Logo

समाचार

सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति



येरेभान,आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन्  । सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन्  । 

देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर नगरेका हुन् , राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन् ।

सुरक्षा निकायको बारेमा पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ राष्ट्रपति उभिनु उनको दायित्व भएको राष्ट्रपति निकटस्थहरुको भनाई छ ।

प्रधानमन्त्री पाशिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीहरुलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गरेका थिए ।

सेनाप्रमुख सहितका वरिष्ट सैन्य अधिकारीहरुले प्रधानमन्त्री पाशिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए । तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई “सैन्य कु” को संज्ञा दिएका थिए । 

आफूले सेनाप्रमुखलाई बर्खास्त गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नु भएको थियो । सेनाले सरकारको अपेक्षा र हितभन्दा विपरीत गएर काम गरेको र चित्तबुझ्दो भूमिका नभएको उनको भनाई थियो ।

आर्मेनिया र अजरबैजानबीच लामो समयदेखि दुई पक्षीय द्वन्द्व चल्दै आएको छ । त्यसमा पनि सेनाप्रमुखले प्रभावकारी भूमिका खेल्न नसकेको प्रधानमन्त्रीको आरोप छ ।   

प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार  १ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।