Logo

स्वास्थ्य

स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’



जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो ।

जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार उक्त कार्यक्रममा भिडियो एक्सरे, इसिजी, नर्मल एक्सरे, प्रयोगशाला सेवा र निःशुल्क औषधि सेवा उपलब्ध गराइने भएको छ ।

जोरायल गाउँपालिकामा सञ्चालन भएको ‘गाउँ घरैमा चिकित्सक’ कार्यक्रमबाट दुई दिनमा २५० बढी बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिएका छन् । उनले भने , “ज्येष्ठ नागरिक तथा स्वास्थ्यको पहुँचबाट टाढा भएका नागरिकका लागि हामीले गाउँ घरैमा चिकित्सक’ कार्यक्रम शुरु गरेका छौँ ।”

उनका अनुसार सोमबारदेखि शुरु भएको उक्त कार्यक्रम मङ्गलबारसम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक डा ज्योति पाण्डे, डा प्रकाश ठकुल्ला र डा सोहनकुमार साहले सेवा दिएका थिए  । गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गरिन थालेपछि उक्त गाउँपालिकाका स्थानीयवासी तथा बिरामी निकै खुशी भएको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिएका छन् । 

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ३ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।