Logo

टिप्पणी

ती ओली, यी ओली 



केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीवी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो विरामीका लागि हामीसंग पौष्टिक आहाराका नाममा उसिनेको चामल र गान्टेमुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी सा¥है स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने । फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनमा समेत उनलाई थोरै किन नहोस, स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अडकेला जस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मिठा चीज पाइनु ? टीबी र अल्सरले सिकिस्त भएपनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घिउ लेउ भनेर हैरान पार्थे । सिद्धान्तसंग खाना खान सकिँदैन, स्वादसंग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे । 

केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भएपनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्र पिउँथे । आफ्नो पारिवारिक आर्थिक अवस्था , परिवेश विपरित थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई तीन गाँस बढी खान्थे । केपीको यही सोख पूरा गर्न हामीले दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौं । त्यतिबेला गैंडा नामको चुरोट चल्तीमा थियो । उनी त्यो चुरोट विहान खानाअघि र बेलुका खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु , केपीलाई जेलमा अलिकति खुशी बनाउनुपर्यो भने एक खिली चुरोट दिनुपथ्र्यो । अनिमात्र खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे । 
उनलाई विमारे उठ्नै नसक्ने हालमा पुर्यायो । रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्रै देखिन थाल्यो ।

स्थिति दिनानुदिन खराब बनेर उठ्न समेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले विरामी स्याहार्न मेरो ढोका खोली पाउँ भनी जेलरलाई दरखास्त हालें । धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भएका केपीलाई स्याहारें । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन् । दिसा गर्न जाँदा उनी आफ्ना कपडासमेत खोल्न नसक्ने अवस्थामा उनी पुगेका थिए । मैले उनको अन्डरपाइन्ट खोलिदिनेदेखि दिसा धोइदिनेसम्म काम गरें । उनी दिसा आफैं धुन्छु त भन्थे तर हात कामेर मलद्वारमा हात पुर्याउन नसक्ने भइसकेका थिए । मैले नुहाइदिनेदेखि शरीरमा तेल घसिदिनेसम्म गरें । 

एकपटक हप्ता दिनसम्म लगातार बाडुली लागेपछि केपीको मुखबाट ह्वालह्वाली रगत आयो । केन्द्रीय कारागार अस्पतालका डा. पुष्कल भारतीले तुरुन्तै औषधि दिएर निको पारिदिए । जेलमा छँदा मलाई घरबाट महिनामा दुई, तीनसय रुपियाँ आउँथ्यो । पैसा आउन कहिलेकाहीँ तीन महिना पनि लाग्थ्यो । नारद वाग्ले र नरेश खरेलको घरबाट पनि फाट्टफुट्ट केही रुपियाँ आइरहन्थ्यो, वर्षमा दुई तीनपटक । हामी तीनजनाबाहेक अन्य कसैकोबाट एक सुको आउँदैनथ्यो । यही रकम जम्मा पारेर केपीलाई कुखुराको यौटा अन्डा दैनिक ख्वाउन थाल्यौं । त्यसपछि उनी क्रमशः तंग्रिन थाले । जेलभित्र प्रेम उप्रेती, दधिराम उप्रेती, छविलाल राजवंशी, भेटला राजवंशीलाई पनि टीबीले सताएको थियो । उनीहरु टीबीग्रस्त भएको समयमा मलाई लागेको टीबी भने बिसेक भइसकेको थियो । 

वास्तवमा केन्द्रीय कारागारका पुष्कल भारतीले केपीको ज्यान बचाइदिएका हुन् । केपीको मात्र किन, डा. भारतीले राखेको सदाशयताले मलगायत धेरैको ज्यान जोगिएको थियो । उनको ससुराली झापाका गिरी बन्धुहरु रहेछन् । झापालीसंग नाता जोडिएकाले उनी हामीप्रति उदार बनेका थिए वा उनमा मानवीय भावना उर्लिएको हो ? हुन त डा. भारती अन्य कैदीहरुलाई समेत ध्यान दिएर उपचार गर्थे ।  

