शनिवार, फाल्गुण २२ २०७७
काठमाडौँ
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिको मसी सुक्न नपाउँदै सम्झौता धरापमा परेको छ । सहमति पालनामा दुवैपक्ष एक अर्कासंग सशंकित भएको प्रमाण दोस्रो दिनमै देखिएको छ ।
शुक्रवार तामझामकाबीच राष्ट्रियसभा गृहमा विप्लव शान्तिपथमा फर्किएको र सरकारले पनि सोही अनुसार व्यवहार गर्ने घोषणा भएको थियो । सहमतिको २४ घण्टा नबित्दै विप्लवमा वेचैनी छाएको देख्न सकिन्छ । सहमति अनुसार आफना नेता कार्यकर्ता रिहा नभएपछि विप्लव असन्तुष्ट बनेका छन् । उनले शनिवार गृहमन्त्रीलाई भेटेर आफनो असन्तुष्टि पोखिसकेका छन् । सहमति अनुसार पक्राउ परेका आफना नेता कार्यकर्तालाई तत्काल रिहा गर्नुपर्ने उनको माग थियो ।
विप्लवले गृहमन्त्रीलाई भेट्नुपर्ने अवस्था किन आयो ?
सहमतिको पालना दुवैतर्फबाट हुनुपर्छ । विप्लवले पनि शुक्रवारको सम्बोधनमा सहमतिको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका थिए । तर, यो सहमतिप्रति आम मानिसले प्रश्न उठाएका छन् । विप्लवका लडाकु र हतियार खै ?
लडाकु र हतियारका सन्दर्भमा सहमति नबोलेपछि सरकारमाथि पनि प्रश्न उठेको छ । कतै दुवै पक्षबीच अपारदर्शी सहमति त भएको छैन ?
विप्लवमाथि शक्ति संचय गर्न खोजेको आरोप पनि छ । सहमति भएको दोस्रो दिनमै उनलाई हतार–हतार आफना कार्यकर्ता छुटाउनुपर्ने हुटहुटी किन भयो ? मुद्दा लागेका नेता कार्यकर्ता प्रक्रियागतरुपमा छुट्छन भन्ने कुरामा उनलाई किन विश्वास भएन ?
यी प्रश्नका आधारमा हेर्दा विप्लव शक्ति संचय गर्न चाहन्छन् । छिटोछिटो नेता कार्यकर्तालाई जेलबाट छुटाएर माहोल बनाउन चाहन्छन् । उनीसहित प्रवक्ता खड्गबहादुर विश्वकर्माले हतियार र लडाकुका सम्बन्धमा चित्त बुझ्दो जवाफ दिइरहेका छैनन् । शान्तिपूर्ण राजनीतिमा फर्केको बाहनामा कतै अर्को युद्धको तयारी त होइन ?
शुक्रवारको सम्बोधनमा विप्लवले प्रष्ट भनेका छन् ‘ कम्युनिष्टहरु विजय भएको दिन संसारमा हतियार र युद्धको अन्त्य हुनेछ । ’
यो वाक्यांशलाई केलाउने हो भने के नेपालमा कम्युनिष्टहरु विजयी भएका हुन त ? अवश्य होइन । उल्टो टुटफुटले छिन्नभिन्न भएका छन् । स्वयं विप्लवको पार्टीको लक्ष्य भनेको बैज्ञानिक समाजवाद र जनगणतन्त्र हो । त्यो प्राप्ति नभएसम्म विजय कसरी हुन्छ ?
वैज्ञानिक समाजवाद भनेको भुलभुलैया नारा हो । जसको अर्थ न विप्लवलाई थाहा छ , न हिजो उनका गुरु प्रचण्डलाई नै थाहा थियो । नेपालमा कम्युनिष्ट इतिहास सियोको त्यो टुप्पोमा बसेको छ , जहाँ बसेर सत्य उत्खनन् गर्न खोज्नेहरु गद्दार सावित हुन्छन् । विप्लव स्वयं सलामी, गुलामी र मलामी के कमाउने त्यसको मझधारमा छन् ।