Logo

राजनीति

मर्यादा र जिम्मेवारीलाई भुलेर सार्वजनिक कार्यक्रममा सभापति देउवामाथि हमला



 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई भुलेर सार्वजनिक कार्यक्रममा सभापति शेरबहादुर देउवामाथि छन्नभाँती आरोप लगाएर बखेडा गरेका छन् । पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा कांग्रेसका विरोधी र कम्युनिस्टहरू हास्ने गरेर देउवामाथि धारेहात लगाउँदै विवाद गरेका हुन् ।

देउवा बसेको कर्सी अगाडि पुगेर पौडेलले ठूलोठूलो स्वरमा धारेहात हल्लाउँदै तथानाम बोलेका छन् । देउवाले धेरै प्रतिवाद गरेका छैनन् । देउवाले पौडेलको कुरालाई धेरै महत्व नदिएको सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएको छैन ।

नयाँ सरकार गठनको विषयलाई लिएर पौडेलले देउवासँग सार्वजनिक कार्यक्रममा नै भनाभन गरेका हुन् । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें ? भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् ।

शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए । पौडेल समूहका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।

कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गरेका थिए । पौडलले अब अर्को अवसर खेर फाल्न नहुने बताएका थिए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै सरकार बनाउने विषयमा आफूले कुनै अवसर खेर नफालेको बताएका छन् । देउवाले पौडेललाई प्रश्न गर्दै भनेका छन्, ‘मैले केमा अवसर खेर फालें ?’

उप–सभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताएका छन् । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसदमा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए ।

सभापति देउवाले संसदको अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको बताएका छन् । देउवाले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको बताए ।

‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन । जो सुकै होस्, तयार पार्नुस् न मान्छे’, कांग्रेस सभापति देउवाले पौडेलतर्फ लक्षित गर्दै भने, ‘संख्या पुग्नुपर्‍यो नि ! मचाहिँ संख्या नपुग्ने खेलमा छैन ।’

सभापति देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा पार्टीलाई भने धन्यवाद दिएका छन् । नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।

‘जनताको मन जितेर हाम्रो सरकार बन्न सक्छ’, देउवाले भने, ‘जनताले बुझिसके त्यसैले आवश्यक परे चुनावको तयारी पनि गर्नुपर्छ ।’ पार्टीको बैठकभित्र गर्नुपर्ने विवाद र तर्कलाई वरिष्ठ नेता पौडेलले आफ्नै हैसियत भुलेर सभापति देउवासँग सार्वजनिक कार्यक्रममा गरेको झगडालाई कांग्रेसका कार्यकर्ताले रुचाएका छैनन् ।

कांग्रेसलाई कमजोर बनाउने गरेर पौडेलले किन सरकारमा जान खोजेका छन् भनेर प्रश्न उठेको छ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर प्रधानमन्त्री खड्गप्रसाद ओलीसँगै मिलेर सरकार बनाउने पक्षमा छ ।

सरकार बनाउने विषय सार्वजनिक कार्यक्रममा भाषण गरेर हुने पनि होइन । त्यही कुरा भन्नु थियो भने पौडेलले देउवासँग दिनदिन कुरा गरेर भित्रभित्रै सत्ताको तयारी गर्नुपर्ने हो । तर, पौडेलले त्यसो गर्न चाहेनन् ।

पौडेलले सस्तो लोकप्रियता कमाउन र कार्यकर्ताको सहहानुभूति बटुल्न गरेको स्टन्ट काम नलाग्ने भएको छ । पौडेललाई राम्रोसँग जानकारी छ । अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने संख्या र वातावरण दुबै छैन भन्ने कुरा ।

कांग्रेसको नेतृत्वमा सरकार बनिहाल्यो भने पनि सरकारबाट कांग्रेसले केही गर्न सक्नेछैन । त्यसको बदनामी र असर कांग्रेसलाई चुनावमा हुनेछ । सभापति देउवा कम्युनिस्टले तीन वर्षसम्म गरेको बेथिति बोक्ने पक्षमा छैनन् । पौडेल भने देउवालाई सरकारमा बनाउन सक्रिय बनाएर बदनाम गराउने पक्षमा लागेको आरोप छ ।

सत्ताको खेल र सरकार कसरी बनाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीमा १७ पटक पराजित भएका पौडेलले देउवालाई सिकाउनु अलिक हास्यास्पद हुनेछ । देउवा सरकार बनाउने र गिराउने खेलका माहिर खेलाडी हुन् ।

देउवाले सरकार अहिले बन्छ कि बन्दैन सबै कुरा मूल्यांकन गरेर बसेका छन् । उनलाई सबै कुराको जानकारी छ । जसपाको महन्थ ठाकुर समूह र ओली कहाँबाट परिचालित छन् भन्ने कुराको जानकारी देउवालाई राम्रोसँग थाहा छ । त्यो जानकारी पौडेललाई पनि थाहा नभएको भने पक्कै होइन ।

प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार  १२ : ४१ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।