केपी ओली जेलमा बसुन्जेल राष्ट्रभक्त  युवा थिए । महाकाली सन्धिसम्म उनको यो छवि चम्किरह्यो । त्यसपछि भने क्रमश उनको छविमा दाग देखिन थाल्यो महाकाली सन्धिको सेरोफेरोदेखि उनको सम्बन्ध बाह्य शक्तिसंग स्थापित भएको हो । अहिलेका केपी र संघर्षका दिनका केपीबीच अतुलनीय बदलाव देखिन्छ । उहिलेका केपीमा देशप्रेम थियो । पार्टीप्रेम थियो । साथीप्रेम थियो । निस्वार्थी थिए । प्रस्टवक्ता थिए । राजनीतिमा आवद्ध भएको सुरुवाती चरणदेखि नै केपी शारीरिक रुपमा धेरै क्रियाशील नभएपनि चिन्तनगत रुपमा निश्चल र उर्जाशील थिए । तर, अहिलेका केपी विगतका दुखका दिन सितिमिति सम्झन छोडेका छन् । बरु बाल्यकालदेखि नै सम्पन्नतामा हुर्केको कथा सुनाउन कस्सिन्छन् । 

केपी बद्लिएको देख्दा म जेल बस्दाकै एउटा घटना सम्झन्छु । हामी सेन्ट्रल जेलमै छँदा चौकीदार थिए, करवीर थापा । भोजपुरतिरका करवीर श्रीमती मारेको मुद्दामा जेल परेका थिए । दुख र गरिबीले पिल्सिएका युवा थिए, करवीर । उनी चौकीदार भएपछि ७,८ सय बन्दीहरुको सागसब्जी, मासु र रासनमा बजार नियन्त्रण गर्न सक्ने भए । अर्थात कैदीलाई चाहिने सामानको आपूर्तिकर्ता भए । यसपछि बन्दीहरुको खानेकुराको मात्रामा तलमाथि पारेर उनले ठूलै रकम कमाए । बन्दीहरुको चर्को शोषण उनको पेशाजस्तै बन्यो । हाम्रै सामुन्ने अरुले फालेको ठुटो र जुठो बिँडी मागेर खाने करवीर रुपैयाँ कुम्ल्याएपछि भन्न थाले– ‘बाले याक चुरोट किन्न पठाउँदा पठाउँदै त्यही पिउने बानी बस्यो । अहिले नि याकबाहेक अरु तान्नै मन लाग्दैन ।’

समय बद्लिदै गएपछि केही मानिसहरुमा आफ्नो अतीत पनि बद्लिएको भान पर्दोरहेछ । त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा २,४ सय जयजयकार गर्ने मानिसहरु भएनन् भने आफू नेता नै नभएको जस्तो गर्न थालेका छन् । आफूभन्दा वरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन् भन्ने चिन्तनले सताउन थालेको छ । केपीको सुन्दरता के छ भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसंग च्याप्छन् । प्रधानमन्त्री बनेपछि उनले देशविकास र समृद्धिको सपना देखाइदिएका छन् । सपना पूरा भएको दिन नेपालीले अवश्य केपी ओलीलाई सम्झने छन् । 

प्रचण्ड ठीक बेठीक छुट्याउन सक्दैनन्

पछिल्लो समयमा मैले झेलेका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । प्रचण्ड र बामदेवको चरित्र करिब करिब मिल्छ । यिनीहरु एउटै विषयमा घरबाट निस्कँदा एउटा, बाटोमा गुड्दै गर्दा अर्को र कार्यालय पुग्दा तेस्रो कुरा सोच्छन् । दीर्घकालीन योजना र अडानमा हिँड्दैनन् । प्रचण्डको अस्थिरताको कही नमूना हेरौं । उनी प्रधानमन्त्री भएलगत्तै चीन गए । चीन गएकोमा भारतले असन्तुष्टि राखेपछि पहिलो राजनीतिक भ्रमण भारतमै हुन्छ भने । उनको बोलीले यस विश्रृंंखलतामा न चीन खुसी भयो न त भारतको मन पग्लियो । 

