Logo
भिडियो

 माधव नेपालले केपी ओलीमाथि लगाएका १० आरोप (भिडियोसहित)


१.पार्टी लोकप्रियता ओलीले एकल बहादुरी सम्झिए
२. मदन भण्डारी फाउण्डेशनमार्फत गुटको खेती केपीले गरेका हुन ।
३. केपीमा ‘म नै पार्टी, म नै राष्ट्र’ भन्ने भ्रम छ ।
४.केपी कसरी के को प्रथम अध्यक्ष ? कसले सहमति गरेको हो ? खुुसुक्क सहमति गरेपछि पालना गर्नु पर्दैन ?
५. व्यक्ति संगठनको मातहत हुन्छ कि संगठन व्यक्तिको मातहत ?
६. कुर्सी बचाउन संविधान विरोधी काम गरेर अघि बढ्न मिल्छ ?
७. ओलीका साइबर स्यालहरुले भेलाबारे भ्रम फैलाए 
८. नियुक्ति, कार्यविभाजनमा पूर्वाग्रह राख्ने ? वैधानिक कमिटीको जिम्मेवारी किन खोसियो ?
९. २०७५ जेठ ३ मा पार्टी एकता हुनुअघि पार्टीका ९ बैठक भएका थिए । हामीलाई नडाकी गरिएको १० औं र ११ औं बैठक कहाँ कहिले भयो ?
१०. यो लडाईं पदको होइन, नीति विधानको हो । अग्निपरीक्षामा उत्तीर्ण हुन तयार छौं । 

नेकपा एमाले माधव–खनाल पक्षले ललितपुरमा राष्ट्रिय भेला आयोजना गरी कार्यकर्तामाझ अध्यक्ष केपी ओलीमाथि विभिन्न आरोप लगाएका छन् । पार्टीका जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता र देशभरका अगुवा कार्यकर्तामाझ एमालेका नेताहरुले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट विचार नीति र सिद्धान्तबाट दक्षिणपन्थी भासमा होमिएको भन्दै आलोचना गरे । कार्यकर्ता भेलामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाए । नेता नेपालले यो अवस्था आउनुमा ओली दोषी रहेको भन्दै सिद्धान्त नीति र विचार अनुकूल चल्नका लागि भेला गरिएको जानकारी दिए । उनले भने –‘यो लडाईँ पदको लागि होइन । सिद्धान्त, नीति र विधिको हो । विचार, इमान्दारीसँग जोडिएको छ । अग्निपरीक्षामा उत्तीर्ण हुन तयार छौँ ।’ उनले यसबारे एक भारी प्रमाण आफूसँग रहेको जानकारी दिए । 

सभामा नेता नेपालले प्रधानमन्त्री ओली नियुक्ति, सरुवामा र आफू निकटकालाई पूर्वाग्रह राखी कार्य विभाजन पनि सोही अनुरुप गरेर अघि बढेको आरोप लगाए । उनले भने –‘मदन भण्डारी फाउण्डेशनमार्फत गुटको खेती उहाँले नै गर्नुहुन्थ्यो ।’ नेता नेपालले ओलीमा आलोचना सुन्नै नचाहने गरी दम्भ पलाएको टिप्पणी गरे । ‘उहाँलाई भजनमण्डली मन पर्छ, आलोचना मन पर्दैन ।’ पार्टीको लोकप्रियतालाई व्यक्तिगत लोकप्रियता सम्झेर ओलीले भ्रम फैलाएको नेपालले बताए । उनले भने –‘पार्टीको लोकप्रियतालाई एकल बहादुरी सम्झनुभयो । उहाँ झूटको खेती गर्ने पक्षपाती नेता हो ।’ ‘उहाँले भन्नुभयो म सबैभन्दा माथि छु । व्यक्ति संगठनको माथि हुन्छ कि संगठन व्यक्तिभन्दा माथि हुन्छ ?’ उनले प्रतिप्रश्न गरे । नेता नेपालले ओलीले सहमति गर्ने तर पालना नगर्ने गरेको पनि आरोप लगाए । 

ओलीले कुर्सी बचाउन संविधान विरोधी काम गर्न पछि नपरेको भन्दै त्यसैकारण प्रतिनिधि सभा विघटन गरेको पनि आरोप लगाए । नेता नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताउने गरी अदालतले गरेको फैसलाप्रति पनि असन्तुष्टि जनाए । ‘जन्मेको बच्चा गर्भमै फर्काउने काम अदालतले गर्‍यो ।’ उनको गुनासो थियो । 

नेता नेपालले पार्टी विचार, सिद्धान्त विधि अनुरुप चल्न नसकेको भन्दै नयाँ परिस्थितिमा सबैसँग छलफल गरी अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले कार्यकर्तालाई भने –‘तपाईँहरु पनि पीडित हामी पनि पीडित, आज पीडित पीडित एक ठाउँमा भेला भएका छौं ।’

बाँकी भिडियोमा हेर्नुहोस् :