भ्यागुताको धार्नी बन्दै सरकार निर्माणको खेल

भ्यागुताको धार्नी बन्दै सरकार निर्माणको खेल

  • 1.2K
    SHARES

  • भ्यागुताको धार्नी बन्दै सरकार निर्माणको खेल

    चैत्र २० मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भनेर निर्णय गर्‍यो । कांग्रेस पदाधिकारीले निर्णय गरेसँगै सदनमा पनि सांसदहरुले जोडतोडका साथ राजीनामाको प्रसंग कोट्याउन थालेका छन । सोमबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस नेतृ डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद सर्वोच्चले संसद पुनःस्थापना गरेपछि शासन चलाउने नैतिकता गुमाइसकेकाले राजीनामा नै उत्तम विकल्प भएको जिकिर गरिन । उनले भनिन् –‘सरकारको चाँडो बहिर्गमन आजको आवश्यकता हो । म संसदमार्फत प्रधानमन्त्रीको राजीनामा माग गर्दछु ।’ तर प्रधानमन्त्रीको राजीनामा माग्नेमा संसदका अन्य राजनीतिक दल र सांसद पनि छन ।

    प्रतिपक्षी मात्र होइन, सत्तापक्षीय सांसद नै राजीनामा बारे खुलेका छन । सरकारलाई टेको दिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा औपचारिक रुपमा मागेको छैन तर चाहेको छ । तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । संसदीय अंकगणितमा अंक पुग भएको भए सरकारविरुद्ध सडकमा उत्रिएको माओवादी आफैँ सरकारलाई टेको दिएर बस्दैनथ्यो । यसबारेमा माओवादीका नेताहरुले पटक पटक भनेका छन कि अन्य राजनीतिक दल तयार नभएसम्म माओवादीले समर्थन फिर्ता लिन्न । 

    images

    सदन र बाहिर आफ्नो राजीनामाको प्रसंग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा भएको कार्यक्रममा भने – ‘आज मागेको हो र प्रधानमन्त्रीको राजीनामा मागेपिच्छे म कसरी राजीनामा दिन सक्छु । एकदिन होइन एउटाले मागेको छ, दुईटाले मागेको छ । हटाउन न त समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन । अनि राजीनामा माग्छ । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न भन्दा समर्थन फिर्ता पनि गर्दैनन् ।’ 

    प्रधानमन्त्री ओलीको कटाक्ष नेकपा माओवादी केन्द्रप्रति लक्षित थियो । हुनपनि केन्द्रले प्रधानमन्त्रीको राजीनामा चाहेको तर आफ्नो जोडबलबाट होइन स्वयं प्रधानमन्त्रीकै स्वेच्छाबाट । यसका लागि उसले पटक पटकजोडबल गरेकै हो । 

    बल जसपाको कोर्टमा

    राजनीतिक गाँठो फुकाउने विषयको बल जनता समाजवादी पार्टीको कोर्टमा पुगेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास पुगेर आफूहरुलाई साथ दिन आग्रह गरेपनि जसपा कांग्रेसको नेतृत्वलाई लिएर झस्किएको छ । अर्कोतर्फ प्रधानमन्त्री स्वयं पनि सत्ता छाड्नै परे जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री दिने भनेर पासा हानिरहेकाले जसपा सत्ता गठबन्धनमा बार्गेनिङका लागि कसरतमा छ । यद्यपि यसका नेताहरुको बटमलाइन ज्यान मुद्दाका दोषी रेशम चौधरी रिहाइ बनेको छ । यसबारे अनलाइनपानासँग जसपा नेता महेन्द्र यादव भन्छन – ‘पहिले त हाम्रो मुद्दाको कुरा हो । हाम्रा मुद्धाबारे उहाँहरुको धारणा के हो ? कांग्रेसले सरकारको नेतृत्व गर्ने भए हाम्रामा गयो यो पूरा गर्ने भनेर किन नभनेको पहिले सरकारमा हाम्रो साथ चाहिने दलले भन्नुपर्‍यो । अनिमात्र हामी सत्ताबारे सोचौँला अहिले होइन ।’