जनयुद्धका नाममा १७ हजारको बलिदानी भयो । ३४ हजार जनसेना देखाए । अन्त्यमा ११ सय जनसेनालार्य उनीहरुकै भाषामा बुर्जुवा सेनामा लगेर मिसमास पारिदिए । प्रचण्ड के ठीक, के बेठीक छुट्याउन सक्दैनन् । हरदम आफ्नो चरम चाकरी गर्ने स्वार्थी व्यक्तिहरुबाट मात्र घेरिन रुचाउँछन् । उनी आफ्नो विचारले देश हाँक्न सक्ने नेता रहेनन् । घुम्दै फिर्दै अन्तिममा फेरि म प्रचण्डजस्ता अस्थिर नेताकै ओतमा पुगेंछु । अपितु प्रचण्डले जनयुद्धमार्फत सर्वसाधारणलाई ठीक बेठीक चिन्न र प्रश्न गर्न सक्ने बनाए । यदि माओवादी जनयुद्ध नउठेको भए सर्वसाधारणको चेतनास्तर उक्सिन अझै समय लाग्ने थियो । तर जनयुद्धका सबै उपलब्धि प्रचण्डले एउटा व्यक्ति आफूमा मात्र केन्द्रित गर्दा माओवादी आन्दोलनको उपलब्धि समेत लावारिश बन्न पुग्यो । 

माधव नेपालले पार्टीको पैसा फिर्ता गरेनन

माधवकुमार नेपाल सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिक्कै खट्न सक्छन् । दर्शनका कुरा धेरै नछाँटने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक होइनन् तर राम्रा संगठक हुन् । माधव थोरै समयमा धेरै सांगठनिक र प्राविधिक काम गर्न सक्छन् । राजनीतिलाई सिद्धान्तसंग जोड्न नसक्नु अन्तरमुखी माधवको कमजोरी हो । उनको सबभन्दा असल गुण पार्टीभित्र दोस्रो नेताको भूमिका निभाउनुमा देखापरेको छ । सीपी र झलनाथलाई महासचिवको रुपमा लोकप्रिय बनाउन माधवजीको महत्वपूर्ण भूमिका रह्यो । तर, अर्का महासचिव मदनसंग भने माधवको केमेस्ट्री अन्तर्घुलित भएन । दासढुंगा घटनाको सेरोफेरोसम्म आइपुग्दा मदन र माधवको आत्मीयता लगभग टुंगिसकेको थियो । 

दासढुंगा दुर्घटनापछि महासचिव बनेका माधवले नेपाल भारत असमान महाकाली सन्धि गराउने राष्ट्रघाती कदम चाले । पार्टी विभाजन हुन सक्ने खतरालाई नजरअन्दाज गरे । आफ्नै हिमायतीहरुलाई मात्र केन्द्रीय समितिमा ल्याएर पार्टी फुटाउने आधार खडा गरे । माले–एमाले पुन एकीकरणपछि पूर्व एमाले पक्षधरहरुलाई छानीछानी पार्टी बाहिर हुर्याएर माओवादीलाई विस्तारित हुने आधार तयार पारिदिए । मालेबाट आएका नेता, कार्यकर्तालाई माधवले आफ्ना ठान्दै नठान्ने, हेयको व्यवहार गर्थे । 

२०५१ सालमा एमालेले अल्पमतको सरकार नेतृत्व गर्ने भयो । तर, यसका महासचिव माधवलाई सबभन्दा ठूलो सकस परिरहेको थियो । प्रधानमन्त्री बन्ने तीब्र आकांक्षा भएपनि निर्वाचनमा भाग लिएर जोखिम नमोलेका कारण माधव संसदको तल्लो सदन (प्रतिनिधिसभा) को सदस्य थिएनन् । २०४७ सालको संविधानमा प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान थियो । माधव प्रतिनिधिसभाको सदस्य हुन्थे भने मनमोहन अधिकारीलाई प्रधानमन्त्री बन्न कुनै हालतमा दिँदैनथे । रक्षा मन्त्रालय प्रधानमन्त्रीले राख्ने परम्पराजस्तै थियो , त्यसबेला । प्रधानमन्त्री मनमोहनले मुखै खोलेर ‘अरुले देख्दासमेत लाजमर्दो हुने भयो, कम्तिमा एउटा मन्त्रालय देऊ’ भन्दा समेत माधव टसमस भएनन् । यसपछि मनमोहन मन्त्रालयविहीन प्रधानमन्त्री बने । माधव चाहीँ उपप्रधान एवं रक्षा र परराष्ट्र मन्त्रालयको कुर्सीमा आसीन भए । प्रधानमन्त्री हुन नपाएको झ्वाँक उनले मनमोहनलाई प्रधानमन्त्रीविहीन बनाएर पोखेका थिए । माधवको चिन्तन बुझ्न यही घटना काफी छ । 

