Logo

अन्तर्वार्ता

म पदमा रहँदा र नरहँदा सधैं जनताका लागि नै काम गरेको छु : मेयर राजवंशी



‘म पदमा रहँदा र नरहँदा सधैं जनताका लागि नै काम गरेको छु’

बाह्रदशी गाउँपालिका प्रदेश नम्बर १, झापा जिल्लाको दक्षिण भेगमा अवस्थित छ ।  यसको भौगोलिक अवस्थालाई हेर्दा दिक्षणमा कचनकवल गाउँपालिका, पूर्वमा हल्दिवारी गाउँपालिका, उत्तरमा विर्तामोड र  कनकाई नगरपालिका र पश्चिममा झापा नगरपालिकाको समथल भूमि छ । बाह्रदशी गाउँपालिकामा मिश्रित समुदायको बसोबास रहेको छ । सोहि गाउँपालिकाका मेयर हुन् खड्ग प्रसाद राजवंशी । स्थानीय तहको जिम्मेवारी सम्हालेपछि के-कस्ता कामहरु भएका छन् ? नगरबासीले परिवर्तन महसुस गरेका छन् कि छैनन ? भन्ने विषयमा अनलाइनपानासहकर्मी सुजाता अम्गाईले गरेको कुराकानी :

कोरोना निन्त्रणको के-कस्ता काम गर्नुभएको छ ?

कोरोना नियन्त्रणको लागि हामीले आफ्नो पक्षबाट सकेको जति सबै सेवाहरु उपलब्ध गराएर कोरोना महामारी नियन्त्रणको प्रयास गरेका छौं र हामी सफल पनि भएका छौं । आवश्यकमात्रामा आइसोलेसनको व्यवस्था गरेका छौं भने बिरामीलाई अस्पतालसम्म पुर्‍याउन नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौं । अहिलेसम्म हाम्रोमा एक सय ८४ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये दुई जनाको अस्पतामा उपचार भइरहेको छ । केही आइसोलेसनमा रहेका छन् । गाउँपालिकामा कोरोना सुरु भएदेखि हालसम्म पाँच जनाको मृत्यु भएको छ ।

नगरपालिकको विकास निर्माणका कामहरु कसरी अगाडि बढाउनु भएको छ ?

 जति तीव्र गतिमा हामीले बनाउने लक्ष्य राखेका थियौं, कोरोना महामारीका कारण त्यो सम्भव हुन सकेको छैन । तर, पनि गाउँपालिकाभित्रका बाटोघाटो , खानेपानी लगायतका विभिन्न पुर्वधारहरुको विकासको कामलाई हामीले निरन्तरता दिइरहेका छौं । 

नागरिकहरुको प्रतिक्रिया के पाउनु भएको छ ? 

हामीले नागरिकहरुलाई अपेक्षा अनुसारका कामहरु गर्दै गएका छौं । नागरिकहरुसँगको सम्बन्ध राम्रो छ । शतप्रतिशत त कहीँ पनि हुँदैन । तर, स्थानीय सरकार भनेकै नागरिकको प्रत्यक्ष दैनिकी र जीवनशैलीसँग सरोकार राख्‍ने निकाय भएकोले राम्रो सम्बन्ध छ । सकारात्मक प्रतिक्रिया नै पाएका छौं । 

चालु आर्थिक वर्षमा कति बजेट खर्च भयो ? 

अहिले नै ठ्याक्कै हिसाब गरिसकेका छैनौं । आर्थिक वर्ष सकिँदै छ । त्यही ८० प्रतिशत बजेट खर्च भइसकेको छ भने भने बाँकी बजेट पनि यही एक महिनाको अवधिमा हुन्छ भन्‍ने अपेक्षा गरेका छौं । 

आगामी योजनाहरु के-कस्ता छन् ?

अहिले सबैभन्दा प्राथमिकतामा कोरोना महामारी नियन्त्रण गर्नु रहेको छ । कोरोना नियन्त्रण गर्न सक्यौं भने नागरिक सुरक्षित हुनुहुनेछ । यसका लागि स्थानीयहरुलाई खोप उपलब्ध गराउनु पर्छ भनेर हामीले केन्द्र सरकारसँग आग्रह पनि गरेका छौं । आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रण र रोकथामका लागि एक करोड बजेट विनियोजना गर्ने योजना बनाएका छौं । महामारी नियन्त्रण गर्न सक्यौं भने अन्य विकास निर्माणका कामहरुलाई पनि तीव्रता दिनेछौं ।

प्रदेश र संघसरकारको कस्तो सहयोग गरेका छन् ?

