Logo

साहित्य

वनिताद्वार २१ प्रतिभा सम्मानित



नेपाली साहित्यिक पत्रकारितामा २१ वर्ष पूरा गरेको “वनिता प्रकाशन”ले राजधानीमा २१ स्रष्टा र कलाकारलाई सम्मानित गरेको छ । मङ्गलबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रष्ठिानको प्रेक्षालयमा वनिताकी अध्यक्षा लम्मी उप्रेतीको सभापतित्वमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि, प्रज्ञाप्रतिष्ठानका कूलपति श्री गङ्गाप्रसाद उप्रेतीले स्रष्टा र कलाकारहरूलाई सम्मानित र पुरस्कृत गर्नुभएको हो । 

कार्यक्रमका अवसरमा गायक, कवि तथा वरिष्ठ चिकित्सक भोला रिजाललाई कान्तिकारी कवि गोपालप्रसाद रिमालको स्मृतिमा स्थापित वनिताश्री साहित्य रत्न रिमाल सम्बुद्ध बहुआयमिक अभिनन्दन २०७७ अर्पण गरिएको थियो ।

यसैगरी  देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०७६ बालसाहित्यकार विजय चालिसे तथा २०७७ सालको सोही पुरस्कार बालसाहित्यकार वशुश्री पाण्डेलाई प्रदान गरियो । २०७६ र २०७७ का लागि वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान क्रमशः समालोचकहरू डा. गोपाल र समालोचक डा. गोविन्दराज भट्टराईलाई प्रदान गरियो ।

 यिनै दुई वर्षका निमित्त  वनिताश्री देवकुमारी कथा विशिष्ट पुरस्कार पाउने सष्टाहरूमा कथाकार नारायण तिवारी तथा कथाकार धु्रव मधुकर्मी हुनुहुन्थ्यो भने व्यथित काव्य वनिताश्री पुरस्कार पाउनेमा कवि अनिल पौडेल र कवि दीपा एवाई हुनुहुन्थ्यो ।

द्रकुमारी–प्रा.डा. उषा ठाकुर भाषा विशेष वनिता सम्मान÷पुरस्कार साहित्यकारहरू विक्रममणि त्रिपाठी  र रुमीलास्कर बोहरालाई प्रदान गरिएको थियो भने वनिता बहुआयामिक रञ्जुश्री–दामोदर पुरस्कार २०७७  नियात्राकार पवन आलोक (कँडेल) लाई पहिलोपटक प्रदान गरिएको थियो । 

वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार  २०७६ साहित्यकार तथा अनुवादक महेश पौड्याल र २०७७ को सोही पुरस्कार संगीतकार हरिशरण सायमीलाई प्रदान गरिएको थियो । यसै गरी वनिताश्रीे उन्नती गीतसंगीत पुरस्कार २०७५ बाल प्रतिभा सुधा पाल्पाली तथा २०७६ सालको सोही पुरस्कार बालप्रतिभा अञ्चित ढुंगानालाई प्रदान गरिएको थियो ।

वनिता विशेष वसुश्री–मधु पुरस्कार पाउनेमा गायिका सरिता शाही (२०७६) तथा साहित्यकार केदार संकेत सुनुवार (२०७७) रहनुभएको थियो ।   वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार २०७५ बहुआयमिक बालक प्रशन्न श्रेष्ठ तथा २०७६ को सोही पुरस्कार बाल प्रतिभा सुमला राई र सन्देश पौडललाई संयुक्त रूपमा प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै अभिनन्दित स्रष्टा डा. भोला रिजालले भन्नुभयो, कलासाहित्य र चिकित्सा सेवा मेरो जीवनमा दुई अभिन्न पाटा हुन् र कुनै एकलाई छोडेर बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ ।

साहित्यकार विजय चालिसे र महेश पौड्यालले पुरस्कारले आफूहरूलाई थप जिम्मेवारी बोध गराएको बताए भने प्रतिभाहरू सरिता शाही, सुधा पाल्पाली, अञ्चित ढुङ्गाना र सन्देश पौड्लले गीत प्रस्तुत गरेका थिए । बालप्रतिभा प्रशन्न श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए भने सुमला राईले चित्रकला प्रदर्शित गरेकी थिइन् । 

प्रकाशित मिति : चैत्र २९, २०७७ आईतबार  १ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।