Logo

बैंकिङ

को होला राष्ट्र बैंकको डेपुटी गभर्नर ?



नेपाल राष्ट्र बैंकमा आजदेखि दुई जना डेपुटी गभर्नरको पद खाली हुँदैछ । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ आफ्नो कार्यकाल सकेर आज बिदा भएपछि उनीहरुका ठाउँमा दुई जना डेपुटी गभर्नरको पद खाली भएको छ ।

उक्त पदका लागि १७ जना कार्यकारी निर्देशकहरुको प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धामा गभर्नर महाप्रसाद अधिकारीले चार जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाउनुपर्ने छ ।

गभर्नर अधिकारी कोभिडका कारण मुलुकको अर्थतन्त्र धरासायी बनेकोमा चिन्तित छन् । गत वर्षको बजेटले कोभिड पीडितहरुलाई सम्बोधन नगरेपछि मौद्रिक नीतिमार्फत गभर्नर अधिकारीले कोभिड पीडितलाई सम्बोधन गरेका थिए ।

तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाका कारण पीडित बनेको निजी क्षेत्र गभर्नर अधिकारीको मौद्रिक नीतिले उत्साहित बनेको थियो । त्यो उत्साहलाई कायम गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्ने सोचमा गभर्नर अधिकारी छन् ।

त्यसैले पनि अबको डेपुटी गभर्नर छनोटमा गभर्नर अधिकारीको हात बलियो हुने देखिन्छ । डेपुटी गभर्नर भनेको गभर्नरको दुईवटा हात भएकोले पनि बैंकिङ क्षेत्रमा देखिएको विकृति विसंगतिसँग गभर्नर अधिकारीले कुनै सम्झौता गर्नेवाला छैनन् ।

त्यसमाथि नियमन विभाग र अनुसन्धान विभागलाई सशक्त र बलियो बनाउने सोचमा गभर्नर अधिकारी छन् । राष्ट्र बैंक स्रोतका अनुसार डेपुटी गभर्नरमा डा। प्रकाशकुमार श्रेष्ठ र देवकुमार ढकालको नियुक्तिको बलियो सम्भावना छ ।

डा। श्रेष्ठ अनुसन्धानविज्ञ भएकोले कोभिडबाट पीडित अर्थतन्त्रलाई कसरी उठाउन सकिन्छ भन्ने कुरा सुक्ष्मरुपमा अध्ययन गर्न सक्ने व्यक्ति हुन् । त्यसमाथि उनको पिएचडी पनि अनुसन्धानमै भएकोले राष्ट्र बैंकको गरिमा, क्षमता बढाउन उनी उपयोगी हुन सक्छन् ।

श्रेष्ठको विज्ञताका कारण अर्थमन्त्री विष्णु पौडेलले उनलाई अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । अर्का प्रतिस्पर्धी देवकुमार ढकाल अहिले नियमन विभागमा छन् । ढकाललाई बैंकमा स्वच्छ छवि र क्षमतावान व्यक्तिका रुपमा हेरिन्छ ।

ढकालले नियमन विभाग सम्हालेपछि उनले बैंकिङ क्षेत्रमा भएका घोटाला र भ्रष्टाचारका मुद्दालाई निर्मम तरिकाले हेर्ने गरेका छन् । नियमन विभागको सक्रियताका कारण धेरै पुराना बैंक घोटाला काण्ड सार्वजनिक हुँदै आएका छन् ।

डेपुटी गभर्नरका अन्य सशक्त उम्मेदवारमा सुमन अधिकारीलाई हेरिएको छ । उनले सुवास नेम्वाङमार्फत लबिङ गरिरहेका छन् भने, डा। निलम ढुंगाना झापा घर भएकै कारण प्रधानमन्त्रीले आफूलाई डेपुटी गभर्नर बनाउँलान् कि भन्ने आशामा छिन् ।

कतिपय प्रतिस्पर्धी नेपाली कांग्रेससँग मिलेर ओलीले सरकार बनाउने हुँदा एउटा सिट कांग्रेसले पनि पाउने आशामा छन् । दृष्टि साप्ताहिकका साथमा । 

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  १२ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।