यस्तो महामारीको समयमा स्थानीय तहलाई जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो अनुसारको भएको छैन । केन्द्र र प्रदेश सरकारहरुले आफ्नो राजनीतिक आस्थाका आधारमा व्यवहार गर्ने गरेका कारण स्थानीय तहमा ठूलो प्रभाव परेको छ । संघ सरकारले त शून्य सहयोग गरेको भन्दा पनि हुन्छ । 

कार्यकाल सकिदैँ छ । यो समय अवधिभरी प्रतिबद्धता गरेका कामहरु के कति बाकीँ छन् ?

मैले चुनावमा जाँदा कुनै विशेष प्रतिबद्धता गरेका थिएन । म पदमा नहुँदा पनि निरन्तर नागरिकको सेवामा लागिरहेको थिए । नागरिकको सेवामा लागिरहेकै कारण मलाई जनताले जिताउनु भएको हो । आज पदमा हुँदा आएको स्रोत साधनको उच्चतम सदुपयोग गर्दै नागरिकको जीवनस्तर उकास्‍ने प्रयास गरिरहेका छौं । विकास निर्माणका काममा म हिजो पनि अग्रसर थिएँ, आज पदमा हुँदा अलि बढी जिम्मेवार र प्रतिबद्ध भएर आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । 

बाढी पहिरोको प्रभाव कस्तो छ ?  यसको रोकथामको लागि के-कस्तो पूर्वतयारी गर्नुभएको छ ? 

यहाँ अन्यत्रजस्तो बाढी-पहिरोको जोखिम कम छ । विपद् हो, आउँदैन भन्‍ने पनि हुँदैन । त्यसका लागि हामीले आवश्यक पूर्वतयारी गरेका छौं । बाढीको जोखिम देखिएका ठाउँहरुमा हामीले सतर्कता अपनाउने र समस्यालाई नियन्त्रण गर्ने पहल गरेका छौं । 

चुरेलाई निकासा गरेर सरकारले आम्दानीको स्रोत बनाउने भनेको छ । यसको संरक्षका लागी कस्तो पहल गर्नुभएको छ ?

चुरेलाई भत्कायो भने त्यसको अवस्था र हामीले भोग्ने परिणाम कस्तो हुन्छ, त्यो हामीलाई पनि थाहा छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमा चुरे ध्वंश गर्ने योजना राख्‍नु नै ठूलो गल्ती हो । सरकारले किन यसरी गलत निर्णय गरिरहेको छ ? नागरिकले अब खबरदारी गर्नुपर्ने भएको छ । पटक-पटक केन्द्र सरकारले गलत निर्णय गरिरहेको छ । चुरेलाई निकासा गरेर आम्दानी मात्र गर्छौ भनेर हुन्छ ? त्योबाट आफ्नो मुलुकमा हुने हानी-नोक्सानी कसले व्यहोर्ने ? यसको विरोध हुनुपर्छ । सरकारले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र गरेको छ । 

स्थानीय तहमा बस्दा के-कस्ता चुनौतीको सामाना गर्नुपर्ने रहेछ ? 

यो चार वर्षको अवधिमा मैले स्वास्थ ,शिक्षा, खानेपानी, बाटोघाटो, कृषि लगायतका विभिन्‍न पुर्वधारहरुको विकास गरेर आफ्नो ठाउँमा आफैँ जनप्रतिनिधि भएर काम गर्न पाउँदा आफ्नोपनको महसुस गरेको छु । काम गर्ने वातावरण राम्रो छ । काम गर्ने क्रममा विभिन्‍न रोकावटहरु त आउँछ नै, तर पनि यहाँको नागरिकहरुको साथको कारण म सजिलो महसुस गरेर काम गर्ने गरेको छु । कुनै पनि चुनौतीका काम गर्नुपरेको छ, जस्तो लाग्दैन । 
  

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार  १० : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।