Logo

विपद् बिर्सिँदा सधैं रुन्छ सिन्धुपाल्चोक 



२०७१ सालमा साउन १७ मा खसेको जुरे पहिरोमा १४५ जनाको मृत्यु भयो । पहिरोको प्रहारबाट तंग्रिन नपाउँदै २०७२ वैशाख १२, १३ र २९ मा भूकम्पले सिन्धुपाल्चोकको अस्थिपञ्‍चर थप खलबलाइदियो । केन्द्रबिन्दु गोर्खा भए पनि सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोकमा भयो । भूकम्पले थलिएको सिन्धुपाल्चोक उठ्ने प्रयास गर्दै थियो, २०७३ असार २१ मा उर्लिएको भोटेकोशीले लिपिङ बजार र तातोपानीको नयाँ बस्तीलाई पुछेर लग्यो । २०७४ साउन ८ मा आएको पहिरोले लार्चामा क्षति पुर्‍यायो । २०७५ भदौ २ मा आएको पहिरोले पनि सिन्धुपाल्चोकबासीको निद्रा बिथोल्यो । २०७७ असार २४ मा बाह्रबिसेमा पहिरो खस्दा दुई जनाको शव भेटियो १७ बेपत्ता भए । २०७७ असार ३१ मा फेरि पहिरो खस्‍यो र एकै परिवारका ५ जनालाई एकै चिहान बनायो । २०७७ साउन १८ को राति मेलम्ची बजार नजिकै खसेको पहिरोमा नौ मजदुरको मृत्यु भयो । २०७७ साउन ३० कै राति जुगल गाउँपालिकामा ठूलो पहिरो खस्यो र ३९ जनाको मृत्यु भयो । 

यस वर्ष पनि वर्खा सुरु हुनै लाग्दा पहिलो प्रहार सिन्धुपाल्चोकमा नै भयो । असार १ गते राति सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी आयो । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुर्‍यो । हालसम्म सात जनाको शव फेला परेको छ, ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । बस्तीमा पसेको बाढीले दुई तलाका घरहरु डुबाएका छन् भने  पानीको सहत घटेको छैन । एक बस्तीदेखि अर्को बस्तीसम्मको सम्पर्क सेतु मोटरवेल पुलहरु भत्किएका छन् । 

सिन्धुपाल्चकमाथिको बज्रपात नौलो होइन भन्‍ने कुरा माथिका तथ्यांकहरुले पनि प्रष्ट पारिसकेको छ । संघीय राजधानी काठमाडौंबाट करिब ६६ किलोमिटरको दूरीमा रेहको सिन्धुपाल्चोकले एकै किसिमको विपद्‌बाट सधैं पीडा भोगिरहनु परेको छ । जब-जब बाढी, पहिरो र विपद् आउँछ, तब-तब हेलिकोप्टर लगेर राजनीतिक दलका नेताहरु तथा सरकारमा रहेका मन्त्रीहरु सिन्धुपाल्चोक पुग्छन् । ‘पर्यटक’जसरी त्यहाँको विपत्तिको अवलोकन गर्छन् र फर्किन्छन् । राजधानी फर्किएर सिन्धुपाल्चोकबासीको पुनर्स्थापना गर्ने, सिन्धुपाल्चकमा विपद् न्युनिकरणका उपाय अपनाउनेलगायतका भाषण गर्छन् र केही झोला राहत र केही थान औषधिको जोहो गरेको तस्बिर देखाएर लोक रिझाउने सस्तो लोकप्रियताको पछि कुद्छन् । 

आफैं बसेको पृथ्वीको एक टुक्रा खसेर आफैँमाथि बज्रिँदा पटक-पटक चकानचुर भएको छ, थातथलो सिन्धुपाल्चोक । विपद्‌मा मृत्यु भएका आफन्तहरुको रोदन, घाइतेहरुको आर्तनाद्, विस्थापितहरुको पीडालाई एक झोला राहतले कति नै थेग्छ र । विपत्तिपछि तत्काल उद्धार र सहयोगमा जुट्नुको साटो पहिरोलाई पर्यटकीय नजरले हेर्नेहरूको भिड पनि कम हुँदैन । तर, दीगो समाधानतर्फ कसैको ध्यान जान सकेको छैन ।

भूकम्पपछि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले भोटेकोसी आसपासकालाई पहिरोको जोखिम क्षेत्र पहिचान गरेको थियो । विशेषज्ञहरूले यो क्षेत्र पहिरो र हिमपात विस्फोटनपछिको बाढीका हिसाबले ‘हट-स्पट’ भएको बताएका थिए । सरकारले गत वर्ष सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेको थियो । संकटग्रस्त क्षेत्रमा रहेका बस्ती स्थानान्तरण गर्ने, विपद् पूर्वतयारीको बलियो संयन्त्र बनाउने र पूर्वसूचना जारी गर्ने संयन्त्रलाई व्यवस्थित गर्ने भनिएको थियो । तर, पोहोरसालको पहिरोपछि जागेको सरकार केही महिनामा सुत्यो र फेरि २०७८ असारमा झल्याँस्स भयो । सरकार ब्युँझिसक्दा सिन्धुपाल्चोकमा आधा दर्जनभन्दा बढी निर्दोष जीवनहरु कहिल्यै नउठ्ने गरि सुतेका थिए ।

यसरी हरेक वर्ष सिन्धुपाल्चोक रोइँरहँदा सरकार भने नियतिलाई दोष दिएर पन्छिने गरेको छ । धेरै सिन्धुबासीहरुले अनाहकमा जीवन गुमाएका छन् । सरकारको सिन्धुबासीलाई गरेको व्यवहारले एउटा स्वभाविक प्रश्‍न जन्माएको छ- सरकार ! अब कति जीवनहरु गुमेपछि सिन्धुपाल्चोकमा विपद् न्युनिकरण र बस्ती स्थानान्तरण गरिने हो ? सरकारले यस वर्षको पनि विपद्पछि आँखा चिम्लिने हो भने समस्या समाधानको साटो अझै कयौं सिन्धुहरुले जीवन गुमाउनु पर्नेछ । अब पनि सरकारले आफ्नो नियतलाई नियति भनेर प्रकृतिको नियमलाई नजरअन्दाज गर्ने प्रवृति नदोहोर्‍याओस् । सरकार गम्भीर बनोस् । 

प्रकाशित मिति : असार २, २०७८ बुधबार  २ : २० बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।