    अंकगणितको जोडघटाऊ

    जसपा तत्काल सरकारमा नजाने अडानमा देखिएकाले अबको निकास चुनावबाहेक देखिँदैन । किनकी प्रधानमन्त्री चुनिनका लागि संसदमा कुनै पनि राजनीतिक दलका लागि १३८ मतको आवश्यकता पर्छ । संसदको वर्तमान अंकगणितमा नेकपा एमाले १२१ सिटसहित प्रमुख दलको रुपमा छ । एमालेका सांसद सानु सिवाको निधन भएपछि एमालेको अहिले १२० सिट छ । २०७४ सालको चुनावमा एमालेले प्रत्यक्षबाट ८० र समानुपातिकबाट ४१ सिट जितेको थियो । त्यस्तै, संसदमा दोस्रो स्थानमा नेपाली कांग्रेस छ । नेपाली कांग्रेसको ६३ सिट छ । माओवादी केन्द्रको ५३ र जनता समाजवादी पार्टीको ३४ सिट छ । कांग्रेसले प्रत्यक्षबाट २३ र समानुपातिकबाट ४०, माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकबाट १७ सिट जितेको थियो भने जसपाले प्रत्यक्षमा २१ र समानुपातिकमा १२ सिट जितेको थियो । कांग्रेसका दुई जना सांसद निलम्बनमा छन् । सांसद विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलम निलम्बनमा परेपछि कांग्रेसका ६१ जना सांसद रहेका छन् । त्यस्तै जसपाका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । 

    सदनको यस्तो अंकगणितलाई आधार मान्दा सरकार बनाउन बहुमतको आवश्यक बहुमत १३८ चाहिन्छ, जुन एमालेसँग अर्को दल मिल्दा मात्र र एमाले बाहेक अन्य दलका लागि तीन दल मिल्दा मात्र बहुमत पुग्न सक्छ । सत्ता गठबन्धनका लागि एमालेसँग माओवादी मिल्दा मात्र पनि सरकार गठन हुन सक्छ भने एमालेसँग जसपा मिल्दा उसलाई आरामदायी बहुमत पुग्छ । अन्यथा कांग्रेस, माओवादी र जसपाले मात्र सरकार बन्छ । जुन अहिल्यै सम्भव छैन ।

    Ellection Result.jpg 

    राजीनामापछि के ? चुनाव कि सरकार ?

    सदन र सडकमा प्रधानमन्त्रीको राजीनामाको प्रसंग उठेपनि सरकार बन्ने निश्चित छैन । बनेपनि कसको नेतृत्वमा बनाउने भन्ने निश्चित छैन । यसैले पनि राजनीतिक दलका नेताहरु अहिले राजनीतिक कोर्ष कतातिर डोराउने भन्नेबारे स्पष्ट हुन सकेका छैनन । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा संविधानको धारा ७६ अनुरुप विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके राजीनामा दिनुपर्छ भने अविश्वासको प्रस्ताव कुनै राजनीतिक दलले राख्न चाहेमा प्रधानमन्त्री पदका लागि व्यक्ति प्रस्ताव गरी अविश्वासको प्रस्ताव ल्याउनुपर्छ । तत्काल यो सम्भावना छैन । त्यसैले पनि राजनीतिक दलहरु एकले अर्काको मुख ताकेर बसेका छन । राजनीति यति जेलिएको छ कि पहिलो र दोस्रो दल मिलेको भरमा मात्र प्रधानमन्त्री हटाउन बहुमत पुग्दैन । यसमा चौथो राजनीतिक शक्ति पनि जुटनुपर्छ । सत्ताको प्रसंग उठनासाथ चौथो राजनीतिक शक्तिमा देखिएको बेमेलले उक्त दल एकढिक्का रहन्छ वा टुटछ भन्ने टुंगो नभएकाले अहिल्यै यसै भन्ने अवस्था छैन । 

    प्रधानमन्त्रीको राजीनामा माग गर्ने  राजीनामापछिको परिस्थिति के भन्ने बारेमा भने राजनीतिक दलहरु बीच पनि मतैक्य छैन । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि सरकार बन्न नसके ताजा जनादेश नै उत्तम विकल्प भनेका छन । यसबारे स्पष्ट भएरै होला सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले दोलखा पुगेर भनेका छन –‘फेरि चुनाव मिति घोषणा हुनसक्छ तयार रहनुस । ’
    अब जनताले चुनावमा मतका लागि तयार रहने वा सांसदहरुले प्रधानमन्त्री चुन्न तयार रहने आगामी घटनाक्रम र परिस्थितिमा निर्भर रहनेछ । 

     

    हरि न्यौपाने

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै