Logo

राजनीति

प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य, प्रचण्ड मक्ख



नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य भएको छ । ओलीइतरको समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य गरेको बुझिएको छ ।

अविश्वासको प्रस्ताव ल्याउन ओलीइतर समूहको तयारी अन्तिमतिर पुगेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, सकेसम्म ओलीलाई राजीनामा दिन लगाएर मार्ग खोल्ने पहल पनि भएको छ । राजीनामाको दबाब परेपछि ओलीले हिजो कडा अभिव्यक्ति दिए । उनले कुनै हालतमा राजीनामा नदिने बताए । ओलीको अभिव्यक्ति पछि उनीइतरको समूहले तिहारलगत्तै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

नेकपा संसदीय दलमा कुनैपनि नेता विशेषको बहुमत छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तीनैजना अल्पमतमा छन् । तर, कुनै दुई नेता एक भएमा बहुमत पुग्ने अवस्था छ । ओली पक्षले भने एक्लै बहुमतको दाबी गर्दै आएको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड र माधवकुमार नेपालबीच भित्री सहमति बनेको छ । यसैलाई बुझेर ओली पक्षले माधव नेपाललाई सहमतिमा ल्याउन प्रयास जारी राखेको छ । नेपाल सहमतिमा नआउने देखेपछि प्रचण्डलाई मनाउन समेत खोजिएको छ । ओली र प्रचण्डबीच निर्णायक वार्ता हुँदैछ ।

सत्ता संकट बढेपछि ओलीको अभिव्यक्तिहरुले राजनीतिलाई नै तरंगित पार्दै लगेको छ । उनले प्रचण्डलाई भेटेर अलग अलग जान गरेको प्रस्ताव समेत बाहिर आएको छ । बुधबार उनले राजीनामा दिएर देशलाई बर्बादीमा नलाने अभिव्यक्ति दिए । यसले पनि ओलीको सत्ता संकट गहिरिएको प्रष्ट भएको छ । अब सहमतिको अन्तिम प्रयास आगामी हप्ताभित्र हुने र नभए वारपारकै अवस्था बन्ने देखिएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले निकटस्थहरुलाई तयारी अवस्थामा रहन भनेका छन् । कुनैपनि बेला चुनौतीको सामना गर्नुपर्ने र आफूले कठोर कदम चाल्नसक्ने भन्दै ओलीले त्यस्तो निर्देशन दिएका हुन् । उनले हिजो प्रदेश १ मा आफूनिकटस्थ नेताहरुसँग जुम बैठकमार्फत् तयार रहन भनेका हुन् ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  ६ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।