Logo

टिमको प्रशिक्षण सुरु गर्न ढिला नगरौँ -कप्तान शाही



नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न ढिलाई नगर्न आग्रह गरेकी छन् । अरुणाले एसियन च्याम्पियनसिपका लागि समय थोरै भएकाले प्रशिक्षणमा ढिलाई नगर्न आग्रह गरेकी हुन् । च्याम्पियनसिप खेल्न उत्साहित रहेको बताउदै कप्तान शाहीले थोरै समयमा धेरै कुरा गर्नु पर्ने भएकाले प्रशिक्षण सुरु गर्न ढिलाई भइसकेको बताईन् ।

‘हामी सबै च्यम्पियनसिपका लागि निकै नै उत्साहित छौँ,’ कप्तान शाहीले भनिन्, ‘च्यम्पियनसिपका लागि अब धेरै समय पनि छैन् । त्यसैले संघले जतिसक्दो चाँडो राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नु पर्छ ।’

गत महिना एसियन भलिबल महासंघ (एभीसीं को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेसँगै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले प्रतियोगिता खेल्ने पक्का भएको थियो । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ ।

‘हामी एक टिम भएर नखेलेको एक वर्ष भयो । पछिल्लो समय केही प्रतियोगिताहरु भए । क्लबले आफ्नो तरिकामा प्रशिक्षण सुरु गरेका छन् । तर, हामी सबै राष्ट्रिय टोलीका सदस्यहरु एक भएर प्रशिक्षण गर्न पाएका छैनौ । त्यसैले संघले क्लोज क्याम्प छिटो सुरु गर्नु पर्छ,’ अरुणाले भनिन् ।

शाहीले च्यम्पियनसिप खेल्नु पूर्व मैत्रिपूर्ण खेलहरु खेल्नु समेत आवस्यक रहेको समेत बताईन् । उनले कोरोना पछि टोलीको प्रदर्शन मापनका लागि भएपनि आफुभन्दा माथिल्लो स्तरका टोलीसँग मैत्रिपूर्ण खेल खेल्न आवस्यक रहेको बताएकी हुन् ।

‘प्रतियोगिता खेल्न जानु पूर्व हामीले आफुभन्दा माथिल्लो स्तरको टोलीसँग मैत्रिपूर्ण खेल खेल्न पाए झनै राम्रो हुन्छ । यसले च्याम्पियनसिपमा हामीलाई प्रतिस्पर्धा गर्न सहज हुनेछ,’ उनले भनिन् ।

खेलाडीलाई खेलमा फर्किन समय लाग्ने अरुणाको बुझाइ छ । पछिल्लो समय आयोजना भएका प्रतियोगितामा खेलाडीहरुको प्रदर्शनले खेलमा फर्किन केही समय लाग्ने उनले बताएकी हुन् ।

 

 

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ३ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।