उपप्रधानमन्त्री भइसकेपछि माधव सरकारले बेहोर्ने गरी ठूलो घरमा बस्न खोजेका थिए । मन्त्री निवासमा नबसी थप सुविधायुक्त स्थानमा बस्ने उनको दाउ थियो । तर, कानुनले मन्त्रीको हैसियतभन्दा धेरै भाडा तिरेर बस्न रोक लगाएकाले उनको ध्येय सफल हुन सकेन । त्यसबेला मन्त्रीको घरभाडाबापत सुविधा मासिक ६ हजार रुपैयाँ थियो । त्यति पैसाले माधवले खोजेजस्तो आलिसान निवास भाडामा पाइँदैनथ्यो । त्यसपछि उनी मन्त्री निवासमै खुम्चिन बाध्य भए । हेर्दा साना लाग्ने यस्ता गतिविधिले माधवको महत्वाकांक्षाको स्तर मापन गर्न सकिन्छ । 

संकुचित सोचले नेतालाई कस्तो बनाउँछ भन्ने मसंग एउटा रमाइलो अनुभव छ । २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्य कांग्रेसका तर्फबाट एक्सन कमिटी इन्चार्ज थिए, जतिबेला गणेशमान जेलमा थिए । वाममोर्चाको कार्यवाहक अध्यक्ष भएकाले मैले जगन्नाथसंग नियमित सम्पर्क गर्नुपथ्र्यो । सम्पर्क गर्दा जहिले पनि सब ठीकठाक मात्र भन्थे । तर कांग्रेसका मानिस जुलुसमा उतिसारो देखिदैनथे । अनि मैले एकदिन सोधें– ‘कहाँ के ठीकठाक भन्नुहुन्छ आचार्यजी ? आन्दोलनमा मान्छे आएका छैनन् ।’ उनलाई कांग्रेसले इञ्चार्ज त बनाइदियो तर उनी भक्तपुरको दत्तात्रय मन्दिर नाघ्न सकेनन् । ठ्याक्कै आचार्यजस्तै संकीर्ण सोचका हुन, माधव । 

माधव कति हठी र स्वार्थी हुन भन्ने बुझ्न अर्को अनुभव समेत छ । २०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाका  नेता थिए भने माधव नेपाल माथिल्लो सदन राष्ट्रियसभाको । तल्लो सदनका मनमोहनसरह सुविधा नपाएपछि माधवले एक वर्षसम्म पारिश्रमिक लिएनन् । माधवको चित्त बुझाउन धेरैचोटि बैठक बस्यो । पार्टीमा विवाद जन्मियो । तर माधवले तनखा बुझ्नै मानेनन् । तल्लो सदनभन्दा माथिल्लो सदनका नेताले एक सय रुपियाँ मात्र कम पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एकमुष्ठ तलब सुविधा बुझे । एक वर्षसम्म माधवलाई खर्चबर्च पार्टीले जुटाइदिएको थियो । म त्यतिबेला पार्टीको आर्थिक विभागमा थिएँ । मैले माधवले तलव सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरो कुरा सही ठहर्याएका थिए । त्यसको केही दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने बचन दिएका थिए । तर यसैबीचमा मदन दासढुंगा काण्डमा पारिए । माधवले पार्टीका तर्फबाट भएको खर्च फिर्ता गरेनन् । 

आरके मैनालीकृत नलेखिएको इतिहासबाट साभार ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ६ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।