Logo

क्रिकेट संघले ग-याे, खेलाडीको पारिश्रमिक निर्धारण



नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि वर्गीकरण सम्झौता गरेको छ । भरतपुरमा मंगलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले बताए । यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने भएका छन् ।

अध्यक्ष चन्दले भन्नुभयो, ‘पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद शुरुआत हो ।’ यसअघि पुरुष खेलाडीले सन् २०१९ मा ४५ हजार, ३५ हजार २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि पाउने भएका छन् ।

 

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  १२ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।