Logo

म्याग्दीको रातोढुङ्गा सबस्टेशन अलपत्र



म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ ।

एटुजेड इञ्जीनियरिङले करिब रु आठ करोडमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन । लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुङ्गासम्म २२ किलोमिटर प्रसारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो । सबस्टेशन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताए । “पोल गाड्ने र सबस्टेशनका दुईमध्ये एक भवन बनिसकेको छ । उपकरण खरिद भइसकेको छ”, उनले भने, “लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेशन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।” सबस्टेशन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि रातोढुङ्गामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड छ । असी किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिए । पूर्वजानकारीबिनै छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा घरायसी कामदेखि सार्वजनिक सेवा प्रवाह र उद्योग व्यवसायमा असर परेको छ ।

“दैनिक सयौँपटक विद्युत् आपूर्ति बन्द हुन्छ”, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले भने, “विद्युत्को समस्याले उद्योग व्यवसायदेखि घरायसी कामकाज प्रभावित भएको छ ।” नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरे पनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । “कतिबेला बिजुली आउँछ, कतिबेला जान्छ ? अत्तोपत्तो हुँदैन”, बेनीका फर्निचर व्यवसायी कुवीर श्रेष्ठले भने, “बिजुलीको समस्याले समयमा काम नहुने र लागत बढेको छ ।” विद्युत्को व्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबी बेकरी उद्योगका सञ्चालक विपिन बानियाँले बताए । ग्रामीण क्षेत्रमा महिनौँसम्म विद्युत् आपूर्ति नहुने समस्या छ । लामो दूरीको वितरण लाइन, दरबन्दीअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत् आपूर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत पर्वतको मल्लाजसहित १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोकदेखि रत्नेचौर, बेनी र घराप गरी तीनवटा ११ केभीको लाइन छन् ।

गाउँपालिकाको कार्यालय बन्द म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कार्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए । कार्तिक २५ गते १५ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए ।

होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ । सङ्क्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो । यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ । हालसम्म १२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेसनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना सङ्क्रमित भेटिन थालेका छन् ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।