बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।