Logo

साहित्य

कविता – दशैं



राजेन्द्र पौडेल

हिलो र मैलो कचरा पखाल्यो
लाग्यो दशै मिर्मिर भो उजाल्यो
आकास छन् निर्मल स्वच्छ गंगा
उड्छिन् खुशी भै मन भित्र चङ्गा ।

जाडो र गर्मी न सुखा न बाढी
न कामका डङ्गुर छन् अगाडि
मिल्दा सबै प्राकृत तारतम्य
संसार नै लाग्छ सुखी सुरम्य ।

राता पहेला जब फूल फुल्छन्
त्यै मोहमा कीटपतङ्ग भुल्छन्
पन्छी डुले भुर्भुर पात पात
उमङ्गको प्रारुप भो प्रभात ।

देखिन्न पीडा पशुपन्छी माझ
आनन्दले लठ्ठ छ यो समाज
तोडी सबै दानव रूपजाल
दुर्गा बनायौं धरती कमाल ।

फालेर मैलो मन भित्र देखि
तोडी अहंकार घमण्ड शेखी
आयो दशै हर्षित भावनाले
मानौं मनाऔं शुभकामनाले।।

पौडेल पेशाले इन्जिनियर हुन्।

 

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ८ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।