Logo

राजनीति

रिमोट राजनीति 



पृथ्वीनारायण शाहले नेपालको भौगोलिक अवस्थितिको व्याख्या गर्दै भनेका थिए– ‘यो दुई ढुंगाको तरुल हो ।’ कालान्तरमा नेपाली राजनीतिका अग्रपुरुष बीपी कोइरालाले थप व्याख्या गर्दै भने– ‘नेपाल दुई ठूला अजंग हात्तीबीच सुतिरहेको जीवित मानिस हो ।’ स्वाधीन नेपालको विषयमा इतिहासका धेरै ठूला ग्रन्थ तयार भएका छन् । दुई ठूला छिमेकीको तस्विर देखाएर हौवा फिजाउने र मल्हम लगाउने दुवै खाले खेती वर्षौंदेखि चलेकै छ । कुनै बेला भारत वर्ष एउटा सभ्यता थियो । त्यो सभ्यता मानव इतिहासकै मानक थियो ।

कतिसम्म भने अमेरिका पत्ता लगाउने कोलम्बस भारत वर्ष प्रस्थान गरेका थिए । अनमोल धातु हात पार्ने लोभले उनी यता बढ्दै थिए । दुर्भाग्यवश सामुद्रिक जहाजको कम्पास बिग्रिएपछि उनको यात्रा अन्यत्र मोडियो । कम्पास बिग्रिएपछि विकसित घटनाक्रमले उनलाई नयाँ मुलुक अमेरिका पुर्याएको हो । त्यो समृद्धिको सपना फेरि यसक्षेत्रमा फर्किएको छ । विश्वको आधा जनसंख्या एशियाले धानेको छ । अझ भारत र चीनको बजार विना संसारले उत्पादन गर्ने कुनै पनि वस्तुको पहुँच अपुरो हुन्छ । यी दुई देशबीच रहेको नेपाल रेफ्री हुने कि त्राहिमाम भएर दिन कटनी गर्ने यसको छिनोफानो हुन ढिला भइसकेको छ । 

नेपाल स्वाधीन राष्ट्र थियो, छ र रहनेमा दुईमत छैन । स्वाधीन देशमा पराधीन मानसिकता हावी हुनुको मनोविज्ञान विचित्र छ । यहाँको राजनीतिक नेतृत्वले देशको माटो सुहाउँदो, नेपाली चरित्र बुझ्दो निर्णय किमार्थ लिन सकेन ।

राष्ट्रको उत्पतिदेखि अहिलेसम्म सार्वभौम मुलुकको इज्जत बनाएको नेपालले त्यो इज्जत निर्वाह गर्ने नेतृत्व नपाएको प्रष्ट छ । दक्षिण एशियाका अधिकांश मुलुक पराधीन रहँदा नेपालमा स्वतन्त्रताको झण्डा फराएको थियो ।

अहिले विकास र समृद्धिको कुरा गर्दा काठमाडौंको फर्पिङमा बिजुली निकाल्दा विश्वकै अधिकांश भूभाग टुकी युगमै थियो । हामीले चामल पठाएर पेट भर्ने मुलुक दोहोरो अंकको आर्थिक वृद्धिको सिंढी चढिरहँदा हाम्रो अर्थतन्त्र खुम्चिने क्रम तीब्र छ । नेपाल वायुसेवासंगै विश्व जोड्ने यात्रामा निस्किएको थाई एयरसंग सयभन्दा बढी बोइङ र एयरबस छ । हामीसंग दुईवटा जहाज छन । सुशासनका सूचक निर्वल छन । नेताहरुको भाषणले ब्रम्हाण्ड परिक्रमा गरेपनि चुरो यथार्थ साँच्चै दुर्भाग्यपूर्ण अवस्थामा छ । अर्को वर्षको नीति तथा कार्यक्रम आउन दुई महिना बाँकी रहँदा विकास बजेट १३ प्रतिशतमा सीमित छ । साधारण खर्चले सीमा नाघिसकेको छ ।

कतिसम्म भने पशुपतिमा रहेका बाँदर समेत भारत सरकारको उपहारमा नेपाल ल्याइएको इतिहासमा उल्लेख छ । परनिर्भरताको बीउ त्यतिबेलै रोपिएको यो एउटा प्रमाण हो । काठमाडौंबासीले टमाटरको अचारमा पिसेर खाने हरियो धनियाँ समेत भारतीय बजारमा निर्भर रहनुपरेको वर्तमान हो । सम्पूर्ण बजेट अधिकांश अंक व्यापार घाटाको टालटुलमै सकिने गरेको छ । आर्थिक परनिर्भरताको जमिन राजनीतिक परनिर्भरताबाट आरम्भ हुन्छ । ‘सबै हुने उतैबाट त हो ।’ तलदेखि माथिसम्म बुझाइको एकरुपता यही नै हो ।

