सोमवार, फाल्गुण १७ २०७७
काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भौतिक आक्रमण हुन सक्ने बताएका छन् ।
सोमबार पोखरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री ओलीले आफूमाथि भौतिक आक्रमण हुनसक्ने आशंका व्यक्त गरे । देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने उनको भनाइ छ ।
ओलीले योजनाबद्ध ढङ्गले विकास गर्ने प्रयासमा सरकार रहेको पनि दाबी गरे । उनले विप्लव माओवादी सँगै छिट्टै वार्ता हुने पनि जानकारी गराए । देशी विदेशी शत्रुहरूले गम्भीर षड्यन्त्र गरिरहेको बताउँदै उनले पटक–पटक सरकारविरुद्ध हमलासमेत भएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षार्थ सरकार उभिँदा हमला भइरहेको बताउँदै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पलाई जसरी पनि प्राप्त गरिछाड्ने दृढता व्यक्त गरे ।