शनिवार, फाल्गुण २२ २०७७
काठमाडौँ
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ ।
शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले बागमती नदीमा खसालिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको चर्चा गर्दै उनले भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’
मेलम्चीमा लामो समयको प्रतीक्षा पूरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए । यसअघि काम गर्न दिएनन्, आफ्नै पार्टीबाट असहयोग भयो भन्नुपरेको भन्दै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उद्घाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’
काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।