भनिन्छ– नेपालको राजनीतिक सिंहासनमा स्थापित गराउने दुई शक्ति हुन । पहिलो भारत, दोस्रो दरबार । दरबार सकिएपछि त्यो दायरा खुम्चिएर एउटामा सीमित भएको बुझ्नुपर्ने हो । तर मुलुक संघीयतामा गएसंगै यहाँको राजनीतिमा स्वामित्व लिनेहरुको आकार फैलिएको छ । शक्ति राष्ट्रहरुको शक्तिसंघर्षमा नेपाल जानी नजानी प्रयोग हुन थालेको छ । युरोपेली मुलुकको आफ्नै दाउपेच छ ।

विश्वमा कम्युनिष्ट शासन अन्त्य हुँदै जाँदा छिमेकी देश चीन यहाँको कम्युनिष्ट शासनको विरासतलाई सुरक्षित राख्न हर प्रयाश गरिरहन्छ । भारत त सनातनदेखि नै यहाँको आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा आफ्नो उपस्थित चाहन्छ । रोटीबेटीको साइनोभित्र हजार जीब्रो भएको शेषनागले व्याख्या गरेर नभ्याउने अन्तरकथा लुकेका छन । 

नेपालका सबै राजनीतिक दलभित्र अनेक गुट छन । गुटभित्र शक्तिकेन्द्रका मानिसको वर्चश्व छन । उनीहरु लुकेर हैन, खुलेआम आफूले भलो चिताउने गरेको निकायको धारणाबारे बहस गर्छन् । पार्टी केन्द्रीय समिति मात्र हैन, मन्त्रिपरिषद्को बैठकका निर्णय सरकारका निकायभन्दा पहिले अन्यत्र पुगिसकेका हुन्छन । यो रोग अहिलेको होइन । ०७ सालअघि नै कांग्रेस केन्द्रीय समितिको निर्णय मसी नसुक्दै मोहनशम्शेरको कानमा पुग्थ्यो । मोहनशम्शेरले भनेपछि वीपी झसंग हुन्थे । त्यो बेला त मन्त्रिपरिषद्को बैठकमै भारतीय दूत बस्ने गरेको इतिहासमा उल्लेख छ ।

नेपालका हरेक क्रान्तिको निर्णायक भारतीय राजनीतिको संस्थापन पक्ष हुने गरेको तथ्य भेटन कठिन छैन । राणाविरोधी मोर्चाका राजनीतिक शक्तिकेन्द्रले पाल्पा लैजान ठीक्क पारेको राजा त्रिभुवनलाई भारतीय दुतावासमा लगी विशेष वायुयानबाट भारत पुर्याउनुपछिको राजनीतिभित्र थुप्रै खेल छन् । यही खेलको एउटा दृश्य थियो बाउभन्दा पहिला ज्ञानेन्द्र शाह राजा हुनु  । ०७ सालको क्रान्ति सफल भएपछि निर्मित सरकारले कोशी सम्झौता गरी आफ्नै भूमि १ सय ९९ वर्षका लागि भारतलाई सुम्पिने काम सम्पन्न भयो । 

भारत, चीन, अमेरिका, युरोपेली या अन्य कुनै शक्तिलाई दोष थोपरेर हामी पानीमाथि ओभानो बन्ने अवस्था छैन । नेपाली राजनीतिक नेतृत्वको नियत खोटो कि नियति बैरी त्यसको लेखाजोखा हुन जरुरी छ । कुर्सीमा पुर्याउने पनि अरु, खँदार्ने पनि अरु । संविधान बनाउने पनि अदृश्य शक्ति, मिच्न सिकाउने पनि अदृश्य । मिल्न शूत्र दिने अरु, बाझ्न निहुँ झिक्ने पनि अरु नै । यसरी रिमोटमा चल्नुपर्ने बाध्यताको प्रारम्भ कहाँबाट भयो ? राजनीति नेपालको, भविष्य नेपालीको तर इतिहासका शब्द अरुका विषयमा चर्चा गरेर किन सकिन्छ ?

भारतीय नेताहरु जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी, मनमोहनसिंह हुँदै नरेन्द्र मोदीसम्म आउँदाका घटनाक्रम आफैंमा आश्चर्य लाग्दा छन् । राणा विरुद्ध जेहाद छेड्दा दलहरुको भारतप्रति उदारमना अस्वाभाविक लाग्छ । राणा शासन अन्त्यपछि मातृका र बीपी दाजुभाइको शक्ति संघर्ष उस्तै गरी दाँतमा लागेको ढुंगाजस्तै पीडादायी देखिन्छ । भारतसंग सम्बन्ध राम्रो बनाएर यता दादागिरी चलाउने उताको सम्बन्ध बिग्रिएपछि राष्ट्रियताको ढोल बजाउने पुरानै रोग हो । बीपीले राजासंग मिलनको आमन्त्रण गर्दै लिएको मेलमिलापको नीति होस या प्रचण्डको शान्तिप्रक्रियामा अवतरण दुवैको सारविन्दु उही हो ।

प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार  ४ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।