Logo

नेतृ सूची एक महिनापछि सार्वजनिक



गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् ।

उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् । भिडियोमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य रहेको वकिलहरुको भनाइ छ । सेनाले सत्ता कब्जामा लिएपछि सूचीलाई अज्ञात स्थानमा नजरबन्द गरेर राखिएको छ ।

म्यानमारमा सूचीको रिहाइमो माग गर्दै दैनिक सडक प्रदर्शनहरु भइरहेका छन् । आइतबारको प्रदर्शन भने अरु दिनको भन्दा निकै हिंस्रक बन्यो । प्रदर्शनमा सहभागी १८ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लागेर कैयौं मानिस अस्पतालमा भर्ना भएका छन् ।

आइतबारको हिंस्रक अवस्थापछि पनि सोमबार प्रदर्शनकारीहरु सडकमा देखिएका छन् । उनीहरुले सूचीको रिहाइ र सरकार पुनःस्थापित गर्न माग गरेका छन् । सेनाले भने पछिल्लो चुनावमा धाँधली भएको बताउँदै शासनसत्ता आफ्नो कब्जामा लिएको छ । यद्यपि सेनाले अहिलेसम्म धाँधली भएको एउटा पनि प्रमाण पेश गर्न सकेको छैन ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ६ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।