Logo

राजनीति

देउवा भन्छन् : अब कांग्रेसको काँधमा जिम्मेवारी आएको छ



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए । 

पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई कांग्रेसको खाँचो रहेको हुँदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उनले विकास, समृद्धिसँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिए । 

खेलकूद विभागका केन्द्रीय सदस्य मणिभूषण यादवको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा पूर्वमन्त्री मोहन बस्नेत, फरमुल्ला मंसुर, उमाकान्त चौधरी, कांग्रेसका केन्द्रीय सदस्यहरु बृजलाल यादव, राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसियालगायतले संविधान र प्रजातन्त्रका लागि कांग्रेस जिम्मेवारी वहन गर्नुपर्ने समय आएको तर्क गरे ।

प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार  ६ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।