Logo

दसैंको टीका नसकिँदै भारत जानेको लर्को



दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।

भारत जान धनगढीको त्रिनगर भन्सार नाकामा लाम लागेका नेपाली । बिहीबार मात्रै झन्डै १८ सय जना भारत गएका छन्। कोरोना महामारीको डरले जन्मथलो फर्केका किसन फेरि कर्मथलोमा फर्कनु बाध्यता भएको बताउँछन् ।‘आफ्नो बारीको उत्पादनले खान पुग्दैन, नेपालमा रोजगारी छैन,’ उनले भने, ‘कामका लागि भारत पस्नु बाध्यता हो ।’

१५ वर्षदेखि बरौलीमा सुरक्षागार्डको काम गर्दै आएका किसनको परिवार पनि सँगै बस्दै आएको छ । अरू वर्ष दसैं मनाउन असोजमा घर आउने गरेका किसन तिहारपछि फर्कन्थे । यो वर्ष भने कोरोना संक्रमणबाट बच्न गत असारमै घर आएका थिए । ‘कोरोनाको डर अब यहाँ पनि उत्तिकै छ,’ उनले भने, ‘आफ्नो सुरक्षामा ध्यान पुर्‍याएर कर्मथलोमै जानु उचित ठानेर फर्कन लागेका हौं ।’ भारतमा कमाएको पैसाले घरमा बस्नेहरूको गुजारा चल्ने गरेको उनले बताए ।

आमा, बुबा, दाजु, भाइ, बहिनीलगायत ११ जनाको परिवारको मियो हुन् उनी । ‘उनीहरू मेरै कमाइको भरोसामा छन्,’ उनले भने, ‘आफूले भारतमा कमाएको पैसाले जहानपरिवारको घर खर्च चल्छ ।’ उनीसँगै गाउँका १७ जना बरौली, मुम्बईलगायत भारतीय सहरमा जाँदै छन् । उनीहरू बुधबार घरबाट निस्केका हुन् ।

सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच बिदेसिइरहेका युवाले भने कुनै जानकारीसमेत नपाएको गुनासो गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ८ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।