नेताको पाउमा समर्पित अक्षर

नेताको पाउमा समर्पित अक्षर

  • 829
    SHARES

  • नेताको पाउमा समर्पित अक्षर

    नेपाली पत्रकारिता धेरै समय ‘मिसन’मा अल्मलियो । जब राजनीतिक दलहरु लोकतन्त्रको लडाईंमा थिए, त्यतिबेला पत्रकारिता तिनै दलहरुको सहयात्री थियो । अक्षरको युद्ध लडेको थियो । पञ्चायत विरोधी आन्दोलनदेखि लोकतन्त्र, गणतन्त्र, संघीयता सम्पूर्ण परिवर्तनको बाहक बनेर प्रेसले आफ्नो सक्रियता देखायो । प्रेसमार्फत जनताको आवाज बोल्नेहरु जेलनेल गए । आवाजको रक्षाका खातिर कतिले साहदत प्राप्त गरे । माओवादी युद्धताका पनि यो प्रकरण दोहोरियो । जनताले खोजेको परिवर्तन आएकै हो । सबैले अविर दलेर खुशी मनाएकै हुन । अब अर्को पुस्ताले लोकतन्त्रका लागि लड्नु पर्दैन भनेर नेताहरुले शंखघोष गरेकै हुन । संविधानले नै प्रेसलाई चौथो अंगका रुपमा स्वीकार गरेपछि अब प्रेस व्यावसायिक हुँदै स्वतन्त्र र जिम्मेवार हुन्छ भन्ने धेरैको अपेक्षा थियो । 

    नेपाली पत्रकारिता ६६ औं वर्षमा प्रवेश गर्दै जाँदा दुख, पीडा र संघर्षका कथा उही छन । मिसन पत्रकारिताबाट मुक्ति पाउनुको साटो दलीय स्वार्थबाट ओरालो झरेर पत्रकार गुट र व्यक्तिका मसिहा हुन थालेका छन । आजभन्दा ६२ वर्षअघि स्वस्थ आलोचनाका लागि कम्युनिष्ट पार्टीका सदस्य मदनमणि दीक्षितलाई महिनाको ६ सय रुपियाँ दिएर ‘समीक्षा’ पत्रिका चलाउन लगाउने बीपी कोइरालाको रणनीति अहिले ठीक उल्टो बन्दै गएको छ । बरु कसैको भातपानी ठेक्का लिएर प्रशंसाको गीता गाउन लगाउने प्रवृत्ति आम बन्दैछ । पत्रकारको संख्या दर्जन, सय  हुँदै हजारौं पुगिसकेको छ । एफएम रेडियो देशभरि छन । पत्रिका त्यतिकै संख्यामा छ । अनलाइन पत्रिका र अनलाइन टीभीको बजार ह्वात्तै बढेको छ । पकेट पकेटका मिडिया सल्लाहकार बढेका छन । वडासम्म मिडियाका खेलाडी छन । मुलुक संघीय यात्रामा प्रवेश गरेसंगै राजनीति र पत्रकारिता घोलिएको छ । पत्रकारको योग्यता नेताको विवेकले निर्धारण गर्छ । पत्रकार महासंघको नेतृत्व नेताको दैलोबाट फैसला हुन्छ । संसदको चुनावमा सांसदका लागि जुन किसिमले टिकट बाँडिन्छ, पत्रकारको चुनाव पनि सक्कल बम्मोजिम नक्कल त्यही रुप देख्न पाइन्छ ।

    images

    पत्रकारिता र राजनीति अलग बाटा हुन । लोकतन्त्रसंग मात्र पत्रकारिताको साइनो हुन्छ । वास्तवमा लोकतन्त्रको जमिनमा पत्रकारिताको विरुवा फस्टाउने हो । यहाँको लोकतन्त्रले त्यो बाटो सधैंका लागि बन्द गरेको छ । आमसञ्चारको सटरका मालिक नेता छन । ठूला मिडिया हाउसका सम्पादक सत्ता र शक्तिको सापेक्षमा नियुक्त हुन्छन । सरकारी संस्थाहरुमा भर्ती ‘जिसका सिता खाएगा, उसका गीता गाएगा’को शैलीमा अघि बढेको देखिन्छ । जुन पार्टी आयो, उसको भक्तिगान गाउनेहरु योग्य र देशको सम्मान पाउने कोटीका हुन्छन । नेताको आर्शिर्वाद व्यक्ति विकासको फूलप्रसाद बन्ने गरेको छ । नेपाली पत्रकारिताले सुधार चाहेको बिन्दु यही हो । तर यही समस्या दिनप्रतिदिन सघन र पेचिलो बन्दो छ । यही शैली र प्रवृत्ति शासकका लागि प्रियकर बन्दै गएको छ । 

    दलैपिच्छेका पत्रकार संघ संगठन छन । तिनीहरुको दैनिकी मिनी पार्टी कार्यालय नै हो । उनीहरुको स्वामी कलम नभएर नेता हुन । सूचनाको अपडेट, अपग्रेड नेताले खाएको, लाएको बुझ्नु नै हो । नेपाली प्रेस दिनप्रतिदिन राजनीतिक दलका कार्यकर्ताहरुको अखडा बन्दै गएको छ । त्यसलाई नियन्त्रण गर्नेभन्दा पनि मलजलका काम प्रशस्त हुने गरेका छन् । अबको निकास के ? कार्पेटमुनिका समस्या निकालेर त्यसको समाधान कसरी खोजिएला ? पत्रकारलाई राजनीति र राजनीतिलाई पत्रकारितामा गिजोल्ने यो खेलको अन्त्य कहिले होला ? संविधानले चौथो अंगको मान्यता दिएपनि व्यवहार झन्झन् भद्दा हुन थालेको छ । एक्काइशौं शताब्दीको सभ्य युगमा पत्रकारिताको यो विरुप दृश्यले सबैलाई गिज्याउँछ ।

    सोमवार, चैत्र १६ २०७७०६:२७:१७

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै