जागिरले सिकाएको पाठ

जागिरले सिकाएको पाठ

  • 2.9K
    SHARES

  • जागिरले सिकाएको पाठ

    गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ पोखरा गाउँ मेरो नाभी गाडिएकोे थलो । ताते गरेको त्यो ठाउँ, डाँडा, खोल्सो, तीनचौतारे चौर, पातालको वन, भुमेनाथ, हात्तिसुँडे, जय गुरुदेव, मनकामना मन्दिर, घार्चे, माडीको वन, रातोमाटे भीरमुनिका गैरीखेतसम्म मेरा कलिला पाइलाले धेरैपल्ट जमिन नापेको रिल बनेर मन मस्तिष्क हल्लाइरहन्छन ।

    बालवयमा गरिएका गोठालो, खेतालो, रोपाइँ, जात्राका स्मरणले अहिले मन चंगा बनेर उड्छ । मुहानको चिसो पानीले ज्यानमा छर्ने ताजगीले शहरका कोल्ड डिंग्स फिका बनाउँथ्यो । डेढ दशक जीवनका रहरलाग्दा बसन्त गोरखामा विताएपछि अभिभावकसंगै काठमाडौं भित्रिएँ । मसंग रहर र कहर दुवै थिए । काम गरेर परिवारलाई सघाउने इच्छा र पढेर ‘ठूलो’ मानिस बन्ने भोक तँछाड मछाड गर्थे ।

    images

    हरेक मान्छेलाई सपना देख्ने छूट छ ।  स्वाभाविक थियो, मैले पनि देखें । टीभी, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल- सञ्चालनमा पत्रकारले निभाएको भूमिकाबाट सानैदेखि आकर्षित थिएँ । समाजको सूचक बन्ने जिम्मेवारी लोभलाग्दो लाग्थ्यो । एउटा अब्बल पत्रकार बन्ने भोकले निरन्तर पछ्याउँथ्यो । आखिर ‘तँ चिता, म पुर्याउँछु’ भने झैं पत्रकारिताको सगरमा होमिएँ । नसुती देखेको सपना पूरा गर्न तन, मन दिएर लाग्ने संकल्पले मलाई पत्रकारितामा पुर्याएको हो । इच्छाशक्तिका अगाडि नाफा, घाटाको हिसाव नहुने रहेछ ।

    मेरो हकमा पनि त्यही भयो । विहानको कलेज थियो । तर कलेज बन्द रहेको समय सदुपयोग गर्ने उद्देश्यले एउटा न्यूज पोर्टलमा विहानकै ड्यूटी मञ्जुर गरी काम गर्न थालें । पुसमा जागिरको फाइनल भएको थियो । बसाई सिनामंगल, जागिर सूर्यविनायकको । डयूटीको पहिलो सर्त नै विहान ६ बजे पुगेर न्यूज अपडेट गर्नुपर्नेे थियो । ११ कक्षा पढ्नेलाई रोजाइको जागिर कसले दिन्थ्यो र ? पाएको जागिरको हालत यस्तो थियो । म तारा नखस्दै गाडीको पखाईमा निस्कन्थे । सडक सुनसान हुन्थ्यो । हुस्सुले वरपर कतै देखिदैनथ्यो । डर लाग्थ्यो तर भित्रभित्रै दबाउँथे । मेरो तालले घर परिवारमा तनाव थपिएको सहजै अनुमान गर्थें । यद्यपि मसंग रोजाइका बाटाहरु सीमित थिए । पहिलो पाइलामै हडबडाएँ भने गन्तव्य सधैंका लागि टाढा हुन्छ भन्नेमा सचेत थिएँ । 

    सडकमा कक्रिएको धेरै समयपछि गाडी आउँथ्यो । तर खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो । सिनामंगलबाट हिँडेको गाडी कोटेश्वर चोकमा पुगेपछि मजाले सुस्ताएर बस्थ्यो । गाडीका स्टाफलाई कुनै हतारो थिएन । जाउँ न छिटो भनेर आग्रह गर्दा सहचालकले जवाफ फर्काउँथे– ‘हतार हुने, भीडभाड थेग्न नसक्ने ट्याक्सीमा जानू ।’ यस्तो जवाफपछि सासको गति झन्झन् बढेर आउँथ्यो । हिँडेपछि पनि जामको चटारोले उतिनै सताउँथ्यो । गाडीभित्र भोग्नुपर्ने शारीरिक, मानसिक आतंक भनिसाध्य थिएन ।  यति हुँदाहुँदै पनि सार्वजनिक यातायातका साधन उपयोग गर्नु मेरो पहिलो र अन्तिम उपाय थियो । एकदिन, दुईदिन मात्र हैन, तोकिएको समयमा अफिस पुग्ने मेरो सपना मृगतृष्णाजस्तै बन्यो ।

