प्रीमा नेपाल कसरी भइन् सन्यासी ?

प्रीमा नेपाल कसरी भइन् सन्यासी ?

  • 721
    SHARES

  • प्रीमा नेपाल कसरी भइन् सन्यासी ?

    एउटा ढुंगा छिनोको प्रहार खप्दा खप्दा देउतामा अनुवाद हुन्छ । छिनोको प्रहार खप्न नसक्ने ढुंगाको हैसियत आँगन र बलेसीभन्दा माथि पुग्दैन । कालो अन्धकार रात च्यातिएपछि सूर्योदयको लालिमाले धरामा प्रवेश गर्ने हो । मान्छेको जीवनमा पनि त्यही परिभाषा लागू हुन्छ । मोरङको रमाइलोमा जन्मिएकी एउटी बालिकाको जीवनकथा पनि त्यही ढुंगासंग मेल खान्छ ।

    २०४५ साल भदौ १ गते आँखा उघारेकी बालिकाको नाम बाबुआमा तीर्थ र रमाले लाडप्यारमा ‘प्रीमा नेपाल’ राखिदिए । तर नियतिलाई त्यो मञ्जुर भएन । बरु उनी धुरन्धर विदुषी बनिन् । मानव सेवाको अग्रदूत भइन । हजारौं सहाराविहीनको टेक्ने लौरो भएर जीवन दिइन । टुहुराले आमा पाए । निर्धो र एकांकी जीवन बाँचेका बृद्धहरुले भरलाग्दी छोरी पाए । देशले समाज सुधारक पायो । 

    images

    मध्यमवर्गीय परिवारकी एउटी सदस्य साधिका कसरी बनिन् ? यसभित्र हिन्दी सिनेमा पनि फिका लाग्ने कहालीलाग्दो पृष्ठभूमि छ । प्रीमा अत्यन्त चतुर बालिका थिइन् । पढ्नमा कहिल्यै दोस्रो भइनन् । तीन सन्तान मध्येकी एक्ली छोरीलाई कुशल डाक्टर बनाउने बाउ आमाको सपना थियो । पण्डित हजुरबा श्रीप्रसाद नेपाल चाहान्थे– नातिनी व्यासासनमा बसेर भागवत गीता बाचन गर्ने कुशल बाचक बनोस् । हुन पनि १२ वर्षमै एसएलसी पास गरेपछि पठनपाठनको यात्रा सोझियो ।

    उनी काठमाडौं आइन् । ११, १२ मा पनि उच्च अंक ल्याइन् । गणित, अंग्रेजी र नृत्य विषय लिएर प्रीमाले स्नातक उतिर्ण गरिन् । भविष्यका बारेमा योजना बुन्दै थिइन् । यसैबेला विवाहको प्रस्ताव आयो । आफैंले रोजेको ब्वाइफ्रेण्ड वा साथीभाईको च्यानलबाट प्रस्ताव आएको थिएन । आफ्नै जन्मदिने बाआमाले उनको कानमा यो कुरा पुर्याएका थिए । शायद आफ्नो कर्तव्य पूरा गरिदिने हतारोमा उनीहरु थिए । पहिले त प्रीमाले अस्वीकार गरिन् । अन्तिममा बाआमाको ढिपीका अघिल्तिर उनको केही लागेन । १७ वर्षको उमेरमा विवाह भयो ।

    सामान्यत विवाहलाई नारीको जीवन शुरु भएको साइत मानिन्छ । तर प्रीमाका लागि विवाहले अभिषप्त जीवनको ढोका उघार्यो । जसलाई उनले ‘पति’को सम्मान दिएर शिरमा राख्नुपर्ने थियो, उनी मानसिक रोगका शिकार रहेछन् । मानसिक रोगी पतिसंगको सहयात्रा नरकयात्रा सावित हुँदै गयो । विवाहअघि नै ग्यालेक्सी स्कुलमा प्रीमा पढाउँथिन् । बाबुआमाको लाडप्यारमा हुर्किएकी प्रीमा एकाएक आफ्नै ज्यान कसरी बचाउने भन्ने रक्षात्मक अवस्थामा पुगिन् । रातदिन शारीरिक र मानसिक यातनाबाट पीडित हुन थालिन् ।

    दुख झेलेरै भएपनि पढाउने कर्म छोडिनन् । पति तरबार लिएर काट्न छोप्थे । राती जंगलमा लगेर मार्न लागेको अवस्थाबाट भागेर ज्यान बचाइन् । हात चुरोटको आगोले पोलेर विरुप बनाइएको थियो । पीडाले सीमा नाघ्यो । डिप्रेसन बढ्यो । यस्तो अवस्था हुँदा पनि आफ्नो भाग्य सम्झिएर माइतीलाई पीडा शेयर गरिनन् । उदासीन यति उत्कर्षमा पुग्यो कि मर्नु नै अन्तिम विकल्प हो भन्ने सत्यमा अडिग भइन् । विहे गरेको ७ वर्ष भइसकेको थियो । यसैबीच उनले एउटा छोरालाई जन्म दिएकी थिइन् । आजित भएपछि छोरो छोडेर १६५ वटा निद्रा लाग्ने औषधी लिएर प्राणत्यागको बाटो खोज्न पशुपतिको जंगल पुगिन् । एउटा हातमा  औषधी र अर्को हातमा पानीको बोतल थियो । औषधी खानै लाग्दा ग्यालेक्सी स्कुलको नम्बरबाट फोन आयो । उताबाट बोल्ने मानिसले भन्यो– ‘तपाईंको छोरो सिकिस्त विरामी छ । तुरुन्त आउनुस् ।’ आमाको मन किन सम्हालिन्थ्यो र, औषधी मिल्काएर पुगिन छोरो भेटन । सिनेमा दृश्य परिवर्तन भएसंगै आत्महत्या गर्ने कोर्स पनि बद्लियो । छोराकै लागि जीजिविषाको बीउ रोपियो । 

    छोरो पाँच वर्षको थियो । अचम्म के भयो भने छोराले बालसुलभ शैलीमा सम्झाउँदै भन्यो– ‘मेरो चिन्ता नगर्नुस् । मलाई हजुरको काखको लाडप्यार चाहिँदैन । भगवानले जन्माएपछि हुर्काउने काम पनि गर्नुहुन्छ । म हजुरबा हजुरआमासंग बसेर संस्कार सिक्छु । बरु तपाईं यसरी अघि बढ्नुस कि तपाईंको छोरो भन्दा मलाई गर्व होस् ।’ पाँच वर्षीय छोराको यो वाक्य कुनै धर्मगुरुको आर्शिवचनभन्दा कम थिएन । अब पछाडि नफर्कने निर्णय गरेर प्रीमा हजुरबाले देखाएको बाटोमा अघि बढिन् । त्यसपछि उनी बाँकी अध्ययनका लागि भारतको  धार्मिक धाम मथुरा पुगिन् । भागवतचार्य गरेपछि भारतमै पुराणमा बाचकको अभ्यास थालिन् । कपाल खौरेर आफ्नो किरिया आफैं गरी पूर्ण सन्यासी भइन् ।

    अब प्रीमाबाट नाम बदलिएर राधादासीजी भयो । थोरै समयमा उनको लोकप्रियता चुलियो । त्यहाँका धार्मिक संस्थाहरुले गाडीको सुविधासहित करोडौं रुपैयाँको पारिश्रमिक प्रस्ताव गरे । उनले आफैंले आफैंलाई प्रश्न गरिन्– मेरो संघर्ष आफ्नो व्यक्तिगत सुविधाको लागि थियो त ? के आफू जन्मिएको समाजप्रति मेरो कुनै दायित्व छैन ? मेरो जस्तै दुख झेलिरहेका नारीले अब आँसुको त्यो कथा लेख्न नपर्ने बनाउन मैले भूमिका खेल्न पर्दैन ? अन्तरआत्माले भन्यो– ‘अहँ हुँदैन । तैंले समाजमा बाटो देखाउनुपर्छ । आफूले पाएजस्तो दुख अरु नारीले पाउनु हुँदैन ।’ तत्काल नेपाल फर्किएर सेवामा लागिन । धार्मिक प्रवचन भएपनि उनी आफूलाई ‘मोटिभेसनल स्पीकर’ भन्न रुचाउँछिन् । प्रीमा नेपाली, हिन्दी र अंग्रेजीमा धाराप्रवाह प्रवचन दिन्छिन् । अब त देश विदेशमा प्रीमाको मुखराविन्दबाट बाचन हुने भागवतका लागि बाक्लो माग छ । देशकै राष्ट्रिय स्तरका पुरस्कार उनले हात पारिसकेकी छन् । 


    भागवत बाचनबाट  मात्र प्रीमाको भोक मेटिएन । जातीय थर नेपाल मात्र होइन, देशकै छोरी बन्ने महाअभियानमा उनी लागिन् । यसका लागि प्रीमाकै नेतृत्वमा सुनसरीको इटहरीमा ‘माया घर, नेपाल’ भन्ने संस्था जन्मियो । सडकमा बेवारिसे जीवन गुजारिरहेका मानसिक रोगी बृद्धबृद्धा, बालबच्चालाई आश्रय र उपचारको अभियान थालिन् । आफ्नो कमाइ र शुभेच्छुकको दान उनका आधार थिए । ०७४ सालमा जन्मिएको यो संस्थामा अहिले १ सय २५ जना आश्रय लिइरहेका छन् । हजार बढीले उपचार सेवा पाएका छन् । माया घरमा आश्रित ८० प्रतिशत मानसिक रोगी छन् । एक सन्तानकी आमा सयौं सन्तानकी आमा भइन् ।

    राधादासी भएपछि उनका दुईवटा भूमिका छन । एउटा व्यसासनकी राधादासी अर्की संस्थाकी ममतामयी आमा । यी दुइवटै भूमिका उनलाई सिक्काका दुईपाटा लाग्छ । उनको सदिच्छा छ– माया नपाएर कोही मानिस घरबार हुन नपरोस । पुराण बाचनसंगै काम, कर्तव्य र संस्कारका विषयमा टिप्स बाँडछिन् । माया घरमै उनको बास छ । दाताले दिएको सहयोग र आफ्नो कमाइबाट संस्था बाँचेको छ । कोभिडपछि भएको लकडाउनमा त संस्था चलाउन ऋण लिनुपर्ने अवस्था नै आयो । आफ्नो जीवनमा आएको रुपान्तरणका विषयमा खुल्ला कितावझैं खुल्छिन । सन्यासी जीवन धारण गरेको मानिससंग सत्य सिवाय अरु केही नहुने जिकिर उनको छ । राधादासी भन्छिन– ‘विगत मेरा लागि विर्सनयोग्य सपना हो । त्यो दुखपीडाले मलाई ढलोटपछि निस्किएको मूर्तिको आकृतिजस्तै बनायो । जीवनको महत्व पढायो । विशिष्ट कर्म दिलायो । नाम दिलायो । अझ भनौं सन्तुष्टि जीवन बाँच्ने परमार्थी बाटोको बीजारोपण गरिदियो । वैवाहिक जीवन सामान्य भइदिएको भए एउटा गृहिणीभन्दा माथि मेरो परिचय उठ्ने थिएन ।’  

    Radhika dassi.jpgshrima 3.jpgShrima 4.jpgsrim Nepal 2.jpg

    शनिवार, चैत्र २१ २०७७०३:४९:४०

    संकेत कोइराला

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै