Logo

राजनीति

ओली – दाहाल सम्वाद, यस्ता विषयमा भयो कुराकानी 



काठमाडौं । संवादहिनताको १२ औं दिनमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल  ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर भेटवार्ता भएको हो । 

गत कार्तिक ४ गतेपछि ओली र प्रचण्डबीच कुनै संवाद भएको थिएन । उक्तदिन पछि पनि प्रधानमन्त्री ओलीले आफूखुसी सरकार र पार्टी सञ्चालन गरेको निश्कर्षमा प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पुगेपछि पार्टीभित्र विवाद बढ्दै गएर छलफल रोकिएको थियो । 

ओलीले गरेको मन्त्री तथा राजदुतको नियुक्ति, युवराज खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्ति र राजदूत सिफारिस, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव, तथा पर्साको बिन्दवासीनि गाउँपालिकामा मारिका मुकेश चौरसियाका हत्याका आरोपीको जाहेरी नलिन प्रहरीलाई दिएको दवाब लगायतका विषयमा प्रचण्ड ओलीसँग रिसाएपछि दोहोरो संवाद नै बन्द भएको थियो । 
ओली र प्रचण्डबीच संवाद बन्द भएपछि ओली निकटका नेता तथा मन्त्रीहरु ओलीको सन्देश लिएर पटक–पटक खुमलटार पुगेपनि प्रचण्डले छलफलका लागि बस्न मानेका थिएनन् । 

गत बुधबार ओली टिकट महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसपछि ओली निकटका नेताहरुले लगातार प्रचण्डसँग भेट गरिरहेका छन् । बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए । शनिबार बालुवाटार जानुअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले छलफल गरेका थिए । 

त्यसै गरी प्रधानमन्त्री ओलीसँगको आजको संवादमा कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल पार्टी सचिवालयको बैठक बोलाएर अहिले उठेका बिवादका विषयमा छलफल गर्नु पर्ने प्रस्ताव गरेको बालुवाटार श्रोतले बताएको छ । प्रचण्डको प्रस्तावमा ओली सकारात्मक देखिए पनि सचिवालय बैठकको मिति भने नतोकिएको थाहा हुन आएको छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार  ४ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।