    समयको पावन्दी नै ममाथि आक्रमणको तारो बन्यो । मेरा कारण म अफिस पुग्न ढिलो भएको थिएन । यातायात व्यवस्था नै त्यस्तै भएपछि म के गरौं ? अफिसका सञ्चालकले गाडीको समस्यालाई व्यक्तिगत भनेर आक्रमणको तीर सोझ्याउन थाल्नुभयो । समय पालन गर्न नसकेको भन्दै प्रत्येक बैठकको एजेण्डा म बन्न थालें । उहाँहरुले चन्दा उठाएर तरकारी पसल खोलिदिने भन्न सम्म भ्याउनुभयो ।

    सरहरुको निष्कर्ष थियो–‘पत्रकारिता मेरो बुँताको विषय होइन ।’ टेबलमा घोप्टिएर कयौं दिन आँसु पिउँथे । भित्रभित्रै रुन्थें । आखिर मैले रोजेको विषय थियो । दोष दिएर उम्किने अवस्था थिएन । साँच्चै भन्ने हो भने यो मेरो अग्निपरीक्षा थियो । न भात खाने टुंगो, न खाजा खाने ठेगान । आर्थिक अवस्था यति जीर्ण थियो कि कतिपय बेला त फर्कने भाडासम्म हुन्नथ्यो । यति हुँदाहुँदै पनि सपना जीवित राख्ने दृढ संकल्प थियो । 

    भनिन्छ– देशको सामाजिक व्यवस्था कस्तो छ भनेर जान्न सडक हेरे पुग्छ । सडकसंग मेरो जागिर प्रत्यक्ष जोडिएकाले त्यसको आफूलाई साक्षी मान्छु । घरबाट कलकलाउँदो रायोको सागजस्तै ताजा निस्कने म फर्कंदा गुन्द्रुक हुन्थें । ममाथि गालीका वर्षा झन्झन् पेचिला बन्न थाले । मेरो शैली होटलमा चियाकप सफा गर्न योग्य नरहेको उहाँहरुको टिप्पणी हुन्थ्यो । सिक्ने बेलाको उत्सुक मस्तिष्क ओइलाएको महशूस गर्न थालें । घरायसी आर्थिक दुरावस्थाका कारण मान, अपमान, भुक्तमानबाट विचलित हुने छूट मलाई थिएन । सिकाइको पहिलो खुडकिलो नै मेरा लागि प्रियकर भएन । सिकाउने सदाउने काम हुुनु सट्टा काँडारुपी बचनबाट विभूषित हुन्थें । काँडा विछ्याइएको बाटोमा यात्रा गरेको एक वर्ष वितेछ । 

    दिनभरिको थकाइ, मानसिक तनावले मलाई विरामीजस्तै बनाउँथ्यो । प्रतिकूल अवस्था झेल्दाझेल्दै घर पुग्दा सन्तुष्ट भएको अभिनय गर्नुपर्ने अर्को दबाब थियो । यो एकाध पटकको थिएन, नित्यकर्म थियो । चराचर हेर्दै गएँ, बुझ्दै गएँ । यी हरेक घटनाले मलाई अझ शक्तिशाली बनाउँदै लगेको रहेछ । किताबको पढाइभन्दा माटो र बाटोको सिकाइ शक्तिशाली हुने रहेछ । आखिर महँगो धातु सुनको अग्निपरीक्षा आगोको लप्काले लिन्छ । आदर्श नारी सीताले अग्निपरीक्षा दिएकै हुन् ।

    भगवानको रुप धारण नगरेसम्म भगवानको मूर्तिले पनि घनको आक्रमण सहनै पर्छ । फराकिलो भएर हेर्दा सतप्रतिशत मिलेको कहीँ पनि भेटिन्न । अहिले त मलाई लाग्छ, समस्या आफैंमा समस्या नभएर समस्यालाई हेर्ने दृष्टिकोण चाहीँ ठूलो समस्या रहेछ । दिनरात रहेसम्म यस्ता दृश्य स्वाभाविक रहेछन् । अन्धकारसंग पौंठेजोरी खेल्न सके मात्र उज्यालोसंग साक्षात्कार हुन्छ । आखिर मानिसको जीवनको चक्र पनि यही पेरिफेरिमा घुम्ने रहेछ । 

    मंगलवार, चैत्र १० २०७७११:४९:०६

    सुजाता अम्गाई

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै