Logo

राजनीति

दलहरु अनिर्णयको बन्दी, सत्ताको साँचो को सँग ?



सत्ता गठबन्धनमा निर्णायक मानिएको जनता समाजवादी पार्टीले सत्ता र सरकारबारे विहीबार निर्णय गर्ने भनेपनि अन्तिम समयमा बैठक स्थगित गर्‍यो । तयारी नपुगेकाले बैठक स्थगित गरिएको भनिएपनि जसपा बैठकमा के निर्णय गर्ने भन्नेबारे नै अन्यौलमा रह्यो । जसपा नेता वृशेष चन्द्र लालले अनलाइनपानासँग भने –‘हाम्रो बैठक तयारी नपुगेकाले स्थगित गर्‍यौं ।’ सत्ता गठबन्धनमा निर्णायक मानिएको जसपा किन मौन त ? यसबारे लालको भनाई छ – ‘जबसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्दैन स्थिति बन्दैन । अहिले त बहुमतको सरकार छँदैछ नि । सरकारविरुद्ध हिजोका दिनमा आन्दोलन गरेको माओवादीले प्रतिनिधि सभा पुनःस्थापनापछि पनि सरकारलाई दिएको समर्थन यथावत राखेकाले वैकल्पिक सरकारको ढोकाखुलेको छैन । तसर्थ अहिल्यै निर्णय गर्ने कुरा भएन ।’ लालकाअनुसार जसपा नेतृत्व होडमा छैन । उनी भन्छन –‘हामीले नेतृत्व मागेका छैनौँ । मिडियाले बनाएका हुन । मुख्य कुरा हाम्रा मुद्दा सम्बोधन हो । यसबारे कुनै पनि दलले आफ्नो धारणा दिएका छैनन । हाम्रो मुद्दा सम्बोधनमा जुन दलले साथ दिन्छन, उसैलाई जसपाले समर्थन दिन्छ ।’

कांग्रेसको मौनता

आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भनेर घोषणा गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक प्रधानमन्त्रीका लागि कति पनि हतार गरेका छैनन । त्यसैले पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हालै पोखरामा पुगेर भने – ‘सभापतिको मौनता रहस्यपूर्ण छ ।’ देउवालाई पार्टी भित्रै सरकार ढाल्न र नेतृत्व गर्नका लागि अग्रसरता लिन दबाब परेपनि उनी यतिबेला मौन हुनुले पनि पौडेलको भनाईलाई बल पुगेको छ । तर कांग्रेस नेता डा. मिनेन्द्र रिजालले अनलाइनपानासँग भने –‘पहिले जसपाले निर्णय गर्नुपर्‍यो नि । अनि कांग्रेसले निर्णय लिन्छ । जसपा यत्तिकै चुप बस्ने अनि कांग्रेस र माओवादी मात्र तातेर हुन्छ ?’ 

अघिपछि भए सरकारमा जान र त्यसको नेतृत्व लिन कांग्रेसले कत्ति पनि ढिला गर्दैनथ्यो । यसबेला सभापति शेरबहादुर देउवालाई किस्तीमै प्रधानमन्त्री पद अन्य दलले अफर गरेपनि उनले चासो दिएका छैनन । कांग्रेस नेता बद्री पाण्डेको भनाईमा जसपाले निर्णय नदिएसम्म वर्तमान सरकार चलिरहन्छ । उनले अनलाइनपानासँग भने – ‘जसपाले निर्णय नगरेपछि अलिदिन पर्ख र हेरको अवस्था देखियो । जसपाले निर्णय नदिँदासम्म यस्तै अवस्था हुन्छ ।’

अनिर्णित माओवादी

यता सत्तारुढ नेकपा माओवादी केन्द्र सरकारबारे के गर्ने भन्ने बारेमा अनिर्णित छ । उसको केन्द्रीय कमिटी बैठक हठात् स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल मुडफ्रेस गर्न भन्दै सिन्धुलीतिर लागेका छन् । सिन्धुलीमा कार्यकर्तामाझ उनले गफ गरेको भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनले अरुलाई खेलाएर अघि बढन नसकिने रहेछ भनेका छन । उनले भनेका छन – ‘प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी भइरहेका बेला अदालतको फैसलाले समस्यामा पारेको छ । ’ 

त्यसो भए सरकारबाट हटाउन खोज्ने अनि समर्थन दिइराख्ने भन्नेबारे माओवादी संसदीय दलका नेतादेव गुरुङले अनलाइनपानासँग भने – ‘सत्ता गठबन्धनबारे पार्टीमा अहिले निर्णय भएको छैन । छलफलपछि मात्रै हामी निर्णय गर्छौँ । अहिले यसै भन्ने अवस्था छैन ।’

चुनावसम्म ओलीको विकल्प छैन त ?

आफ्नै पार्टीभित्रको एक खेमा अनि अन्य राजनीतिक दलले हटाउन चाहेपनि प्रधानमन्त्री ओलीलाई हटाएर वैकल्पिक सरकार गठन कसरी गर्ने भन्ने भेउ पाएका छैनन । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध जोडदार आन्दोलन गरे पनि सरकारलाई दिएको समर्थन यथावत राखेको छ । माओवादीले केन्द्रीय समिति बैठक राखेर आफ्ना मन्त्री सरकारबाट फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । त्यसैले प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्ता दिँदै भनेका छन –‘म यतिपपुलर रहेछु कि उहाँहरुलाई सबैभन्दा बढी मन नपरेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छैन ।’ कुरा यतिमा मात्र सीमित छैन बालुवाटारमा आयोजित चियापानमा प्रधानमन्त्री ओलीले भनेका छन – ‘अबको विकल्प ताजा जनादेश ।’ यसले पनि जनादेश नहोउञ्जेल यही सरकारले निरन्तरता पाउने त होइन ?

प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार  १० : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।