Logo

टिप्पणी

मेगा बैंकको अर्को काण्ड बाहिरियो, १२ दिनमा दुई पटक ऋण दिएर ३५ दिनको दौडधुप



मेगा बैंकको बदमासीको एकपछि अर्को फाईल खुल्न थालेको छ । एकै व्यक्तिलाई घरी ऋण तिर्न आउनु पर्ने भनेर पत्रिकामा नै सूचना निकालेको छ भने तत्कालै त्यही व्यक्तिलाई ऋण दिएर जनताको रगत पसिनाको कमाईको रकमको दोहन गरेको रहस्य बाहिरिएको हो 
 
बैकका अध्यक्ष भोज बहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीलाई प्रभावमा पारेर बैंकलाई नै जनताको रकम ठग्ने मतियारको रुपमा आम व्यक्तिहरुमा चिनाउँन सफल जग्गा बिचौलियाद्वय भूमादेवी गौतम (पौडेल) र उनका श्रीमान् गुरुदत्त पौडेलको नाममा घरी घरी ऋण दिने र त्यो ऋण तिर्न आउँनु भन्दै सूचना निकाल्ने गरेको प्रमाणहरु फेला परेका छन् ।

हुनत पौडेल दम्पत्तीसँग बैंकले अरु पनि शंकास्पद कारोबारहरु त गरेको छ नै तर यहाँ उल्लेख गर्न लागिएको कारोबार भने अलि अनौठो खालको रहेको छ । १२ दिनभित्रमा दुई पटकसम्म ऋण दिने र ऋण दिएको २२ दिनभित्रमा तुरुन्त ३५ दिने सूचना निकाल्ने गरेको तथ्यले पुष्टि गरेको छ ।

सार्वजनिक भएको प्रमाण अनुसार २०७५ पौष १८ गतेका दिन बैंकले पौडेल दम्पत्तीलाई ऋण दिएको देखिएको छ । बैंकले त्यसको १२ दिनपछि पौष ३० गते पुन ऋण थपि दिएको छ । त्यसको २२ दिनपछि भने ऋण तिर्न आउँनु अन्यथा कर्जा सूचना केन्द्र लिमिटेडको कालासुचीमा नाम समावेश गर्न लेखी पठाउँछौं भन्दै ३५ दिने सूचना निकालेको छ । 

पौडेल दम्पत्ती ३५ दिनभित्र ऋण तिर्न नगएपछि बैंकले अघिल्लो सूचनाको ४५ दिनपछि फेरी अर्को ३५ दिने सूचना निकालेको छ भने त्यो सूचना प्रकाशित गरेको साढे तीन महिनामा २०७६ असार १९ गते बैंकले फेरी पनि ऋण दिएको छ । यसरी पटक पटक ऋण दिदै सूचना निकाल्दै गर्नुमा बैंकका हाकिम र पौडेल दम्पत्तीबीचमा अवैध लेनदेन रहेको भित्रि श्रोतको दावी रहेको छ । 

मेगा बैंकले गरेको यस्तो शंकास्पद कारोबारको बारेमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टसँग प्रतिकृया माग्दा नेपाल राष्ट्र बैंक तथा आर्थिक नीति र निर्देशनहरुको अधिन बाहिर गएर कुनै पनि बैंकले कारोबार गर्न नमिल्ने बताए । यदि कसैले अवैध रुपमा कारोबार गरेको रहेछ भने कारवाहीको भागिदार हुने भट्टको भनाई रहेको छ ।

यसै विषयमा नेपाल राष्ट्र बैंक​, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालसँग प्रतिक्रिया माग्दा यदि त्यस्तो भएको हो भने मेगा बैंकलाई कारवाही हुने बताए । “कसरी मिलाएर कस्तो अवस्थामा त्यस्तो कारोबार भएको हो, सम्बन्धित विभागले अनुगमन गर्नुपर्छ”- ढकालले भने । बाँकी कुरा सो घटनासँग सम्बन्धित कागजपत्र हेरेर मात्र आफूले प्रस्ट पार्न सक्ने ढकालको भनाई रहेको छ । 

अन्य थुप्रै काण्डमा मुछिएर जनताको रकमको चरम दुरुपयोग गरिरहेको मेगा बैंकले आफूखुसी गर्न नपाउँने आवाज उठि रहेको छ । सम्बन्धित निकाय वा नियमनकारी निकायले बैलैमा लगाम नलगाए यो बैंकले धेरै धनाढ्यहरुलाई रोडमा ल्याउँन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । 

यो पनि पढ्नुहोस् : बिचौलियाको कब्जामा मेगा बैंक, हिरासतमा रहेका ग्राहकको हस्ताक्षरमा करोडौं साफ

 

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ७ : १८ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।