नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

  • 514
    SHARES

  • नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

     नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १३औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ ।

    त्रिभुवन आर्मी अफिसर्श क्लब, काठमाडौमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रूपैयाँ (४० प्रतिशत)का दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

    images

    साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरूको उपस्थिति रहेको सभाले आर्थिक वर्ष २०७६/७७ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

    यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेन्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नाका साथै पारिश्रमिक समेत तोकेको छ ।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रूपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रूपमा निर्वाचित भएको भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।

    सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १३औं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको बताउँदै शेयरधनीलाई आकर्षक प्रतिफल उपलब्ध गराएको बताए ।

    दूरसञ्चार सेवालाई आर्थिक विकासको संवाहकको रूपमा स्वीकार गरिएको सन्दर्भमा कम्पनीले कर राजस्व संकलन, डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणा साकार पार्न लाग्नाका साथै ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पुर्याउँदै आएको अध्यक्ष बस्यालको भनाइ छ ।

    मूलतः कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको उनले बताएका छन् ।

    लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छूट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड रूपैयाँ र कर्मचारीको तर्फबाट २ करोड रूपैयाँ गरी जम्मा १२ करोड योगदान गरेको अध्यक्ष बस्यालले जानकारी दिएका छन् ।

    शनिवार, चैत्र १४ २०७७१०:४४:४८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै