Logo

राजनीति

माधव नेपाल भन्छन– शुरुमा मिठो, पछि टर्रो



सत्ताको नेतृत्वकर्ता दलभित्र झांगिएको चर्को असन्तुष्टिबीच नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार असन्तुष्ट भनिएका माधव नेपाल पक्षधरलाई वार्तामा डाके । बालुवारस्थित सरकारी निवासमा नेता नेपाललाई डाकेको भएपनि नेता नेपालले ओली प्रधानमन्त्री रहेसम्म बालुवाटार नटेक्ने पूर्ववत अडानबाट टसमस नभएपछि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सारियो । विहान ११ बजेदेखिको वार्ता दुई घण्टा बढी समय बस्यो । तर कुनै ठोस उपलब्धिमा भने पुग्न सकेन । किन त ? एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भन्छन– ‘सर्वोच्च अदालतको फैसलापछि पूर्ववत रुपमा एमाले जुन स्थानमा थियो । पदाधिकारीको रुपमा त्यो ठाउँमा फर्किऔँ । त्यो बैठक वैधानिक छैन । त्यसलाई शुन्य अवस्थामा पु¥याईदिआँै त्यसपछि सिंगो परिस्थितिको बारेमा बसेर छलफल गरौँ । हामीले यो प्रस्ताव राख्यौँ निष्कर्ष निस्किएन ।’

ओलीलाई साधारण सदस्यबाट हटाएका नेपालको बटमलाइन– २८ गतेको निर्णय उल्ट्याउने 

नेकपा एमालेको मिलनविन्दुको बटमलाइनको रुपमा माधव नेपाल पक्षधरले २८ गतेको ओलीपक्षीय केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई लिएको छ । २८ गतेको बैठकले माधव नेपाल पक्षीय नेताको जिम्मेवारी खोस्दै अध्यक्ष र महासचिव मात्र पदाधिकारीमा रहने निर्णय गरेको थियो भने माओवादीबाट आएका नेतालाई जिम्मेवारी तोकिदिएको थियो । नेपाल पक्षले भने यसलाई ठाडै अस्वीकार गर्दै पूर्ववत जिम्मेवारी हुनुपर्ने जनाएको छ । नेपाल पक्षीय नेता भीम रावल भन्छन –‘पार्टी अध्यक्षबाट यसबीचमा जुन काम कारबाही भयो खासगरी २८ गते भएको भनिएको जुन हामीलाई कुनै पनि खबर नगरिकन केन्द्रीय कमिटीको कतिपय कुरा गरिएको भनिएको छ, जहाँ बहुमत सदस्य पनि थिएनन भन्ने कुरा हाम्रो जानकारीमा छ, त्यहाँ गरिएका भनिएको निर्णयको प्रभाव पनि स्वाभाविक रुपमा अदालतको फैसला पनि त्यही भएकाले शून्य हुन्छ भन्ने कुरा हामीले तथ्यगत रुपमा राख्यौँ तर त्यो कुरा तदअनुकूल नै स्वीकार्ने कुरा हामीले सुन्नमा पाएनाँै । त्यो कुरा भएन, त्यो कुरा नभएपछि हामी त्यसमा सहमत हुने कुरै भएन हामी सहमत हुनै सक्दैनौँ ।’

समीक्षा गर्न तयार छौँ : महासचिव पोखरेल 

प्रधानमन्त्री ओली पक्षीय नेता एमाले महासचिव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने २८ गते भन्दा अघिका विषय पनि गम्भीर भएकाले त्यसमा सहमति जुटन नसकेको बताएका छन । उनी भन्छन –‘२८ गतेको मात्र होइन यसबीचमा विभिन्न कुरा भएका छन । अर्याल होटेलमा भेला भएका छन, कात्तिक २८ गते आरोपपत्र तयार गर्ने कुरामा अनेक खालका कुरा भएको छ । त्यसकारणले समग्र रुपमा विगतमा गरिएका कतिपय कामको यथासमयमा समीक्षा हामी गर्छौँ । तर अहिलेको साझा निष्कर्ष भनेको पुनस्र्थापित एमालेलाई थप बलियो बनाउनुपर्छ । कतिपय समीक्षात्मक कुरालाई आज नै टुंगोमा पु¥याउन सकिँदैन नि ।’

दुवै पक्ष आ–आफ्ना छलफलमा 

धुम्बाराहीमा भएको छलफलमा कुरो नमिलेपछि दुवै पक्ष आ–आफ्ना गुटगत छलफल लागेका छन । वरिष्ठ नेता नेपालले आफू पक्षीय केन्द्रीय सदस्य र सांसदहरुलाई बानेश्वरको एक होटेलमा ओलीसँग दिउँसो भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए । नेपाल पक्षले सोमबारै ४ र ५ गतेका लागि तय गरिएको राष्ट्रिय कार्यकर्ता भेला गरेरै अघि बढ्ने निर्णय गरिसकेको छ । जुन पार्टी फुटाउनका लागि औपचारिक प्रस्थानविन्दु हुन्छ तर पार्टी फुटकै संघारमा पुगेपछि पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान आयोजना गरेका छन । चियापानमा नेपाल पक्षीय नेताहरुलाई पनि खबर गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

चियापानमा जानुहुन्छ त ? नेपाल पक्षीय नेता भीम रावल भन्छन –‘२८ गतेको केन्द्रीय कमिटी भनिएको भेलाबाट जुन निर्णय भएका छन, ती कुराहरु सबै स्थगित भए र रद्ध भए भनिए भने ती भन्दा अगाडिका सबै काम स्थगित गरेर साझा रुपमा अगाडि बढ्न तयार छौँ ।’ उनी अगाडि भन्छन –‘आफूले गरेको काम चाहिँ गरिहाल्ने त्यो कुनै वैध नभएपनि त्यो केन्द्रीय कमिटीको बैठक अनुरुप विधान अनुरुप नभएपनि भए हुने अनि अरुले चाहिँ मानिदिनुपर्ने ? त्यो त राजनीतिक रुपमा हाम्रो पार्टीको वैधानिक दृष्टिकोणबाट पनि स्वीकार हुन सक्दैन । ’ 

एमालेलाई एक ढिक्का बनाउनेबारे आगामी बैठक बसेर निर्णय गर्नुपर्र्नेे नेताहरुले बताएका छन तर अर्को बैठक कहिले बस्ने भन्नेबारे भने टुंगो नभएको नेताहरुको भनाइ छ । यसले नेकपा एमाले वार्तामा रिक्तता मेटनभन्दा तिक्तता पोख्नमैँ सीमित भएको प्रष्ट छ । तर रित्तक्ता नमेटिने र तिक्तता बढ्दै गएमा नेकपाबाट एमाले बनेको नेकपा एमाले पनि दुई चिरा पर्नेमा दुईमत छैन । तर तत्काल त्यस्तो सम्भावना पनि नभएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको भनाइ छ । उनले अनलाइन पानासँग भने –‘यो त घिउ बेचुवा र तरबार बेचुवाबीचको प्रसंग हो । एउटाले घिउ राम्रो अर्कोले तरबार राम्रो भनेर प्रचार गरिरहेका छन । दुवैको लक्ष्य सत्ता स्वार्थ हो । बाहिर प्रचारमात्रै अनेकन गरिरहेका छन ।’ डा. केसीले यस्तो बताए पनि प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको सरकार ढाल्न खुलेरै लागिपरेका नेपाल–खनाल पक्षलाई पेलेरै लैजाने नीतिमा रहेको बुझिएको छ जसको छनक उनले आइतबार एक टेलिभिजनमा दिएको अन्तर्वार्तामार्फत दिएका छन् । त्यसैले पनि सोमबारको वार्ता निष्कर्षविहीन बनेको थियो । वार्तापछि माधव नेपालले भने –‘वार्ता सुरुवातमा मीठो पछि टर्रो भयो ।’ 
सत्ताको नेतृत्वकर्ता दल नै आन्तरिक कलहमा लपेटिएपछि राजनीतिक सरगर्मी पेचिलो बन्दै गएको छ । 

 

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ९ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।