Logo

खुम्बु क्षेत्र भित्रिने पर्यटकको संख्या बाक्लिन थाल्यो



आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रिने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएपछि फाट्टफुट्ट पर्यटकहरु खुम्बु क्षेत्र भित्रिन थालेका हुन् ।

जोरसल्ले चेकपोष्टको तथ्याङ्कअनुसार असोज महिनामा १७१ जना पर्यटक खुम्बु भित्रिएका छन् । जसमा १४६ नेपाली र २५ जना विदेशी पर्यटक छन् । कात्तिक महिनाको १३ गते बिहिबारसम्म ६० जना विदेशी र १६२ जना नेपाली पर्यटकले खुम्बु क्षेत्र प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।

हिमाली पर्यटनमा ख्याती कमाएको त्यस क्षेत्रमा असोज र कात्तिकमा मात्र ३९३ जना नेपाली र विदेशी पर्यटकहरु खुम्बु भित्रिएका छन् । चेक पोष्टको तथ्याङ्कअनुसार विदेशी पर्यटकको तुलनामा खुम्बु प्रवेश गर्ने नेपाली पर्यटकको संख्या बढी देखिन्छ । आन्तरिक हवाई उडान सुरु भएपछि बाह्य पर्यटक समेत खुम्बु भ्रमणमा आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो ।

खुम्बु भ्रमणका लागि पुग्ने नेपाली तथा विदेशी पर्यटकको खाना र आवास व्यवस्थापनका लागि कोरोना कहरका बीचमा पनि सेवा प्रवाह जारी राख्ने गरी होटल सञ्चालकलाई अभिमुखीकरण गर्ने तयारी गरिएको छ । होटल सञ्चालक अभिमुखीकरणका लागि खुम्बु पासाङल्हमू गाउँपालिकाले हरेक वडालाई चार लाखका दरले बजेटको व्यवस्थापन गरेको छ । वडाका जनप्रतिनिधिले हस्पिटालिटी विज्ञ झिकाएर होटल सञ्चालकलाई अभिमुखीकरण गराउने बताइएको छ । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ७ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।