Logo

अन्तर्राष्ट्रिय

सम्पादन भएर नआए भारतीय फिल्म ‘आदिपुरुष’ नेपालको हलमा चल्न नदिइने



काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा नहटाए नेपालका हलमा उक्त फिल्म चल्न  सेन्सर बोर्डले नदिने भएको छ ।  ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो । सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

सेन्सर बोर्डको उक्त निर्णयमा अन्य सदस्यले पनि हस्ताक्षर गरेका छन् । अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेश गर्नुपर्ने भएको छ । संवाद हटाएर पेश गरेपछि मात्र फिल्मले प्रदर्शनको लागि अनुमति पत्र प्राप्त गर्नेछ । शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार  ६ : २२ बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।